‘चिया पिउन पसलमा नछिरेको भए सायद बाँचिन्नथ्यो’

‘बाँच्नु पनि यस्ता अनेक संयोगहरुको फल नै त हो । चिया पिउन त्यो पसलमा नछिरेको भए हामी पहिरोमा पुरिने प्रवल सम्भावना थियो । मैले नै साथीहरुलाई चिया पिउन आग्रह गरेको थिएँ । एउटा गाडीमा रहेका साथीहरु चिया नपिइकनै बाटो लागेका थिए । भूकम्प आउँदा उनीहरुको गाडीको ठयाक्कै अगाडि र पछाडि दुबैतर्फ पहिरो खसेछ । हामी चिया पिउन नथालेको भए त्यो पहिरो हाम्रो गाडीमै खस्ने रहेछ । त्यो संयोगका लागि भगवान्लाई धन्यवाद दिएर हामी अगाडि बढ्यौं । ’
यो अनुभव निर्देशक दिनेश डिसीको हो । उनले सुनाएका भूकम्पबारेको अनुभव पत्रकार किशोर पन्थीले आफ्नो पुस्तक ‘कम्पन’मा समावेश गरेका छन् ।

वैशाख १२ गते महाविनाशकारी भूकम्प आएको ३ वर्ष पूरा हुँदैछ । धेरै नेपालीको मस्तिस्कमा यसको सम्झना ताजै छ । यही भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक सार्वजनिक हुदैछ ।
यो पुस्तकमा भूकम्पका समयमा विभिन्न व्यक्तिले गरेका अनुभवहरु समेटिएको छ । राह वितरणका लागि भूकम्प्रभावित क्षेत्रमा जाँदाको अनुभव पनि यसमा समेटिएका छन् । पुस्तकमा महाभूकम्पपछिको वेदना र आर्तनादमात्र होइन, सिमित साधन श्रोतकाबीच उच्च मनोवल र मानवीय सहयोगका कारण राहत, रेस्क्यु, उपचार सम्भव भयो भन्ने समेत देखाउन खोजिएको छ । नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका थिए । त्यतिबेला उनले सयौं व्यक्तिसँग गरेको कुराकानीका आधारमा कम्पन जन्मिएको हो । भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनी आफै उद्दार र राहतमा मात्र खटिएनन्, दोश्रो ठूलो भूकम्पमा बालबाल बच्न सफल भएका थिए । त्यतिबेला उनी जुन भवनको पाँचौं तल्लामा थिए, त्यसका पिलरहरु क्षतिग्रस्त भए भवनमा रातो स्टीकर टाँसियो ।
काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिएका थिए । त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिएका छन् ।
पुस्तकमा भूकम्पपछि पत्रकार पन्थीले आफैले गरेको भावनात्मक अनुभव समेत आफ्नै कुरा खण्डमा समावेश गरेका छन् । त्यो बाहेक ६ वटा खण्डमा पुस्तक विभाजन गरिएको छ । पहिलो खण्डमा आफन्तजन गुमाउनेहरुको वियोग र वेदनालाई समेट्दै चरम वियोगको घडीमा समेत कसरी सम्हालेर अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । महाविनाशकारी भूकम्प आउँदा केही मान्छेहरुलाई मृत्युले भ्mयाप्पै समात्यो । केही मान्छेहरुलाई मृत्युले निल्न लाग्दै थियो, उनीहरुले संघर्ष गरे अनि आफूलाई मुत्युको मुखबाट उम्काए । कोही भने संयोगले बाँचे, कोही भाग्यले बाँचे । कसैलाई उद्धारकर्मीले समयमै उद्धार गरेर बचाए । दोश्रो खण्डमा भूकम्पमा मृत्युको मुखमै पुगेर पनि संयोग, आशा, आत्मबल, सहयोग र मानवीयताको कारण कसरी बाँच्न सकिन्छ भन्ने विषय समेटिएको छ ।

