‘लिलीबिली’लाई ‘शत्रु गते’को असर, तेश्रो दिनको कमाई कति ?

यतिबेला नेपाली हलमा ३ फिल्म ‘शत्रुगते’ ‘लिलीबिली’ र ‘नेप्टे’ चलिरहेका छन । चैत्र ९ बाट प्रदर्शनमा आएको ‘शत्रुगते’ चौथो हप्तामा प्रदर्शन भैरहँदा चैत्र ३० गतेबाट दुई फिल्म ‘लिलीबिली’ र ‘नेप्टे’ प्रदर्शनमा आए ।

लिलीबिलीलाई ब्यापारिक रुपमा ‘नेप्टे’ भन्दा पनी ‘शत्रु गते’को असर परेको छ । चौथो हप्तामा पनि फिल्म हाउसफुलका साथ चलिरहेको छ । फिल्मले १० करोड बढी कलेक्सन गरिसकेको बितरक गोपाल काजी कायस्थले बताएका छन । तेश्रो दिनमा लिलीबिलीको कलेक्सन ४६ लाख ७२ हजार ९ सय ४२ रहेको छ । पहिलो दिन कुल ८२ लाखको ब्यापार गरेको फिल्मले दोश्रो दिन कुल १ करोड ३६ लाख ८३ हजार ९५६ कलेक्सन गर्न सफल भएको थियो । फिल्मको तीनदिने कलेक्सन कुल २ करोड ६५ लाख ५६ हजार ८ सय ९८ रहेको छ । ‘ब्यापारिक रुपमा असर त परेको छ तर यसलाई असर भन्दा पनि नेपाली फिल्मको लागि सुखद हो जस्तो मलाई लाग्छ’ लिलीबिली निर्देशक मिलन चाम्सले भने । ‘सबै फिल्म एक साथ राम्रो चलिरहेका छन त्यो राम्रो कुरा हो ब्यापार आफ्नो ठाउँमा छ’ उनले भने ।

यता फिल्म ‘नेप्टे’को भने शो नै क्यान्सिल सम्म भएको छ । राम्रा कलाकारको उपस्थितीका बाबजुद पनि फिल्मले राम्रो गर्न सकेन । नेप्टेका मुख्य कलाकार दयाहाङ राईको फिल्मी करियरमै पहिलो पटक आफुले अभिनय गरेको फिल्मको शो नै क्यान्सिल हुन पुग्यो । यसले उनलाई त धक्का पुग्यो नै नायक तथा निर्माता रोहित रुम्बालाई यसको असर धेरै पर्यो । निर्माता/नायक रोहित रुम्बाले भने ‘फिल्म राम्रो भएको प्रतिकृया पाएका छौँ तर फिल्मले शो नै पाएन त्यसका कारण पनि हामीलाई असर पर्यो ।’ काठमाडौं बाहिर एफडी कम्पनी र भित्र सुनिल मानन्धरले बितरण गरेको फिल्मले शनिबार ७०-७५ लाखको हाराहारिमा ब्यापार गरेको रुम्बाको भनाई छ । उनले भने,’मसँग यकिन आँकडा त छैन तर बितरकहरुले त्यती गरेको छ भनेको सुनेको छु ।’