कालिम्पोङबाट ‘आप्पा’

अघिल्लो वर्ष दयाहाङ राईका लागि समग्रमा निराशाजनक नै रह्यो । ६–६ वटा फिल्म रिलिज भए तर कुनै पनि फिल्मबाट दयाले गतिलो जस पाएनन् । ‘कान्छी’ले जेनतेन लगानी उठाए पनि बाँकी ५ फिल्मले निर्माता र दयाहाङ दुबैलाई डुबाए । यही कारण दोस्रो राजेश हमाल बनेको आरोप खेपिरहेका बेला दयाहाङ राईले वर्षको सुरुवात भारतीय मूलका नेपालीले बनाएको फिल्मबाट सुरु गर्ने भएका छन् ।

कालिम्पोङका युवाले निर्माण गरेको फिल्म ‘आप्पा’ दयाले सुटिङ गरेको पहिलो फिल्म बनेको छ । दयाले मण्डलामा ‘क्लब सेभेन’ नाटकको रिहर्सलसकेसँगै कालिम्पोङ गएर फिल्मको सुटिङ सेट ज्वाइन गरेका छन् । फिल्मका निर्देशक र अन्य कलाकारको बारेमा विस्तृत जानकारी बाहिर नआइसकेको भए पनि फिल्ममा अरुणा कार्कीको पनि अभिनय रहने कुरा जानकारीमा आएको छ ।
तस्बिर : सामाजिक सन्जालबाट