दयाहाङलाई कथाले तान्छ कि पैसाले ?

अभिनेता दयाहाङ राइको प्राय एउटै जवाफ हुन्छ । मलाई यो फिल्मको कथाले तान्यो र काम गरे । फिल्मको कथाले तानेपछि मैले यो फिल्म छाड्न हुन्न भन्ने सोचे र गरे । दयाहाङ राइको यो जवाफ सुन्न थालिएको धेरै भैसक्यो । दया अहिले भारतको कालिम्पोङमा छन् । कालिम्पोङमा उनी फिल्म ‘आप्पा’को छायांकनका लागि पुगेका हुन् । उनले, यो फिल्म गर्नुको पछाडि आफूलाई कथाले नै तानेको कुरा उठाए । कथा मन परेपछि आफूले फिल्म छाड्न हुन्न भन्ने लागेको उनले प्रतिक्रिया दिए ।

दयाले यसो भनिरहँदा उनको यो कुरा दर्शकका लागि नौलो लाग्दैन । किनकी, दयाको बर्षमा दर्जन बढी फिल्म रिलिज हुन्छन् र दर्जन बढी फिल्मको उनी सुटिङ गर्छन् । सबै फिल्मको कथाले उनलाई तान्छ । फिल्म असफलताको संख्या बढेपनि उनलाई कुनै असर परेको छैन । उनलाई लिएर फिल्म बनाउन निर्माताहरुले कम गरेका छैनन् । आखिर, दयालाई फिल्मको कथाले तान्छ कि पैसाले ? होइन भने, कथाले तानेको बताउने कलाकारले बर्षमा बाह्र वटा फिल्म किन गर्छ ? कि, दर्जन फिल्मकै कथाले तानेको हो दयालाई ?