‘म लेडी राजेश हमाल हैन’ – प्रियंका कार्की

शुक्रबार देखि प्रियंका कार्कीका चार फिल्म पर्दामा छन् । ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ले शुक्रबारबाट फ्रेस स्टार्ट गर्दै छन् । चैत ९ गते रिलिज भएको ‘शत्रु गते’ र चैत ३० गते रिलिज भएको ‘लिलीबिली’अझै हलमा लागिरहेका छन् ।

कार्टुनिस्ट : अभिषेक दास

नेपालमा जब कुनै कलाकारले धेरै फिल्म खेल्छन् त्यो कलाकारलाई राजेश हमालसँग तुलना गरिन्छ । एकै दिन चारवटा प्रियंकाका फिल्म हलमा लाग्ने भएपछि धेरैले प्रियंकालाई लेडी राजेश हमाल भनेर टिप्पणी गर्ने गरेका छन् । बुधबार फिल्म ‘कोहलपुर एक्सप्रेस’को पत्रकार भेटघाटमा जब प्रियंकालाई लेडी राजेश हमाल बन्न लागेको हो भनेर सोधियो, प्रियंकाले डिफेन्सिभ जवाफ दिइन् ।

‘ सन् २०१६मा सुटिङ गरेको फिल्म र सन् २०१८मा सुटिङ गरेको फिल्म एकै दिन रिलिज हुन्छन् भने म के गर्न सक्छु’ उनले भनिन्, ‘मलाई पनि चार चार वटा फिल्म एक साथ हलमा लागून् भन्ने रहर थिएन तर म कलाकार मात्र हुँ । फिल्म रिलिजको कुरामा मैले सुझाव मात्र दिन सक्छु, हस्तक्षेप गर्न सक्दिन । ’ प्रियंकाले ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ नजुधाउन आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि सम्भव नभएपछि टेन्सन नलिएको बताइन् ।
‘यी दुई फिल्म नजुधुन् भनेर मैले प्रयास गरेको हो तर नभएपछि आजभोलि टेन्सन लिएकी छैन । दर्शकलाई मेरो अनुरोध छ ह्याप्पी डेज हेर्न जानुस् र हाउसफुल भएपछि कोहलपुर हेर्न जानुस् यी दुइटा हाउस भएपछि लिली बिली वा शत्रुगते हेर्न जानुस्,’प्रियंकाले जिस्कँदै भनिन्, ‘चारवटा फिल्म एकै दिन हलमा लाग्ने भयो भनेर केहीले जिस्काउँदै गिनिज बुकमा नाम लेखाउनु पर्यो भनेर भन्नु भएको छ । म सकारात्मक छु ।’

प्रियंकासँगै डेब्यु गरेका ऋचा शर्मा र केकी अधिकारी अभिनेत्रीसँगै निर्माताको रुपमा डेब्यु गरिसकेका छन् । ऋचाले ‘भिजा गर्ल’, ‘आधा लभ’ र ‘सुनकेशरी’को निर्माण गरेकी छिन् भने केकीले ‘लभ सासा’ हुँदै ‘कोहलपुर एक्सप्रेस’बाट निर्माताको ट्याग भिर्दैछन् । प्रियंकाले आफू पनि ढिलो चाँडो निर्माण निर्देशनमा आउने बताइन् ।
‘मैले त अमेरिकामा फिल्म मेकिङ नै पढेको हो । त्यसैले डेफिनेटली त्यो विधामा आउँछु नै । तर अहिले त मलाई फरक फरक निर्देशकसँग सिक्न छ, बल्ल त अभिनयको भोक लागेको छ । त्यो भोक शान्त भएपछि बल्ल निर्माण निर्देशनमा आउँछु’उनले भनिन् ।
प्रियंका हाल दुई फिल्मको प्रमोसनसँगै ‘नाई नभन्नू ल ५’ र ‘चंगा चेट’को सुटिङ गरिरहेकी छिन् भने १७ गतेबाट ‘छक्का पञ्जा ३’को सुटिङ ज्वाइन गर्दैछिन् ।