पुनर्निर्माणको नेतृत्व गर्न धुर्मुस–सुन्तली तयार, भन्छन्–सरकारले चाहे सहर्ष स्वीकार्छौँ

पुनर्निर्माणका अभियान्ता तथा कलाकार सिताराम कट्टेल धुमर्सले सरकारले जिम्मेवारी दिए पुननिर्माणको नेतृत्व गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले आफूहरु अहिले सरकारको पुननिर्माणका दूतका रुपमा सचेतना फैलाउने काम गरिरहेको भन्दै अधिकारसहित सरकारले पुनर्निर्माणका लागि कुनैपनि जिम्मेवारी दिए पुरा गर्न पछि नहट्ने बताए । केही दिन अघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको अहिलेको काम चित्तबुझ्दो नभएको भन्दै सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई पुननिर्माणको जिम्मा दिनुपर्ने बताएका थिए ।

भूकम्प गएको ३ वर्ष पुगेको दिन यसबारे मेरोफिल्मसँग कुरा गर्दै धुर्मुसले आफूहरु सरकारले दिने जुनसकै जिम्मेवारी पुरा गर्न तयार रहेको बताए ।
उनीसँगको कुराकानीको सम्पादित अंशः–

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धुर्मुस सुन्तलीलाई नै पुनर्निर्माण्को जिम्म दिऔं भनेर सार्वजनिक रुपमा प्रस्ताव गर्नुभएको छ । यसमा तपाईंको धारणा के छ ?
सर्वप्रथम माधवकुमार नेपाललाई धन्यवाद । जसले हामीलाई योग्य ठानेर धुमर्स–सुन्तलीलाई पुनर्निर्माणको जिम्मा दिनुपर्यो भन्ने सार्वजनिक अभिव्यक्ति दिनुभयो । हामी गर्न नसक्ने पनि होइन । गरेरै देखाएको पनि हो । स्रोत र साधन हरेक नेपाली दाजुभाई दिदीबहिनीबाट जुटाएर सरकारकै समन्वयमा हामीले यि काम गरेका हौं । सरकारबाट टाढा रहेर गरेका पनि हैनौं । हाम्रा हरेर अभियान सरकारलाई सघाउने अभियान नै हुन् । र, सरकारले नै त्यो जिम्मेवारी धुर्मुस सुन्तलीलाई दिँदाखेरि छिटो रिजल्ट आउँछ र पुनर्निर्माण हुन्छ भन्ने हिसावमा योग्य ठहराएर हामीलाई जिम्मेवारी दियो भने सहर्ष स्वीकार्दै गर्न नसक्ने पनि हैनौं । किनभने पुननिर्माण सम्बन्धी कसरी छिटो काम गर्ने, समाज कसरी जोड्नुपर्छ, कसरी पीडितहरुलाई छिटोभन्दा छिटो घर बनाउन इन्करेज गर्नुपर्छ भन्ने आइडिया हामीसँग छ । हामीले ४ वटा बस्ती निर्माण गरिसकेकका छौं, हरेक नेपालीको सर्पोटका कारणले । यो घडीमा सबै महानुभावलाई सम्झन चाहान्छु जसको कारणले यति दरिलो भएर हामी जवाफ दिन सकिरहेका छौं ।
पुनर्निर्माणबारे यसरी हामी तिनै सहयोगी महानुभावका कारण बोल्न सकिरहेका छौं । त्यसैले सबैको इच्छा चाहानामा सरकारले हामीलाई दिने जुनसकै जिम्मेवारी दिँदा पनि सहर्ष स्वीकार्दै अघि बढ्छौं । हामी सरकारको पुनर्निर्माण दूत पनि भएका हिसावले सबैलाई छिटो गर्नुपर्छ है भन्ने सचेतना दिँदै अघि बढ्दै गर्दा सरकारले अधिकारसहितको कुनै जिम्मेवारी दियो भने त्यो पुरा गर्न सक्छौं ।

भूकम्पछि देश नै विक्षिप्त अवस्थामा पुगेका बेला तपाईंहरु नयाँ सोच र ऊर्जाका साथ आउनुभयो । कसरी यो अभियानमा आउनुपर्छ भन्ने लाग्यो ?
भुईचाँलो गएपछि हामी राहत र उद्धारमा खटिँदा निकै काहलीलाग्दो अवस्था थियो । हामीसँग योजना पनि थिएन कि यति वृहत हिसावमा वस्ती निर्माण गर्दै अघि बढ्छौं भन्ने ।
त्यतिबेला मनमा के खेलिरहेको थियो भने एकीकृत वस्ती विकासबाहेक अरु कुनै छिटो पुननिर्माणको प्रक्रिया नै हुन सक्दैन । भुईंचालोले विनास त भयो तर सँगै बिकासको मूल फुटाउने ठूलो अवसर दिएको हो । र यो अवसरलाई आत्मसात गर्दै हामी अघि बढ्यौं । ३ वर्षमा ४ वटा वस्ती बनाउँदा हामीलाई निकै धेरै चुनौती थियो । तर, कहिले पनि बिक्षिप्त नभइकन, आफ्नो स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबै पीडितहरुको भावनालाई सम्बोधन गर्नेगरी काम गर्दै गर्दा धेरै शारीरिक, मानसिक टर्चर भोग्यौं । तर, सबैको आशिर्वादले हामीले यत्तिको काम गर्न सक्यौं ।

