सम्झनामा महाभुकम्प

२०७२ बैशाख १२ गते मध्यान्हमा देशले ठूलो महाविपत्ति भोग्यो । ठूलो जनधनको क्षति भयो । हजारौं पूर्वाधार र सम्पदासँगै १० लाख घर ढले । त्यो समयमा जो कोहीका लागि पनि पिडादायी थियो र अझै छ । कतिले आफन्त गुमाए, कतिले घरबार गुमाए । आज बैशाख १२, महाभुकम्प गएको तीन बर्ष पुरा भएको छ । त्यही सन्दर्भमा हामीले कलाकर्मीको सम्झनामा महाभुकम्प र त्यसपछीको पुन निर्माण सम्बन्धमा केही जिज्ञासा राखेका थियौँ :
नायिका झरना थापा 

त्यो दिन सम्झँदा नराम्रो लाग्छ । अझै पनि डर झस्किन्छु बेला बेला त्यो दिन सम्झेर । म मात्र होइन हामी सारा नेपालीलाई झस्काउँछ जस्तो लाग्छ मलाई । त्यो दिनले देशलाई नै रुहाएर गएको छ । त्यो दिन त बितेर गयो तर त्यसले लगाएको घाऊमा अझै मलम पट्टी लगाउन सकिएको छैन । पुननिर्माणका काम अझै हुन सकेको छैन । ढलेका घर धुरी अझै उठ्न सकेका छैनन । हाम्रा सांस्कृतिक धरोहरहरु अझै जो भूकम्पको कारण ध्वस्त भएका थिए तिनको पुननिर्माणमा खास्सै सरकारको ध्यान पुगेको छैन जस्तो लाग्छ ।

नायिका  केकी अधिकारी

भूकम्प आउँदा म सुतिरहेको थिएँ । विहान ६ बजे सुटिङ सकाएर घर आएको थिएँ। त्यो दिन सम्झँदा आज पनि डर लाग्छ । त्यो दिन जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । त्यो दिन धेरै नेपाली दाजुभाई दिदीबहिनीको ज्यान गयो । धेरै जना घाइते र अंगभंग हुनुभयो । लाखौंको घरबास नै उठ्यो । हामी सबै एकपटक शोक र पीडामामा पर्यौँ । हाम्रा धेरै सम्पदाहरु पनि ध्वस्त भयो । तर, अहिलेसम्म पनि धेरै पीडितहरुले घर बनाउन सक्नु भएको छैन ।
ढलेका सम्पदा उठेका छैनन् । सरकारले यसमा गम्भिर भएर काम गर्नुपर्ने हो । के–कति कारणले ढिलाइ भइरहेको छ थाहा छैन । तर, यति सुस्त ढंगले काम गर्दा पीडितलाई समस्या परेको छ । हाम्रा धरोहरहरु पनि समयमै बनाउनुपर्ने हो । सरकारले काम गरिरहेको होला । अझ छिटो गरोस् भन्ने नै हामी सबैको चाहना हो ।

नायिका ऋचा शर्मा

भूकम्प सम्झिँदा आज पनि जीउ काँप्छ । अति डरलाग्दो दिन थियो शनिबार भएकाले रिल्याक्सको मुडमा थिएँ । म अमेरिकामा दिदीसँग भाइबरमा गफ गर्दै थिएँ। मेरो हात एक्कासी काम्यो । के भएको भनेर बुझ्नै सकिँन । मज्जाले हल्लायो । त्यसपछि हजुरामालाई सम्झिँए। उहाँ बस्ने रुमको ढोका खोल्न पुँगे । तर, खुल्दै खुलेन । आत्तिएँ । बहिनी रुँदै कराउँदै मलाई अंगालो हाल्न आईपुगिन् । हामी तल झर्न खोज्यौं । खुट्टै ब्यालेन्स भएन । हामी रक्सी खाएको मान्छे जस्तै यताउता गर्दै झर्यौँ । हजुरामा पनि झर्नुभयो । हामीले ठूलो पीडा ब्यहोर्नु नपरेपनि त्यो दिनमा धेरै नेपालीले ठूलो विपत्ति भोग्नुभयो । तर, हामीलाई पशुपतिनाथले नै हात थाम्नु भएको होला । यति ठूलो भूकम्प आउँदा पनि काठमाडौंमा अनुमान जस्तो क्षति भएन । तर, गाउँगाउँमा धेरै समस्या भयो । म आफैं पनि राहात लिएर गाउँ–गाउँ पुगेँ ।
अहिले धेरै घरहरु बनाउन समस्या परेको सुन्छु । गाउँका मान्छेहरु सरकारलाई कुर्ने भन्ने हुँदैन । आफैंमा आत्मनिर्भर हुन्छन् । त्यसैले पनि होला धेरैले त हामी त्यहाँ पुग्दा नै माटो थुपारेर बस्ने थलो बनाउन लागिसक्नुभएको थियो । स्थायी आवासका लागि सरकारले अहिले पीडितलाई किस्ता–किस्तामा रकम दिन्छ । त्यसरी त के घर बन्थ्यो होला र ? अली छिटो हुने गरी सरकारले सघाए पीडिलाई राहत हुन्थ्यो ।

अभिनेता/निर्माता दीपक राज गिरी

सबैले आजको दिनलाई कालोदिनको रुपमा चित्रण गरेका छन तर म बैशाख १२ लाई कालो दिन भन्दा पनि हाम्रो शिक्षक हो भन्न चाहन्छु । हामीलाई धेरै कुर सिकाएर गएको छ यो दिनले । हामीमा चेतना ल्याएको छ । त्यो दिन हामी सबैले मृत्युलाई नजिकबाट देख्यौँ । करोडपति र रोडपति एकै ठाउँमा आइयो एउतै चाउचाउ बाँडेरा खाइयो । त्यसले हामीबीच बिध्यमान दुरीलाई केही हदसम्म घटाइदियो । पहिलेको हाम्रो बस्ने शैली मै यसले परिवर्तन ल्याइदियो ।
त्यो दिन मा गाडीमा थिएँ । गाडी बेजोडसँग हल्लियो कसले हल्लायो भनेर बाहिर निस्किँदा थाहा पाएँ भूकम्प गएको रहेछ । कति दिन त हामी संयुक्त रुपमा बास बस्यौँ । त्यो मेरो मात्र केस थिएन । सबै तिर त्यस्तै थियो । त्यसले मलाई लाग्छ भाईचाराको सम्बन्धलाई अझै बलियो बनाएको छ । जहाँसम्म भुकम्पपछीको पुननिर्माणको कुरा छ त्यो भने सुस्त छ । हाम्रो शान धरहरा अझै बन्न सकेको छैन । कति जनता अझैँ पनि पाल मुनि नै छन् । चिसोमा कठाङ्ग्रिएर कतिको जाडो बित्यो, सरकारले घर बनाउन दिने भनेको रकम वितरण अझैँ प्रभावकारी छैन त्यसले निराशता छाएको छ । हुन त दैवि प्रकोप पछी विकसित देशहरुमा पनि त्यति सजिलै पुननिर्माण सम्भब हुदैन । झन् त्यहाँ माथि हाम्रो देश जो अधिकाङ्श कुराहरुमा बिदेशीहरुसँग निर्भर छौँ, यहाँ छिटो हुने कुरै भएन । हाम्रो आफ्नै श्रोत र साधनको कमि छ । हामी परनिर्भर छौँ, बिदेशीको मुख ताक्ने बानी छ हाम्रो त्यसकारण पनि पुननिर्माण ढिला भैरहेको छ जस्तो लाग्छ मलाई ।