भ्रष्टाचारका समाचारले दुःखी हुन्छु – खगेन्द्र लामिछाने, लेखक/अभिनेता

उनी कथामा क्यारेक्टर कृयट गर्न निकै माहिर छन् । यथार्थमा आधारित भएर पात्र सिर्जना गर्दा उनी कहिले सिंगल व्यक्तिलाई कथामा जस्ताको तस्तै उभ्याउँछन् त कहिले एउटा क्यारेक्टरमा दुई-तीनजनाको क्यारेक्टर मिक्स गरेर नयाँ स्वभाव र चरित्रको पात्र खडा गर्छन् । चलचित्रमा नौला चरित्रमार्फत नयाँपन दिन खप्पिस भएकैले उनका फिल्ममा बेग्लै स्वाद भेटिन्छ ।
श्रीधर पौडेल – स्याङ्जाबाट सपनाको भारी बोकेर काठमाडौं छिरेका खगेन्द्र नेपाली चलचित्र जगतमा अब नौलो नाम रहेन । चलचित्र लेखन र अभिनयमा जमिसकेका उनका एकपछि अर्काे चलचित्र रिलिज भइरहेका छन् । उनको पछिल्लो यात्रा ‘डमरुको डण्डीबियो’ दर्शकको प्रतीक्षामा छ । काठमाडौ आउँदासम्म उनले सोचेका थिए – म राम्रो लेखक बन्न सक्छु, एक दिन अवश्य बन्नेछु । संघर्षका दौरान उनले लेख्न त छाडेनन् तर समयले उनको करिअरमा अनेक मोड ल्याइदियो । नाटक लेखन, अभिनय, साहित्य अध्ययन, लेखन हुँदै उनी चलचित्र क्षेत्रमा यसरी होमिए कि अब त उनलाई यो पहिचान मात्र होइन, नसा नै भइसक्यो । चलचित्र लेखनमा पात्र सिर्जना गर्नु सजिलो काम होइन । त्यसका लागि अनेक व्यक्तिका चरित्रको सूक्ष्म अनुसन्धान गर्नुपर्छ । ‘कहिलेकाहीँ एउटै मान्छेको क्यारेक्टरले काम दिन्छ तर कहिलेकाहीँ म जुन व्यक्तिको क्यारेक्टरबारे अध्ययन गरिरहेको हुन्छु, त्यो कम्प्लिट पाउँदिनँ अनि त्यसमा अरुको क्यारेक्टर मिक्स गरेर नयाँ खालको क्यारेक्टर सिर्जना गर्छु ।’ खगेन्द्रको फिल्ममा पाइने मौलिकपन यही प्रयासको प्रतिफल हो ।
अभिनय क्षेत्रमा खगेन्द्रको डेब्यु अनौठो भूमिकामा भयो । फिल्म खेल्ने तर अनुहार नदेखाउने । उनलाई जब यस्तो अवसर आयो, उनी यो गर्छु, त्यो गदिनँ भनेर डिमान्ड गर्ने हैसियतमा थिएनन् । अनुहार छोपेर अभिनय गरे । ‘नयाँ अनुभव हुन्छ भनेर त्यो भूमिका मैले एसेप्ट गरेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यो फिल्म चलेपछि भने चलचित्रमा मेरो अनुहारकै खोजी हुन थाल्यो ।’
पहिलो फिल्ममा अनुहार नै नेदेखिने रोल गरेकोमा उनलाई आफन्त र साथीहरुले के भने होलान् ? यो सोझो प्रश्नको उनले खासै सामना गर्नुपरेन । किनकि, उनी कहिल्यै साथीभाइ, आफन्त लिएर फिल्म हेर्न जाँदैनन् । यहाँसम्म कि श्रीमती र परिवारका सदस्यसम्म । ‘बुबाले तेरो डमरुको डण्डीबियो हेरौंला भन्नुभएको छ, मैले भाइलाई भनेर ट्याक्सीमा जानेआउने व्यवस्था मिलाइदिउँला भनेको छु,’ खगेन्द्रको यो आफ्नै स्वभाव हो । अनुहार छोपेर खेलेको पहिलो फिल्म चलेपछि भने उनलाई अनुहार देखाउने काममा पनि खोज्न थालियो, सफलता पनि मिल्दै गयो । दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ सुरुमा खगेन्द्रले लेखेको नाटक थियो । अनुप बरालले निर्देशन गरे । खुब मनपराइयो । सुरुमा आफैं खेले पनि डिडिसीमा जागिर भएपछि खेल्न भ्याएनन् । अहिलेको समयसँग जोडिएको त्यो अद्भूत क्यारेक्टरले उनलाई पछ्याइरह्यो । ‘आफू खेल्ने लोभले मैले टलकजंग टुल्केको कथा बनाएँ,’ उनले सम्झिए, ‘त्यो रियल बेस क्यारेक्टर बनाउन मैले निकै मिहिनेत गरेको थिएँ ।
खगेन्द्रको गाउँमा एक जना नारायण लामिछाने भन्ने दाइ हुनुहुँदोरहेछ, एकदम झडंग रिसाइहाल्ने स्वभावका । बजार निस्क्यो भने एक जनासँग झगडा नगरी नफर्कने । उनले त्यही देखिरहेको क्यारेक्टरलाई टुल्केमा मिसाए । ‘केही चरित्र मेरो पनि मिसाएँ,’ खगेन्द्रको सम्झना छ, ‘अलि बढी इमोसनल मान्छे छु म, देख्दा अत्यन्तै कडा तर भित्र त्यति नै कमलो । टुल्केको अनेस्टी इनोसेन्स क्यारेक्टर एक हिसाबले मसँग जोडिन्छ ।’
टुल्केको कथा तयार भयो । चरित्र आफैंले बुझेको र क्रियट गरेको, अभिनयमा उनलाई खासै समस्या भएन । ‘मैले गरेका क्यारेक्टरहरुमध्ये सबैभन्दा मजा आएको थियो त्यो,’ उनले सुनाए ।
अर्काे उनको मन पराइएको काम हो– पशुपति प्रसाद । ‘जब मैले स्क्रिप्ट लेख्न थालेँ, पशुपति मन्दिर धेरै पटक गएँ, धेरै रातिसम्म बसेको छु,’ खगेन्द्रले पशुपति प्रसाद कथाको रचनागर्भ सुनाउँदै भने, ‘सुरुमा दीपेन्द्रजीले एक लाइन कन्सेप्ट सुनाउनुभएको थियो, त्यही एक लाइन युज गरेर कथा लेखेँ ।’ भस्मे, हनुमान सबै क्यारेक्टर उनले पछि अनुसन्धान गरेर सिर्जना गरेका थिए । बाहिरबाट काठमाडौँ आउने हरेक मान्छे एउटा सपना बोकेर आएको हुन्छ । यहाँ भारी बोक्न आउनेको पनि आफ्नै सपना हुन्छ । दिनहुँ पशुपति मन्दिर पुग्ने पात्रहरु पनि त्यहाँ सपना बोकेर गएका हुन्छन् । बस् यत्ति हो, पशुपति प्रसादको रचना गर्भ । यसैलाई इलाब्रेट गरेर, अनेक क्यारेक्टर जोडेर उनले जीवन्त कथा बनाए ।
‘त्यसमा एउटा मारबाडी क्यारेक्टर पनि थियो, स्वच्छ मनले हरेक दिन पशुपति पुगेर लड्डु बाँड्ने,’ उनले फिल्म सुटिङका क्रममा त्यो पात्र छुटाएकोमा पछुतो गरे, ‘फिल्म लामो हुन्छ भनेर हटायौं, त्यो पात्रको याद अहिले पनि आउँछ ।’