सबैले भूकम्पपछि यसलाई राष्ट्र निर्माणको अवसर भनेका थिए । तर, अहिलेसम्म धेरै पीडित छाप्रोमै रहे । व्यववस्थित वस्ती विकासको काम नै भएन, किन होला ?
यो एउटा राष्ट्र निर्माण गर्ने अवसर हो । अब विपद्ले जोखिम ल्याउने र त्यसको सामना गर्न निकै गाह्रो हुने रहेछ भन्ने ज्ञान सबैलाई दियो । त्यसैले सबै लोभ–लालच, डाहा, इर्श्या सबै त्यागेर राष्ट्रिय एकता र सद्भावका लागि एकजुट भएर लाग्नुपर्ने रहेछ है भन्ने सन्देश प्रवाह पनि गरेको थियो, भूकम्पले ।
त्यो चिजलाई आत्मसात गरेर अघि बढ्नुपर्ने थियो । झन सम्बन्धित निकायले त एकदमै भित्रि हृदयकासाथ दरिलो अठोटका साथ यो विषयलाई लिएर अघि बढ्नुपर्ने थियो । के कती काम भए त्यो देखिने चिज नै हो । मलाई लाग्छ राम्रोसँग काम भएको भए यो ३ वर्षमा पुननिर्माण कम्प्लिट्ली सकिन्थ्यो नै होला ।
त्योभित्र धेरै प्रकारका राजनीति पनि भए होलान् । सरकारको आफ्नै नीति नियम, जसका कारणले पनि छिटोप्रक्रिया अन्तर्गत अघि बढ्न गाह्रो पनि भयो होला । म एउटा अभियान्ता भएका हिसावले ‘पाष्ट इज पाष्ट’ भन्छु । ३ वर्षमा जुन पकारको रिजल्ट आएको छ , अबको समयमा चाँही हामीजस्ता कयौं अभियान्ताहरु जो यसमा सक्रिय हुनुहुन्छ, हरेक नेपाली एक ढिक्का भएर अको वर्षभित्रै पुननिर्माण सक्ने गरी अघि बढौं । हामीले स्थायी सरकार पाएका छौं । अब सबै पक्षलाई अपील गर्दै अघि बढौं ।

कसरी छिटो गतिमा काम अघि बढाउन सकिएला त ?
अब सरकारले पुननिर्माणलाई छिटो अघि बढाउन पुननिर्माण मन्त्रालय गठन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले प्राधिकरणको एक्लो प्रयासका कारण पनि समस्या भएको हुन सछ । मन्त्रालय भयो भने पुननिर्माणका नीतिगत कुरामा मन्त्रालयले सहजीकरण गर्न सक्छ ।
मन्त्रालयले पहल लिएर इन्जिनियरर भोलिन्टियर खटाउनेदेखि विभिन्न समन्वायिक भूमिका निर्वाह गर्न सक्छ । त्यसैले भूकम्पबाट क्षति भएका संरचनामा मात्रै हैन, देशका विभिन्न भागमा बाढी, पहिरो र विपत्तिबाट क्षति भएका संरचनाको पुनर्निर्माणको काम गर्ने छुट्टै मन्त्रालयको आवश्यक्ता छ ।
अब पनि कति वर्ष पुनर्निर्माणकै लागि भनेर लगाउने । अहिले छाप्रोमा हावाहुरी खेपिरहेका पीडित वर्षा नजिकै आउँदा तनावमा छन् । त्यसैले पुननिर्माणलाई अघि बढाउन छुट्टै मन्त्रालय भयो भने सहज हुन्छ । मन्त्रालय भयो भने रिजल्टका लागि मन्त्रीले पनि लागि परेर काम गर्छन् । अन्तर निकाय समन्वय गर्ने र नागरिकलाई पुननिर्माणमा जोड्न यसले ठूलो भूमिका खेल्छ । प्राधिकरणले अभिभावकत्व पाएर तीव्र गतिकासाथ काम अघि बढाउन सक्छ ।