‘द भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ मर्चेन्टाइज पार्ट्नर

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले मर्चेन्टाइजर पार्ट्नरका रुपमा सहकार्यको सम्झौता गरेको छ । आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा पत्रकार सम्मेलनका बिच सहकार्यको सम्झौता भएको हो । क्याप्सुल ९का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए ।

सम्झौता पछि बोल्दै क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले ‘द भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९को पनि लोगो रहने बताए । ‘हाम्रो देशभर ७० वटा डिलर छन् । ती डिलरमार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले भने,‘अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पुर्याउने अभियानमा छौं ।’

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९सँग सहकार्य गर्न पाउनु सुखद रहेको बताए । ‘हामीले शो शुरु हुनु अघि नै राम्रा ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो शोसँगै क्याप्सुल ९ को प्रबर्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ ।’

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘द भ्वाइस’ नेपाल ल्याएको हो । यो रियालिटी शो विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । ‘द भ्वाइस अफ नेपाल’मा निर्णायकका रुपमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सनुप पौडेल रहेका छन् । कान्तिपुर एचडी टेलिभिजनमा साउन महिनाबाट शोको प्रसारण शुरु हुनेछ । साउन अघी नै शो प्रसारण सुरु गर्ने भने पनि विश्वकप फुटबलका कारण ढिला हुने भएको हो ।