निकितालाई १० लाख, हिरोइन नपाएको पीडा कि आवश्यकता ?

एउटै फिल्मका लागि लामो समयसम्म तनाव लिइराख्न जोकोहीलाई पनि दिक्क लाग्छ । झन्, पाँच तारे होटलमा नै घोषणा गरेको फिल्म नबन्ने अवस्था आयो भने के होला ? अभिनेता प्रदिप खड्कादेखि सुरु भएको फिल्म ‘रानी महल’को लफडा पूर्व मिस नेपाल निकिता चण्डकसम्म आइपुगेर टुंगिएको त छ, तर छायांकनमा नगएसम्म के भर हुन्छ र ?

प्रदिपले खेल्ने भनेर तयार भएको यो फिल्म पछि उनले पनि खेलेनन् । यसपछि, अभिनेत्री बर्षा सिवाकोटी र कलाकार प्रशान्त ताम्राकार फाइनल भए । यी दुइले पनि पाँच तारेमा फिल्म घोषणा गर्दा सहभागी भएर पछी छाडिदिए । बल्ल बल्ल बन्न लागेको फिल्म फेरि अनिश्चित बन्यो । यसपछि, फिल्मको टिमले पूर्व मिस नेपाल निकिता चण्डकलाई १० लाख पारिश्रमिक दिएर अनुवन्धित गर्यो । निकितालाई १० लाख पारिश्रमिक दिइएपछि अहिले यसले चर्को बहस श्रृजना गरेको छ ।
यो फिल्मको निर्माण टिमका लागि निकिताको १० लाख पारिश्रमिक अभिनेत्री नपाएको पीडा थियो भन्ने चर्चा हुन थालेको छ । किनकी, अभिनेत्री बर्षा सिवाकोटीले छाडेपछि फिल्मको निर्माता हिरोइन नपाएर छटपटिएका थिए । यसैले, पूर्व मिस नेपालको ट्यागले पनि निकितालाई १० लाख पारिश्रमिक माग्न सजिलो भयो ।
तर, बर्षाले छाड्दा निकितालाई चिठ्ठा नै पर्यो भन्दा फरक नपर्ला ।