सर्वनाम थिएटरमा नाटक “परिवन्द” मञ्चन

काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा अहिले नाटक “परिवन्द” मञ्चन भईरहेको छ । गोलो घेरामा हात समाएर “छुई हा हा” गाउँदै सुरु भएको नाटकले अन्त्यसम्म दर्शकलाई बाँधेर राख्न सफल देखिन्छ ।

नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा बोकेको यो नाटकले एक संर्घषशील नारीका आरोह अवरोहलाई चित्रण गरेको छ । गाँउमा नुमासँग विवाह गरि सुखीसँग बसेको पारुहाङ राम्रो उब्जनी नभएर विदेसिएपछि नुमाको जीवनमा आएको उथलपुथल नै नाटकको मुल द्वन्द हो । खित्का छोडेर हँसाउदै सुरु भएको नाटकले अन्त्यमा दर्शकलाई भावविहलसमेत बनाईदिन्छ ।

सर्वनाम १२ औं ब्याचका प्रशिक्षार्थी समुहले तयार पारेको नाटकमा अभिनय मात्र हैन लेखन तथा निर्देशन पनि यहि समूहले गरेका हुन् । पहिलोपटक रंगमञ्चमा उत्रिएका रंगकर्मीहरुले तयार पारेको भएपनी नाटकमा गरेको बेजोड अभिनय र प्रस्तुतिले नाटक अब्बल बनेको छ । अत्यन्तै न्यून मञ्च सामाग्रीको प्रयोग गरिएको नाटकमा पूर्वी नेपालमा बोलिने लवज मात्र होइन किराँत सस्कृतिलाई समेत टपक्क टिपेर सौन्दर्य भरि पस्किएको छ ।

मञ्चमा देखिने सबै कलाकारहरुले आफ्नो चरित्रलाई जिवन्त बनाएका छन् । बबीहाङको भुमिकामा देखिएका सिद्धलाल महर्जन, नुमाको भुमिकामा देखिएकी वर्षा मल्ल, पारुहाङको भुमिकामा देखिएका पाश्लाक्पा शेर्पाले आफ्नो छाप छोड्न सफल छन् भने सुस्मीता, थुङ्मा, सोल्टीनी, सुजाता चारवटै भुमिकामा देखिएकी शोभा लिम्बुले चारैवटा भुमिकामा जीवन्त अभिनय गरेकी छिन् । नाटकमा तान्छुहाङ, मिङ्सो,विशाल,  प्रशान्त, नरबहादुर, वीरबहादुर साहु लगायतका पात्रहरुलाई पनि देख्न सकिनेछ ।

नाटकमा वर्षा मल्ल, पाश्लाक्पा शेर्पा, सिद्धलाल महर्जन, आयुष बहादुर श्रेष्ठ, शोभा लिम्बू, समीर पौडेल, राम सेन्चुरी, मोहन श्रेष्ठ, धिरज थापा मगर, आशिष काफ्ले, जीवन पौडेल, सरोज उपाध्याय, मुकेश हमाल, नवराज पराजुली, क्षितिज पराजुली लगायतको अभिनय रहेको छ ।

बैशाख १ गतेदेखी सुरु भएको नाटक बैशाख १५ गतेसम्म चल्नेछ । नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ ।