क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा भेटियो, स्विकृतिको पर्खाइमा धुर्मुस सुन्तली फाउण्डेशन

सामाजिक अभियान्ता धुर्मुस सुन्तलीको संस्था धुर्मुस सुन्तली फाउण्डेशनले केही समय अगाडी घोषणा गरेको महत्वकाङ्छी परियोजना अन्तर्राष्ट्रिय स्तरको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम’का लागि आवश्यक जग्गा भेटेको जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनको प्राबिधिक टोलिले देशका बिभिन्न स्थानमा (काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवा) गरेको स्थलगत अवलोकन पस्चात उपयुक्त स्थान भेटेको हो । प्राबिधिक टोलिले अन्य सबै स्थानलाई छोडेर गोदावरीमा रहेको १ सय २८ रोपनी भन्दा बढी जग्गा उपयुक्त रहेको निस्कर्ष निकालेको हो । हाल कृषि मन्त्रालयको स्वामित्वमा रहेको उक्त जग्गा सम्पूर्ण हिसाबले उपयुक्त रहेको प्राबिधिक टोलिले निस्कर्श निकालेपछी जग्गा उपलब्ध गराउन र स्टेडियम निर्माण स्विकृतिका लागि सरकारलाई प्रस्ताब गरिएको छ ।

शिलान्यास गरेको मितिले डेड देखी दुई बर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य फाउण्डेशनले लिएको छ । ‘धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण संयोजन गर्ने भने पनि यो हाम्रो टिमले गर्ने हो । त्यसमा हामी जस्तै अन्य सामाजिक अभियान्ताहरु, प्रतिष्ठित ब्यक्तीहरु, सिस्नो पानी नेपाल, बिभिन्न सामाजिक संघ संस्थाहरु जो समाज हितमा लागिपर्नु भएको छ उहाँहरुसँगको सहकार्यमा हामी यसको निर्माण गर्नेछौँ’ धुर्मुसले भने ।अनुमानित २ अर्ब लागतमा बन्ने स्टेडियम निर्माणका लागि आवश्यक प्राबिधिकहरु सकेसम्म देश तथा बिदेशमा रहेका नेपालीहरुलाई नै प्रयोग गरिने र पर्याप्त नभए परामर्श गरेर अन्य देशका पनि प्रयोग गर्न सकिन्छ । त्यसका लागि हामी अाई सि सि सँग समन्वय समेत गर्नेछौँ, धुर्मुसले भने ।

स्टेडियम निर्माणका लागि आर्थिक श्रोत कसरी जुट्छ भन्ने हाम्रो प्रश्नमा धुर्मुसले भने, ‘हामीले सम्पूर्ण नेपालीलाई आह्वान गर्ने छौँ र गरिरहेका पनि छौँ । नेपाली उध्योगी, ब्यवसायी, सहयोगी मनहरु र बिशेषत हामी नेपाल सरकारलाई अपिल अनुरोध गर्ने छौँ । पब्लिकबाट उठेको रकममा अपुग बजेट सरकारबाट उपलब्ध होस् भनेर हामीले प्रस्तवना समेत पेश गरिसकेका छौँ । त्यसको आवश्यक अध्ययन पस्चात सरकारबाट साकारात्मक प्रतिकृयाको अपेक्ष्या हामीले गरेका छौँ’ उनले भने । यो सबैको साझा र राष्ट्रिय गौरवको पारीयोजना भएकाले यो राष्ट्रियतासँगको सवाल पनि हो । समग्र देश बिकासको चिज पनि यही भित्र जोजोडिएको छ । हामीले जुन स्थान भनेका छौँ त्यो आँफैमा प्राकृतिक रुपमा सुन्दर र पर्यटकिय हिसाबले पनि उपयुक्त गन्तब्य हुन सक्छ । विश्वमा नेपाल चिनाउने अभियान हो हाम्रो । स्टेडियम निर्माण एउटा पाटो हो, त्यो सँगसँगै नेपालको धर्मिक, प्राकृतिक, सांस्कृतिक चिनारी विश्वमाझ पुर्याउने अभिप्रायले अगाडी बढिरहँदा खेरी यो एउटा त्यस प्रकृतिको परियोजना हो । त्यसैले सम्पूर्ण नेपालीहरुले यसलाई साथ सहयोग गर्नुहुन्छ भन्ने आशामा हामीले निर्माण संयोजन गर्न लागेका हौँ ।

पछिल्लो समय सरकार आफैँले पनि देशैभर स्टेडियम निर्माण गर्ने कुरा आगाडी आएको छ यस अवस्थामा फाउण्डेसनलाई सरकारको कत्तिको सहयोग प्राप्त होला भन्ने हाम्रो जिज्ञासामा धुर्मुसले भने ‘अहिले जुन पहल सरकारबाट भएको छ त्यो निकै सराहनीय, प्रशंसनीय, स्वागत योग्य छ । यो बिकासको लहर हो भन्ने हाम्रो बुझाई हो । हामीले खेलकुद मन्त्रीसँग कुरा गर्दा उहाँले सकारात्मक प्रतिकृया दिनुभएको छ । उहाँ आँफै पनि एक युवा हुनुहुन्छ र खेलको महत्व बुझेर उहाँले जुन उर्जा हामीलाई प्रदान गर्नु भएको छ त्यसले हामीलाई हौसाएको छ । सँगसँगै कृषिमन्त्री पनि निकै सकारात्मक हुनुहुन्छ । त्यसैले हामी आशावादी छौँ । र सरकारले स्टेडियम निर्माण गर्ने भनेका स्थानहरुमा पनि हामी सहकार्य गर्दै अगाडी बढ्छौँ ।’
महाभुकम्प पछी देशका बिभिन्न स्थानमा बस्ती निर्माण गरेको धुर्मुस सुन्तली फाउण्डेशनले पछील्लो समय नमुना नेपाल निर्माण अभियानलाई अगाडि बढाएको थियो । तर त्यस परियोजनालाई थाति राख्दै फाउण्डेशनले ‘जुटौँ नेपाली सारा बनाऔँ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ भन्ने नारा सहित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा जुटेको हो ।