भूकम्पपछिको त्यो सन्त्रस्त क्षणमा दयालु हृदयका सयौं मानिस मानवीयताका आधारमा उदात्त भावले पीडितको उद्धार र राहतमा जुटे । नेपाली सेना, जनपद प्रहरी र शसस्त्र प्रहरी बलका जवानहरुले आफ्नो ज्यान नै जोखिममा पारेर भग्नावशेष पन्छाउँदै मानिसहरुलाई जीवितै उद्धार गरे । विपत व्यवस्थापनका लागि पर्याप्त आधुनिक उपकरण र लजिष्टिक सपोर्ट’ नहुँदा–नहुँदै पनि साहस र धैर्यका बलमा नेपाली उद्धार टोलीले गरेको रेस्क्यू अपरेसन पुस्तकको तेश्रो खण्डमा छ । भूकम्पपछि सरकारी र निजी अस्पतालहरुमा भूकम्पका घाइते धमाधम भर्ती हुन थाले । कसैका हात–गोडा मुला थिचिएझंै थिचिएका थिए, कसैको टाउकोबाट रगतका धारा बगिरहेका थिए । कसैका हाड, जोर्नी नै भाँच्चिएका थिए । शारीरिक र मानसिक घाउ बोकेर आउनेहरुको जब अस्पतालमा चाप बढ्यो, डाक्टर र नर्सहरुले एक सेकेन्ड फुर्सद पाएनन् । कोही अस्पतालमा ल्याइएका घाइतेको उपचार गर्नमा तल्लिन भए भने कोही प्रभावित क्षेत्रमै पुगेर आकस्मिक सेवा गर्न थाले । रेस्क्यू टोलीले एम्बुलेन्समा हालेर पठाएका बिरामीलाई बचाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । निःस्वार्थ भावले आर्तहरुको चह¥याइरहेको घाउमा मल्हम दल्नेहरुको बारेमा पुस्तकको चौथो खण्डले समेटेको छ ।
करुण रसले भिजेका नेपाली वस्तीहरुमा राहत रस बोकेर जानेहरुको बेग्लै कथा छ । हुन त केही स्वार्थी मानिसहरु १५ रुपैयाँ मुल्य पर्ने चाउचाउ ५० रुपैयाँमा बेचिरहेका थिए भने केही दयालु मानिसहरु त्यही चाउचाउ ५० रुपैयाँमा किनेर भूकम्प पीडितलाई खुवाइरहेका थिए । को कति सेवक हो, को कति लोककल्याणकारी हो र को कति दयालु हो भन्ने कुरा यस्तै बेलामा थाहा हुन्छ । पुस्तकको पाँचौं खण्डमा संकटको त्यो घडीमा पीडितहरुका लागि राहत संकलन र वितरणमा आफूलाई समर्पित गराउनेहरुको विषय समेटिएको छ । उद्धार, उपचार र उपकारपछि भूकम्पको त्यो त्रासदीमा मानिसहरुको मुख्य आवश्यकता थियो, सही सूचनाको । भूकम्पमा कुन क्षेत्रमा के–कस्तो क्षति भयो भन्नेबारे मानिसहरु हर क्षण जान्न चाहन्थे । आफ्नो क्षेत्रको हाल बुझ्न चाहन्थे ।
विपत्तिको बेला अनावश्यक हल्लाहरु पनि चले । ती हल्लालाई चिरेर सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको दायित्व थियो, जसलाई नेपालका पत्रकारले सकेसम्म निर्वाह गरे । आजका पत्रकारका लागि त्यो हदसम्मको भूकम्प पहिलो अनुभव भएकाले उनीहरु आफैं पनि अन्यौलमै रहे । पुस्तकको अन्तिम खण्डमातिनै संचारकर्मीको सकसलाई समेटिएको छ ।

पुस्तकमा नायक रमित ढुंगानाको अनुभवलाई पुस्तकमा यसरी समेटिएको छ ।
‘अचानक भूकम्पले घर हल्लाउन थाल्यो । मैले आमालाई बोकें र फटाफट घर बाहिर निकालें । मलाई फोरडी थ्रीलर चलचित्र हेरेजस्तो अनुभव भयो । आमा निकै डराउनुभएको थियो । उहाँ ‘नारायण नारायण’ भन्दै भगवान्को नाम लिइरहनुभएको थियो । बाटोमा अरुले पनि भगवानको नाम लिइरहेका थिए । बाहिरबाट हेर्दा हाम्रो घर त ‘डान्सिङ हाउस’ जस्तो देखिन्थ्यो । एकदमै हल्लिरहेको थियो । मोटरसाइकलहरु बाटोमै लडिरहेका थिए । त्यो दृश्य सम्झँदा मात्र पनि अहिलेसम्म मेरो मन झसंग हुन्छ । ’
फेशन डिजाइनर आस्तिक शेरचनले भूकम्पलाई यसरी स्मरण गरेका छन् ।
‘दोश्रोपटक मे १२ मा भूकम्प आउँदा म सिन्धुपाल्चोकको सिपापोखरीमा राहत वितरणमा सक्रिय थिएँ । यत्तिकैमा भयानक भूकम्प आयो । पारिपट्टिको पहाडमा ठूलो पहिरो गयो । एकैछिन सबैजना आत्तियौं । तर पछि सम्हालिएर राहत वितरणतिर नै लाग्यौं । र बेलुका सुरक्षित रुपमा नै घर फर्कियौं । यो एउटा राष्ट्रिय विपतको घडी थियो । घरमा बसेर रमिता हेर्ने अवस्था थिएन । त्यसैले हामी सपरिवार नै राहतको काममा खटेका थियांै । म सिन्धुपाल्चोक पुग्दा बुबाआमा पनि सक्दो राहतको काममा लागिरहनुभएको थियो । यसरी यो विपतको घडीमा सानो भए पनि सहयोग गर्न पाउँदा मनमा सन्तोष मिल्दोरहेछ ।’