भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

समयले सबैलाई ‘हिरो’ बन्ने अवसर दिन्छ । तर, सही समयमा सही खालको निर्णय गर्न सक्नेले मात्रै त्यस्तो सौभाग्य प्राप्त गर्छन् । हामी फिल्मको हिरोको कुरा गर्दै छैनौं, त्यस्तो हिरोको यहाँ कुरा गर्दैछौं, जसले सेवाका माध्यमबाटै जनताको मन जिते र असली जननायक बने । हो ति ‘हिरो’ हुन्, धुर्मुस–सुन्तली दम्पत्ति ।

यो जोडीले भूकम्पपछिको ३ वर्षमा ४ वटा नमुना बस्तीको निर्माण गरे । उनीहरुले काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा भूकम्प तथा बाढीपीतिका विपन्न परिकारका लागि एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरे । त्यो पनि आफैंले घोषणा गरेको टाइम फ्रेम भित्रै । उनीहरुले बनाएका पहरी, गिरानचौर, मुसहर र सन्तपुर वस्ती हेर्न मात्रै पनि अहिले दैनिक सयौं पर्यटक पुग्छन् । जनताको जीविकालाई पनि जोड्दै बनेका वस्ती नेपालको पुनर्निर्माणको क्षेत्रका नमुना हुन् । त्यसैले पनि ती वस्तीका नागरिकले धुर्मुस सुन्तलीलाई ‘भगवान’कै संज्ञा दिएका छन् ।

यि वस्तीको निर्माणमा धुर्मुस सुन्तली फाउन्डेशनमार्फत उनीहरु आफैं खटिएका थिए । त्यसका लागि देश–विदेशका नेपालीले उनीहरुको अभियानलाई सघाए । उनीहरुले जसरी काम गरे, त्यसबाट सरकारमाथि पनि दबाव बन्यो । तर, धुर्मुस सुन्तलीले देखाएको एकीकृत वस्तीको बाटोमा सरकार हिँडेन् । अरुले पनि त्यसमा काम गर्न सकेनन् । यो जोडीको प्रयासमा बनेका वस्तीको उद्घाटनमा सरकारी अधिकारी गमक्क पर्दै पुगे । लामै भाषण लगाए । तर, धुर्मुस सुन्तलीले बनाएको वस्ती हामी पनि बनाउँछौं भन्न सकेनन् । भूकम्पपछि सबैले पुनर्निर्माणलाई एउटा समयले दिएको स्वर्णीम अवसर भनेका थिए । तर, त्यो अवसर सदुपयोग गर्न सरकार चुक्यो । अरु पनि चुके । तर, धुर्मुस सुन्तली त्यसमा लागिरहे । उनीहरुले धेरै विपन्नलाई घर दिएर मात्रै गुन लगाएनन् । देशलाई नै पुनर्निर्माणमा लैजान सकिने ‘मोडल’ देखाए ।
यही पुनर्निर्माणको काममा नै भूकम्पपछिका तीन वर्ष बिते धुर्मुस सुन्तलीको । उनीहरु यसबीचमा आफ्नो नियमित कलाकारिताको कर्ममा पनि त्यती सहभागी हुन सकेनन् । आफ्ना बाचा पुरा गर्ने अठोटमा प्रतिवद्ध रहेने यो जोडीको पुनर्निर्माण सपनालाई धेरैले महत्वकांक्षी पनि नभनेका होइनन् । उनीहरुकै समकक्षी कलाकरले पनि उनको आलोचना नगरेका होइनन् । तर, उनीहरु कति पनि बिचलित भएनन् । भूकम्प आउनुअघिसम्म उनीहरु सबैका लागि मेरीबास्सैको ‘धुर्मुस–सुन्तली’ थिए । तर, उनीहरुको परिचय अहिले फिल्म क्षेत्रको भन्दा बढी पुनर्निर्माण अभियान्ताका रुपमा उचाइमा छ । अहिले उनीहरु नेपालमै पहिलो सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि दौडधुप गरिरहेका छन् । उनको यो अभियानमा सिंगो देश नै साथमा छ ।

