भिएफएक्समै फिल्मको आधा बजेट खर्च !

जेठ ११ बाट प्रदर्शनमा आउन लागेको फिल्म ब्ल्याकका निर्देशक प्रदिप श्रेष्ठले फिल्म छायाङ्कन भन्दा बढी भिएफएक्समा खर्च भएको बताएका छन् । फिल्म छायाङ्कन र सम्पादनको अनुभब सुनाउँदै उनले भने, ‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।’ उनका अनुसार फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएका छौँ ।

निर्देशक श्रेष्ठको कुरालाई पछिल्लो पटक रिलिज उक्त फिल्मको एक गीत ‘पल पल हरपल’मा समावेश भिएफएक्सको पाटोले पनि थप पुष्टि गर्छ ।
पछिल्लो समय विदेशि फिल्महरुमा हामीले देख्दै आएका छौँ, छायाँकन गर्न असम्भव तर पर्दामा प्राकृतिक देखिने दृश्य नेपाली फिल्ममा पनि प्रयोग गर्न र देखाउन सकिन्छ भनेरै केहि नविनतम प्रयोगलाई उच्च प्राथमिकतामा साथ ‘ब्ल्याक’मा जोड्न लागेका हौँ, श्रेष्ठले भने, ‘भिएफएक्सकै कारण छायाँकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो फिल्मको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ ।’ समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।

निर्देशक श्रेष्ठको कुरालाई सत्य मान्दा फिल्मबाट दर्शकले धेरै कुरा नयाँ देख्न पाउनेछन् । मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।