आजबाट हलमा ‘लिलि बिली’ र ‘नेप्टे’, शत्रु गतेलाई अझै १६ शो

आज वर्षको अन्तिम दिन, बर्ष कै प्रतिक्षित फिल्म ‘लिलि बिली’ रिलिज भएको छ । देशभर ७८ वटा हलमा रिलिज भएको फिल्मले काठमाडौंका मल्टिप्लेक्स हलमा समेत अधिकाङ्श शो पाएको छ । क्युएफएक्स चेनमा मात्र २५ शो पाएको लिली बिलीले बिग सिनेमामा ७ शो पाएको छ । सिङ्गल थिएटरमा बिहानी शो अधिकाङ्श हाउसफुल भएको निर्माता तथा बितरक गोबिन्द शाहीले बताएका छन ।

लिलिबिलीलाई बर्ष कै प्रतिक्षित फिल्म मानिएको छ । प्रतिक्षित यस अर्थमा पनि छ कि नायक प्रदिप खड्काले यस फिल्मलाई आफ्नो अर्को डेब्यु फिल्म भनीरहेका थिए । प्रेम गीत २ हिट भएपछी उनलाई चुनौती थपिएको छ । अहिले उनको जुन स्टारडम छ त्यसलाई बचाई राख्न पनि लिलि बिली हिट हुनैपर्छ । नत्र प्रदिपलाई ‘स्टार’ भन्ने शब्द निल्नु न ओकल्नु हुनेछ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन ।

सँगसँगै आजैबाट रिलिज भएको फिल्म ‘नेप्टे’ले देशभर ६५ वटा हल पाएको छ भने काठमाडौं मल्टिप्लेक्समा ११ शो पाएको निर्माता/नायक रोहित रुम्बाले बताएका छन । ‘नेप्टे’मा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’मा हरी घले लामाको छायाङ्कन, किरण माइकलको पटकथा एवम संवाद रहेको छ भने फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन । चौथो हप्तामा प्रदर्शन भैरहेको शत्रु गतेले अझै  क्युएफएक्स चेनमा १६ शो पाएको छ । बलिवूड फिल्म बागी-२ पनि नेपाली हलमा अझै प्रदर्शन भैरहेको छ । यसले लिली बिलिको इनिसियल ब्यापारमा पक्कै घाटा लाग्ने छ तर फिल्मको प्रतिक्रिया कस्तो आउँछ त्यसले पनि भोलिको दिनमा फिल्मको ब्यापार कस्तो हुनेछ भन्ने आकलन गर्न सकिएला ।