 

२०७२ वैशाख १२ गते मध्यान्हमा देशले ठूलो महाविपत्ति भोग्यो । ठूलो जनधनको क्षति भयो । हजारौं पूर्वाधार र सम्पदासँगै १० लाख घर ढले । त्यो समयमा यो जोडी नेपाल थिएन । कार्यक्रमको सिलसिलामा धुर्मुस सुन्तली अमेरिका थिए । देशका लाखौं जनताका पीडामा थिए । उनीहरु पनि भूकम्पलगत्तै त्यहाँको कार्यक्रम स्थगित गरेर स्वदेश फर्किए । त्यतिबेलासम्म राहत लिएर कलाकारहरु गाउँ–गाउँ पुगिसकेका थिए । धुर्मुस सुन्तली ढिला भए । तर, उनीहरु पनि रोकिएनन् । आफ्नो फाउन्डेसनमार्फत राहत लिएर गाउँ–गाउँ पुगे । त्यही क्रममा उनीहरुले यो महाविनास भोगेका विपन्न जनताका लागि केही गर्ने सोच बनाए ।
त्यसैअनुरुप उनीहरुले काभ्रेमा पहिलो नमुना बस्ती निर्माणका लागि सहयोगको अपील गरे । आफैं काममा खटिए । वस्ती तोकिएकै समयमा बनाएर हस्तान्तरण गरिएपछि धुर्मुस–सुन्तलीलाई देशभरबाट आफ्नो गाउँ–ठाउँमा पनि नमुना बस्ती बनाउन अपीलहरु आए । तर, उनीहरु सीमित स्रोतका कारण सबै स्थानमा पुग्न सक्ने कुरै थिएन । त्यसैकारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओहरुलाई उनीहरुले एकीकृत वस्तीहरुमै लगेका थिए । राष्ट्रपतिले नै उनीहरुले बनाएका वस्ती उद्घाटन गरिन् । तर, सरकारले भने उनीहरुले गरेको योजनावद्ध वस्ती विकासको कुनै योजना र कार्यक्रम ल्याएन ।सरकारका तर्फबाट पहल र प्रयास भएर एउटा पनि बस्ती बनेनन् । पुनर्निर्माण्को काम सुस्त नै रह्यो र छ । अहिलेसम्म पनि पुनर्निर्माणको काम कछुवाकै गतिमा छ । एक लाख घर मुस्किलले बनेका छन् । अझै ९ लाख घरहरु उठ्न बाँकी नै छ ।

पुनर्निर्माणका अभियान्ता तथा कलाकार सिताराम कट्टेल धुमर्सले सरकारले जिम्मेवारी दिए पुननिर्माणको नेतृत्व गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले आफूहरु अहिले सरकारको पुननिर्माणका दूतका रुपमा सचेतना फैलाउने काम गरिरहेको भन्दै अधिकारसहित सरकारले पुनर्निर्माणका लागि कुनैपनि जिम्मेवारी दिए पुरा गर्न पछि नहट्ने बताए ।
केही दिन अघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको अहिलेको काम चित्तबुझ्दो नभएको भन्दै सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई पुननिर्माणको जिम्मा दिनुपर्ने बताएका थिए ।
भूकम्प गएको ३ वर्ष पुगेको दिन यसबारे मेरोफिल्मसँग कुरा गर्दै धुर्मुसले आफूहरु सरकारले दिने जुनसकै जिम्मेवारी पुरा गर्न तयार रहेको बताए ।

