निकिताजी, ‘रानी महल’को बारेमा केही वुझ्नु भो त ?’

नेपाली फिल्म क्षेत्रमा सन् २०१७ की मिस नेपाल निकिता चण्डकको प्रवेशसँगै यसले एक प्रकारको बहस नै श्रृजना गरेको छ । निकिताको फिल्म क्षेत्रमा हतारो आगमन र १० लाख पारिश्रमिकको चर्चाले फिल्म वृत्त गर्माएको पनि छ । निकिताले मिस नेपालको कार्यकाल सकिएको १ बर्ष हुने वित्तिकै फिल्ममा आउने निर्णय गरिन् । निकिताको फिल्ममा प्रवेशको गतीलाई हेर्ने हो भने यो सुपरफास्ट हो ।
हुनत, निकिताले आफूलाई अभिनयको सोख भएकाले पनि काम गर्न तयार भएको बताइन् । तर, फिल्म ‘रानी महल’मा काम गर्न तयार हुँदै गर्दा उनले यसको बारेमा कति वुझिन् होला ?

यो फिल्म निर्माणको कहानी लामो छ । अभिनेता प्रदिप खड्कालाई २२ लाख रुपैयाँ दिन निर्माता तयार हुँदा पनि उनले यो फिल्म गरेनन् । फिल्मका लागि अभिनेता पल शाहलाई पनि अफर गरियो, उनले पनि गरेनन् । यसपछि, एक नयाँ अभिनेतासँग कुरा गरियो उनले पनि गरेनन् । अभिनेत्री बर्षा सिवाकोटीले पनि फिल्मको लामो समयसम्मको ल्याङल्याङलाई हेरेर फिल्म नगर्ने निर्णय गरिन् । अहिले निकिता फिल्म क्षेत्रमा प्रवेश गर्न लागेका २ अभिनेतासँग काम गर्दैछन् । यसैले, फिल्म चल्नका लागि निकिता नै चम्कनुपर्ने आवश्यकता छ । फिल्म क्षेत्रमा आउने हरेक कलाकार राम्रो कोस्टार र ब्यानर हेर्छन् । तर, यसपटक पूर्व मिस नेपालले केही पनि हेरेको देखिएन । न त उनले ‘रामकहानी’को कथा नै वुझ्ने कोशिश गरिन् न त अन्य कलाकार नै ।
साच्चै, यो हतारो पूर्व मिस नेपाललाई भारी पर्ने त होइन ?