फिल्मलाई टाइम छैन, अनी भिडियो

अभिनेता पल शाहले फिल्म ‘शत्रु गते’ रिलिज भएपछि ३ महिना फिल्म नगर्ने बताए । यसको पछाडि उनले कारण पनि दिए । उनको कारण थियो, एक महिना त यहि फिल्मको प्रचारका लागि अझै दौडनु नै छ । हुनपनि हो, यो फिल्म चल्दा पल यति सस्ता भए कि, उनको इन्टरभ्यू नआएको त कुनै युटुब च्यानल नै थिएन होला । पल र आँचलले आफू सस्तिएको थाहा नै पाएनन् । फिल्म रिलिज भएपछि यसको क्रेडिट नपाएपनि पल र आँचलले दर्शकले मन पराउनुभएको छ भन्न छाडेनन् ।

पल र आँचल अहिले नै नयाँ फिल्म खेल्ने मुडमा छैनन् । सायद, ‘शत्रु गते’ रिलिजको बेला धेरै सस्तो हुँदा दर्शकमा कौतुहलता कम भएको वुझाई उनीहरुको होला । यसैले, फिल्मबाट ब्रेक लिएर केही महिना चुप बस्ने उनीहरुको सोचाई होला । तर, फिल्मबाट ब्रेक लिने भनेर पलले भनिरहँदा उनको म्यूजिक भिडियो यात्रा भने रोकिएको छैन । पल र आँचलको जोडी भिडियोबाट नै सस्तो बनिरहेको छ । भिडियोमा लमसममा काम गर्ने यो जोडी यता भने व्यस्त छ । फिल्मका लागि ब्रेक लिएका पल र आँचललाई म्यूजिक भिडियोको नशाले भने छाडेको छैन । आखिर, एक दिनको काम पैसा राम्रै आउँछ भनेपछि किन छाड्नु होइन त ?