प्याकेजमा जोडी : एकमा दुई अफर

जोडीको रुपमा अहिले सबैभन्दा ज्यादा प्याकेज अफर पाइरहेको जोडी हो प्रियंका र आयुष्मानको । फिल्म होस् वा म्युजिक भिडियो वा कुनै ब्रान्ड प्रमोसन नै किन नहोस् उनीहरुले प्याकेजमा अफर पाउने गरेका छन् । प्याकेज अफरको प्रभाव यस्तो बलियो छ कि दुवैबिनाको न फिल्म देखिएका छन् न म्युजिक भिडियो ।

प्रेम गर्ने मामलामा फिल्म क्षेत्र पहिलेदेखि नै उदार हो । सँगै रहँदा बस्दा प्रेम पथ्र्यो तर फरक यत्ति थियो यो कुरा सकभर बाहिर नआओस् भन्ने चाहाना हुन्थ्यो । तर फेरिएको समयको सबैभन्दा ज्वलन्त उदाहरण, आजभोलि लभ परेको जोडी यसलाई लुकाउनभन्दा देखाउन चाहान्छ । प्रियंका कार्की र आयुष्मान देशराज जोशी हुन् वा वर्षा राउत र संजोग कोइराला एक अर्कालाई प्रेम मात्र गर्दैनन्, दुनियाँले पनि देखुन् भन्ने चाहान्छन् । यसका घाटा के कति छन् त्यो उनीहरु नै जानून् तर फाइदा के छ भने दुवैले प्याकेजमा अफर पाउने गरेका छन् चाहे त्यो फिल्म खेल्नलाई होस् वा अन्य कामका सवालमा ।

जोडीको रुपमा अहिले सबैभन्दा ज्यादा प्याकेज अफर पाइरहेको जोडी हो प्रियंका र आयुष्मानको । फिल्म होस् वा म्युजिक भिडियो वा कुनै ब्रान्ड प्रमोसन नै किन नहोस् उनीहरुले प्याकेजमा अफर पाउने गरेका छन् । प्याकेज अफरको प्रभाव यस्तो बलियो छ कि दुवैबिनाको न फिल्म देखिएका छन् न म्युजिक भिडियो । हुँदा हुँदा प्रियंकाले इन्डोर्स गरिरहेका ब्रान्डमा पनि आयुष्मानको इन्ट्री देखिन थालेको छ ।

प्रियंका र आयुष्मानपछि प्याकेजमा काम गरिरहेको अर्को जोडी हो पल शाह र आँचल शर्माको । पल शाह र आँचलले पनि आजभोलि प्याकेज मै अफर पाउने गरेका छन् । फिल्मलाई लिएर उति सारो जेनरलाइज गर्न मिल्दैन,तर म्युजिक भिडियो गर्ने सवालमा यो जोडी पनि प्रियंका र आयुष्मानभन्दा कम देखिन्न । जहाँ पल हुन्छन् त्यहाँ आँचल हुन्छन् नै । दुवैको केमेस्ट्री थाहा पाएका फिल्म निर्माताले पनि दुवैले फिल्म खेल्ने सवालमा सालाखाला अफर गर्ने गरेका छन् ।

फिल्म उद्योगमा प्याकेज अफर मै चलिरहेको अर्को जोडी हो, ऋचा शर्मा र अर्पण थापाको । दुवैको सम्बन्ध गसिपको कोलमभन्दा बाहिर आउन सकेको छैन तर ऋचा र अर्पणको जोडीले फिल्म निर्माणदेखि अभिनयसम्ममा पनि सहकार्य गरिरहेको देखेर धेरैले यसलाई पनि प्याकेज जोडी कै रुपमा लिने गरेका छन् अर्थात् ऋचालाई लिन खोज्नुस् अर्पणका लागि पनि रोल छुट्याउनुस् वा अर्पणलाई लिन खोज्नुस् ऋचालाई पनि ध्यान राख्नुस् ।

जोडी बनेको तर प्याकेजमा काम नगरीरहेको जोडी हो वर्षा राउत र संजोग कोइरालाको । वर्षा र संजोग यो क्षेत्रमा आउनुअघि देखि नै जोडीको रुपमा रहेका थिए । तर वर्षाले आफ्नै हिसाबले फिल्म खेलिरहेकी थिइन् भने संजोग फिल्मसँगै आफ्नै व्यवसायमा व्यस्त थिए । तर, ‘एउटा यस्तो प्रेम कहानी’मा सँगै अभिनय गरेपछि आगामी दिनमा दुवैलाई प्याकेज मै अफर आउने निश्चित छ ।

प्याकेजमै काम गरेर सफलतामा पुगेका जोडीहरु मध्ये दीपक राज गिरी र दिपाश्री निरौला को नाम अग्रपंक्तिमा आउँछ । रेडियो कार्यक्रमदेखि सुरु भएको दुवैको सहकार्य तीतो सत्य हुँदै फिल्मसम्म आइपुग्दा उचाईमा पुगेको छ । आफूले बनाएका फिल्ममा त दुवै साथ हुन्छन् नै ब्रान्ड इन्डोर्समेन्टमा पनि दीपक दीपालाई एक अर्काबिना देख्न मुस्किल पर्छ ।

जोडीकै कुरा गर्नुपर्दा सुदर्शन थापा र पूजा शर्माको जोडी पनि पछिल्लो समय हल बाँधेर काम गर्ने गरेको देख्न सकिन्छ । सुदर्शनले पूजालाई आफूले निर्देशन गर्ने फिल्ममा हिरोइन बनाएबाट सुरु भएको सहकार्य पछिल्लो समय फिल्म निर्माणसम्ममा निरन्तर छ ।
कुनै समय थियो, प्रेम सम्बन्धलाई कलाकारहरु सकभर लुकाएर राख्ने प्रयास गर्थे । बाहिर निस्किए, आफ्नो फ्यान फ्लोइङ घट्ने र आफ्नो करिअरलाई असर गर्ने चिन्ता देखिन्थ्यो । तर, माथि उल्लेखित जोडी बनाएका धेरै कलाकारले यस्ता चिन्ता घाममा सुकाउने गरेको देखिएको छ । सार्वजनिक ठाउँमा चुम्मा चाटी गर्नेदेखि लिएर निर्धक्क देश विदेश घुम्ने गरेका घटनाले पनि उनीहरु दुनियाँको भन्दा पनि आफ्ना लागि बाँच्ने फिलोसोफीमा छन् । तर, यस्तो सम्बन्ध सफल भयो भने त ठिकै छ तर असफल भयो भने जिन्दगीभर यसको मूल्य चुकाउनु पर्ने हुन्छ । किनकि हामी २१ औं शताब्दीमा बाँचे पनि हाम्रा मूल्य मान्यता १६–१७ औं भन्दा अगाडि छैनन् ।
फोटो : सम्बन्धित व्यक्तिको फेसबुक तथा गुगल