प्रियंका जी, कुन फिल्मको ओपनिङ हेरेर पैसा लिनुहुन्छ ?

अभिनेत्री प्रियंका कार्कीले आफ्नो पारिश्रमिकको बारेमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मुख खोलिन् । प्रियंकाले कुनै पनि भूमिका सानो वा ठूलो नहुने भन्दै आफूले फिल्मको ओपनिङको आधारमा पैसा लिने गरेको दाबी गरिन् । प्रियंकाका अनुसार, फिल्मको ओपनिङमा उनलाई हेर्न भनेर जुन फ्लोमा दर्शक आउँछन् उनी त्यो अनुसारको पैसा लिन्छिन् । उनले, फिल्ममा आफ्नो भूमिका कति छ भनेर पारिश्रमिक नलिएको बताएकी थिइन् ।

अभिनेत्री प्रियंका कार्कीले सोलो भूमिकामा काम गरेका फिल्मको बक्स अफिस कलेक्शन त उदेक लाग्दो छ । प्रियंकालाई नै हेर्न भनेर दर्शक हलमा आउनका लागि उनी नै हाबी भएका फिल्मको कलेक्शन हेर्नुपर्ने हुन्छ । ‘सुन्तली, बटरफ्लाई’ लगायतका फिल्मको ओपनिङ निकै कमजोर थियो । तर, ‘छक्का पन्जा, छक्का पन्जा २, नाई नभन्नु ल २, ३, ४’, सत्रु गते’ जस्ता फिल्म हेर्ने हो भने यी फिल्मका ओपनिङ प्रियंकाको कारणले होइन भन्ने सबैलाई थाहा छ । यसैले, कुन फिल्मको ओपनिङ कलेक्शन हेरेर प्रियंकाले पारिश्रमिक लिएकी हुन कुन्नी ?

प्रियंकाले अचेल पत्रकार सम्मेलनमा पत्रकारलाई तपाइको प्रश्न नै गलत छ भन्न थालेकी छिन् । उनले, मंगलबार आयोजना भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’को पत्रकार सम्मेलनमा पनि पत्रकारलाई प्रश्न गलत भएको बताइन् ।
आफूलाई चित्त नवुझेपछि प्रियंका पत्रकारलाई नै प्रश्न गलत छ भन्न थालेकी छिन् । पत्रकारको प्रश्न गलत छ भन्नु भन्दा पनि त्यसलाई तर्कसंगत जवाफमा ढाल्ने खुबी पो बढाउने हो कि प्रियंकाले ?