उनीसँगको कुराकानीको सम्पादित अंशः–

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धुर्मुस सुन्तलीलाई नै पुनर्निर्माण्को जिम्म दिऔं भनेर सार्वजनिक रुपमा प्रस्ताव गर्नुभएको छ । यसमा तपाईंको धारणा के छ ?
सर्वप्रथम माधवकुमार नेपाललाई धन्यवाद । जसले हामीलाई योग्य ठानेर धुमर्स–सुन्तलीलाई पुनर्निर्माणको जिम्मा दिनुपर्यो भन्ने सार्वजनिक अभिव्यक्ति दिनुभयो । हामी गर्न नसक्ने पनि होइन । गरेरै देखाएको पनि हो । स्रोत र साधन हरेक नेपाली दाजुभाई दिदीबहिनीबाट जुटाएर सरकारकै समन्वयमा हामीले यि काम गरेका हौं । सरकारबाट टाढा रहेर गरेका पनि हैनौं । हाम्रा हरेर अभियान सरकारलाई सघाउने अभियान नै हुन् । र, सरकारले नै त्यो जिम्मेवारी धुर्मुस सुन्तलीलाई दिँदाखेरि छिटो रिजल्ट आउँछ र पुनर्निर्माण हुन्छ भन्ने हिसावमा योग्य ठहराएर हामीलाई जिम्मेवारी दियो भने सहर्ष स्वीकार्दै गर्न नसक्ने पनि हैनौं । किनभने पुननिर्माण सम्बन्धी कसरी छिटो काम गर्ने, समाज कसरी जोड्नुपर्छ, कसरी पीडितहरुलाई छिटोभन्दा छिटो घर बनाउन इन्करेज गर्नुपर्छ भन्ने आइडिया हामीसँग छ । हामीले ४ वटा बस्ती निर्माण गरिसकेकका छौं, हरेक नेपालीको सर्पोटका कारणले । यो घडीमा सबै महानुभावलाई सम्झन चाहान्छु जसको कारणले यति दरिलो भएर हामी जवाफ दिन सकिरहेका छौं ।
पुनर्निर्माणबारे यसरी हामी तिनै सहयोगी महानुभावका कारण बोल्न सकिरहेका छौं । त्यसैले सबैको इच्छा चाहानामा सरकारले हामीलाई दिने जुनसकै जिम्मेवारी दिँदा पनि सहर्ष स्वीकार्दै अघि बढ्छौं । हामी सरकारको पुनर्निर्माण दूत पनि भएका हिसावले सबैलाई छिटो गर्नुपर्छ है भन्ने सचेतना दिँदै अघि बढ्दै गर्दा सरकारले अधिकारसहितको कुनै जिम्मेवारी दियो भने त्यो पुरा गर्न सक्छौं ।

