भोर विशेष प्रदर्शनी, प्रशंसा कथाको

फिल्म ‘भोर’को राजधानीमा विशेष शो सम्पन्न भएको छ । राजनीतिज्ञदेखि मानवअधिकारकर्मी, कलाकर्मी र सञ्चारकर्मीहरुको माझ निर्माण टिमले फिल्म स्कृनिङ गरेको हो । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पुर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणी पौडेल, एमाले नेतृ विन्दा पाण्डे, पुर्व मन्त्री हिसिला यमीसँगै सयबढि मानवअधिकारकर्मी, विधार्थी नेताहरु फिल्म हेर्न उपस्थित भएका थिए ।

तराई भेगमा जरो गाडेर बसेको दाइजो प्रथा विरुद्ध आवाज बुलन्द पारेको फिल्म ‘भोर’ हेरेपछि पुर्व प्रधानमन्त्री नेपालले फिल्म अत्यन्तै राम्रो भन्दै सामाजिक विकृतिलाई उदाङ्गो पारेको बताए । सामाजिक चेतना जागरणको लागी धेरै नै उपयोगी भन्दै नेपालले समाजमा कलङ्कको रुपमा रहेको दाइजो प्रथा तथा महिलाप्रतिको विभेदलाई चित्रण गरिएकोले फिल्मलाई धेरै ठाउँमा पुर्याउनुपर्ने र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिए ।

आफुपनि तराइबाटै प्रतिनिधित्व गर्ने नेता रहेका नेपालले दाइजो, दुर्व्यवहार तथा बुहारीलाई परिवारमै दमन गर्ने प्रवृति अहिलेसम्म पनि समाजमा व्याप्त रहेको भन्दै त्यो सबै विषयलाई उठाएको ‘भोर’लाई उत्कृष्ट भन्दै राज्यले सकारात्म करुपमा लिएर यो प्रकारको गतिविधीलाई निर्मुल पार्न यस्ता घटनामा संलन्ग सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने नेपालको तर्क थियो । यस्तै मधेशी नेता महतोले केहि हदसम्म हटेपनि हालसम्म पनि विद्धमान दाइजो प्रथा विरुद्ध जनचेतना जगाउन यो फिल्मले धेरै मद्धत गर्ने बोले । दाइजोको विरुद्धमा कानुन बनेको भएपनि सम्बन्धित निकायले गम्भिरताका साथ नलिँदै आएको भन्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन र दोषीलाई मात्र नभइ न्याय माग्न नजाँदा न्याय नदिने व्याक्तिलाई पनि कारबाहि गर्नुपर्ने महतोको राय थियो ।

यस्तै महिला नेतृ हिसिलाले महिला हिंसा बढ्दै गएको भन्दै महिला हिंसा गर्नेलाई मात्र नभइ राज्यसत्तालाई नै झापड हान्नुपर्ने भन्दै राज्यकै असक्षमताका कारण महिला समाजबाट अपहेलित हुनुपरेको र यो प्रकारको कथालाई प्रदामा ल्याएर उत्कृष्ट रुपमा प्रस्तुत गरेकोमा फिल्म निर्माण टिमलाई बधाइ दिइन् ।
फिल्म हेरिसकेपछि फिल्मका मुख्य कलाकार डली सरकार, राम नारायण ठाकुर, पूजा कर्ण मुख्यतः बधाइका पात्र बने । सँगसँगै दीपक बज्राचार्यको उत्कृष्ट छायाँकन तथा स्थानिक कलाकारलाई पर्दामा उतारेर प्राकृतिक रुपमा मिथिलाञ्चलको परिवेशलाई दर्शकमाझ ल्याएका निर्देशक यादवकुमार भट्टराइको कामलाई धेरैले तारिफ गरे । फिल्मलाई यसअघि सम्पन्न जनकपुर प्रिमियर तथा पोखरा र हेटौँडामा सम्पन्न विशेष प्रस्तुतीमा पनि स्थानिय दर्शकले प्रशंसा गरेका थिए । मुख्यतः फिल्मले उठाएको विषय र यसको प्रस्तुतीले धेरैको नजर तानेको छ । दाइजोलाई महिला हिंसा भन्दा पनि मानव हिंसाको रुपमा लिनुपर्ने फिल्म टिमको अभियानलाई पनि धेरैले स्वगतयोग्य मानेका छन् । महिलामाथी दाइजोकै नाममा हुने हिंसा, न्यायको खोजीमा लाग्दा न्याय पाउनकै लागी गर्नुपर्ने संघर्ष र घरभित्रै हुने शारिरिक तथा मानशिक यातनालाई फिल्मले प्रदाफास गरेको छ ।

राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् । राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य अभिनयमा छन् । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको फिल्मको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ । फिल्म बैशाख २१ बाट प्रदर्शनमा आउने छ ।