शरीर त फिट, तर बनेनन् हिट

नेपाली फिल्मका हिरोहरुमा आकर्षक शरीर कसको होला ? झट्ट संझने हो भने, सविन श्रेष्ठ, सुशिल श्रेष्ठ नै अगाडि आउँछन् ।

सविन श्रेष्ठको त दोश्रो घर नै जिम हो । जिमखाना दिनहुँ धाउने सविनको शरीर आकर्षक छ । तर, फिल्मको पर्दामा उनको शरीरले खासै कमाल गरेको छैन । सविनले अभिनय गरेका फिल्म न त हलमा चम्कन्छन् न त उनले दर्शकमाझ त्यस्तो क्रेज नै बनाउन सके । सविन बरु अभिनेत्री अनु शाहसँगको प्रेमका कारण मिडियामा कहिलेकाही आउँछन् । उनको शरीर त फिट छ, तर हिट बन्न उनी सकेनन् ।

अभिनेता सुशिल श्रेष्ठले फिल्म ‘होस्टेल रिटन्र्स’बाट यो क्षेत्रमा इन्ट्री मार्दै गर्दा उनको शरीर नै बिकाइएको थियो । उनको सिक्स प्याक शरीरले भरिएका पोष्टर शहरका भित्ताभरी लगाइयो । तर, सुशिलको आकर्षक शरीरले खासै काम गरेन । बरु, दुब्ला नाजिर हुसेनले चमत्कार गरे । सुशिललाई दर्शकले पर्दामा खासै वास्ता गरेका छैनन् । उनी अभिनित फिल्म पनि असफल भैरहेका छन् । हुनत, उनले फिल्ममा काम पाइरहेका छन् । तर, सुशिलको आकर्षक शरीरले उनलाई बैकल्पिक हिरो मात्र बनाएको छ ।

शरीर फिट, तर हिट हुन नसकेपछि के लाग्यो र ? शरीरसँगै अभिनयमा पनि ध्यान दिने कि सविन र सुशिलले ।