भूकम्पछि देश नै विक्षिप्त अवस्थामा पुगेका बेला तपाईंहरु नयाँ सोच र ऊर्जाका साथ आउनुभयो । कसरी यो अभियानमा आउनुपर्छ भन्ने लाग्यो ?
भुईचाँलो गएपछि हामी राहत र उद्धारमा खटिँदा निकै काहलीलाग्दो अवस्था थियो । हामीसँग योजना पनि थिएन कि यति वृहत हिसावमा वस्ती निर्माण गर्दै अघि बढ्छौं भन्ने ।
त्यतिबेला मनमा के खेलिरहेको थियो भने एकीकृत वस्ती विकासबाहेक अरु कुनै छिटो पुननिर्माणको प्रक्रिया नै हुन सक्दैन । भुईंचालोले विनास त भयो तर सँगै बिकासको मूल फुटाउने ठूलो अवसर दिएको हो । र यो अवसरलाई आत्मसात गर्दै हामी अघि बढ्यौं । ३ वर्षमा ४ वटा वस्ती बनाउँदा हामीलाई निकै धेरै चुनौती थियो । तर, कहिले पनि बिक्षिप्त नभइकन, आफ्नो स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबै पीडितहरुको भावनालाई सम्बोधन गर्नेगरी काम गर्दै गर्दा धेरै शारीरिक, मानसिक टर्चर भोग्यौं । तर, सबैको आशिर्वादले हामीले यत्तिको काम गर्न सक्यौं ।
सबैले भूकम्पपछि यसलाई राष्ट्र निर्माणको अवसर भनेका थिए । तर, अहिलेसम्म धेरै पीडित छाप्रोमै रहे । व्यववस्थित वस्ती विकासको काम नै भएन, किन होला ?
यो एउटा राष्ट्र निर्माण गर्ने अवसर हो । अब विपद्ले जोखिम ल्याउने र त्यसको सामना गर्न निकै गाह्रो हुने रहेछ भन्ने ज्ञान सबैलाई दियो । त्यसैले सबै लोभ–लालच, डाहा, इर्श्या सबै त्यागेर राष्ट्रिय एकता र सद्भावका लागि एकजुट भएर लाग्नुपर्ने रहेछ है भन्ने सन्देश प्रवाह पनि गरेको थियो, भूकम्पले ।
त्यो चिजलाई आत्मसात गरेर अघि बढ्नुपर्ने थियो । झन सम्बन्धित निकायले त एकदमै भित्रि हृदयकासाथ दरिलो अठोटका साथ यो विषयलाई लिएर अघि बढ्नुपर्ने थियो । के कती काम भए त्यो देखिने चिज नै हो । मलाई लाग्छ राम्रोसँग काम भएको भए यो ३ वर्षमा पुननिर्माण कम्प्लिट्ली सकिन्थ्यो नै होला ।
त्योभित्र धेरै प्रकारका राजनीति पनि भए होलान् । सरकारको आफ्नै नीति नियम, जसका कारणले पनि छिटोप्रक्रिया अन्तर्गत अघि बढ्न गाह्रो पनि भयो होला । म एउटा अभियान्ता भएका हिसावले ‘पाष्ट इज पाष्ट’ भन्छु । ३ वर्षमा जुन पकारको रिजल्ट आएको छ , अबको समयमा चाँही हामीजस्ता कयौं अभियान्ताहरु जो यसमा सक्रिय हुनुहुन्छ, हरेक नेपाली एक ढिक्का भएर अको वर्षभित्रै पुननिर्माण सक्ने गरी अघि बढौं । हामीले स्थायी सरकार पाएका छौं । अब सबै पक्षलाई अपील गर्दै अघि बढौं ।
कसरी छिटो गतिमा काम अघि बढाउन सकिएला त ?
अब सरकारले पुननिर्माणलाई छिटो अघि बढाउन पुननिर्माण मन्त्रालय गठन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले प्राधिकरणको एक्लो प्रयासका कारण पनि समस्या भएको हुन सछ । मन्त्रालय भयो भने पुननिर्माणका नीतिगत कुरामा मन्त्रालयले सहजीकरण गर्न सक्छ ।
मन्त्रालयले पहल लिएर इन्जिनियरर भोलिन्टियर खटाउनेदेखि विभिन्न समन्वायिक भूमिका निर्वाह गर्न सक्छ । त्यसैले भूकम्पबाट क्षति भएका संरचनामा मात्रै हैन, देशका विभिन्न भागमा बाढी, पहिरो र विपत्तिबाट क्षति भएका संरचनाको पुनर्निर्माणको काम गर्ने छुट्टै मन्त्रालयको आवश्यक्ता छ ।
अब पनि कति वर्ष पुनर्निर्माणकै लागि भनेर लगाउने । अहिले छाप्रोमा हावाहुरी खेपिरहेका पीडित वर्षा नजिकै आउँदा तनावमा छन् । त्यसैले पुननिर्माणलाई अघि बढाउन छुट्टै मन्त्रालय भयो भने सहज हुन्छ । मन्त्रालय भयो भने रिजल्टका लागि मन्त्रीले पनि लागि परेर काम गर्छन् । अन्तर निकाय समन्वय गर्ने र नागरिकलाई पुननिर्माणमा जोड्न यसले ठूलो भूमिका खेल्छ । प्राधिकरणले अभिभावकत्व पाएर तीव्र गतिकासाथ काम अघि बढाउन सक्छ ।