पशुपतिमा रियल हनुमान चरित्र भेटेरै उनले यो पात्र उभ्याएका थिए फिल्ममा । जुन खुब मन पराइयो । सुटिङका दौरान ती रियल क्यारेक्टर श्रीमती बिरामी परेर जनकपुर गएका थिए रे । अनि उनले नक्कली हनुमान बनाए । ‘उहाँसँग भेट भएको छैन, तर पछि भेटेँ भने यो कुरा गर्छु,’ उनको अधुरो सपना छ ।
‘धनपति’ मा मोजमस्तीले आर्थिक रुपमा कंगाल बनेका ठकुरी काजीहरुलाई उतारे । ‘मेरो गाउँतिर पनि पहिलाको राज खलकबारे सुनेको थिएँ,’ उनले सुनाए, ‘त्यही क्यारेक्टर सम्झेर कथा लेखेँ, दीपेन्द्रजी ले हेरेर फिल्म बन्छ भन्नुभयो । त्यसपछि मधेसमा एडप्ट भइसकेको तराईको क्यारेक्टर राखेर स्क्रिप्ट लेखेँ ।’
‘डमरुको डन्डीबियो’ चाहिँ जितेन्द्रजी र बिनोद सरको कन्सेप्ट रहेछ । त्यसले पनि खगेन्द्रलाई तान्यो । नेपालको मौलिक खेल जसलाई नेपालीले बिर्सिदै गएका छन् । यसमा मौलिक फिल्म बन्छ भनेर उनी कन्भिन्स भए । ‘अर्कै ढंगले लेखौ भनेर लेख्न सुरु गरियो, पहिलो डण्डीबियो खेलेको त हो तर नियम थाहा थिएन,’ स्क्रिप्ट तयार पार्दै उनले हैरान खेपे, ‘यसको नियम खोज्दै डन्डीबियो संघ पुगियो, उहाँहरुले हामीलाई २० दिनजति डण्डीबियो टे«निङ दिएर सबै नियम राम्ररी बुझाइदिनुभयो ।’
उनी जहिले पनि फिल्ममा नयाँ क्यारेक्टर खोज्छन् । ‘जय भोले’ मा पनि उनको भिन्नै भूमिका छ । मौलिक फिल्ममा उनी जम्दै गएका छन् ।
अहिलेको व्यस्त फिल्मकर्मी खगेन्द्रको दैनिक कस्तो छ त ? भन्छन्, ‘म हार्ड एक्सरसाइज गर्दिनँ । टाइम मिल्नासाथ १० किलोमिटर हिँड्छु । सर्ट टाइमका लागि जिम जान्छु ।’ उनी बिहान उठ्नेबित्तिकै पत्रपत्रिका पढ्छन् । राजनीतिक अपडेट लिन्छन् । भ्रष्टाचारका समाचारले उनी जति दुःखी हुन्छन्, गाउँमा एउटा पुल बनेको समाचारले उत्तिकै खुसी बनाउँछ । ‘मलाइ राजनीतिप्रति एकदम इन्ट्रेस्ट लाग्छ । समाजका कुरा थाहा भएन भने म कमजोर हुन्छु होला अभिनेताका हिसाबले पनि भन्ने लाग्छ ।’ नेताहरुसँग भलाकुसारी गरिरहन्छन् । राजनीतिप्रति आशावादी छन् उनी, ‘चाहेजति परिवर्तन एकैचोटि हुँदैन,’ भन्छन्, ‘बिस्तारै भइरहेको छ ।’ नेताहरु फिल्म हेर्न आउँछन् भन्ने उनलाई विश्वासै लाग्दैन । आएकाहरु पनि बढाइचढाइ बोल्छन्, जुन उनलाई मन पर्दैन ।
खगेन्द्रको मूल कर्म लेखन हो । उनी प्राय केही लेखिरहन्छन् । दिनको एक पेज लेख्दा पनि खुब आनन्द आउँछ उनलाई । त्यसबाहेक फुर्सदमा अंग्रेजी आर्ट मुभीसँग रमाउँछन् । नाटक हेर्न जान्छन् ।
देशबारे सोच्छन् । धेरै कुरा बिग्रेको छ । उनी सकारात्मक पनि छन् । ‘सबै मिलेर देश बनाउनुपर्छ, एकदिन अवश्य बन्छ,’ खगेन्द्रको आत्मविश्वास छ ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया