फिल्मको आलोचना डाइभर्ट गर्न मिलनको ‘प्रदिप अस्त्र’

- मेराेफिल्म

आफ्नै फिल्मको हिरोको कुनै निर्देशकले यति धेरै आलोचना र खेदो खनेको यस अगाडि देखिएको थिएन । तर, अहिले निर्देशक मिलन चाम्स आफ्नै फिल्म ‘लिलिबिली’का अभिनेता प्रदिप खड्काको खेदो खन्न व्यस्त छन् । प्रदिपले आफ्नो बानी सुधार गर्नुपर्ने, उसले कुरा लगाउने बानी परिवर्तन गर्नुपर्ने, उससँग कहिले काम नगर्ने लगायतका कुरा लिदै मिलन मिडियामा बोलिरहेका छन् ।

अभिनेता प्रदिप खड्कासँग उनको असन्तुष्टी ठ्याक्कै के हो भन्ने उनले बोलेका छैनन् । मिलनले, प्रदिप मात्र होइन अभिनेत्री जसिता गुरुङको पनि आलोचना गरिरहेका छन् । मिलनको यो आलोचनाले अहिले मिडियामा राम्रो कभरेज त पाएको छ । तर, एउटा ध्रुवसत्य कुरा के हो भने मिलनले निर्देशन गरेको फिल्म ‘लिलिबिली’ले आलोचना भोग्दा प्रदिप र जसिताको भने प्रशंसा भयो ।
फिल्म चल्नुको हकदार मिलन भन्दा प्रदिप र जसिता बने ।
‘ब्लाइन्ड रक्स र ह्याप्पी डेज’ फ्लप हुँदा मिलनका लागि ‘लिलिबिली’ले राहत त दियो । तर, प्रदिप र जसिताका कारणले । फिल्म निर्देशनको मेसिन नै बनेका मिलनले आलोचनालाई डाइभर्ट गर्न ‘प्रदिप अस्त्र’ फ्याकेका त होइनन् ? प्रदिप र जसिताले पाइरहेको तारिफ पनि मिडियाबाट डाइभर्ट हुने, आफ्नो आलोचना पनि सेलाउने कारणले गर्दा उनी यतिबेला आफ्नै हिरोको यतिधेरै आलोचना त गरिरहेका छैनन् ? होइन भने, कुनै हिरोको बारेमा जती असन्तुष्टी भएपनि कुनै निर्देशकले पछि नै लागेर खेदो खनेको कमै मात्र देखिन्छ ।
यति सम्म कि उनले प्रदिप र जसिताको बिचमा प्रेम सम्बन्ध रहेको खबर समेत मिडियालाई दिन थालेको आसंका गरिएको छ । अर्को तिर फिल्म सोलिडोलीमा काम गर्न नमानेका कारण पनि मिलन प्रदिपसँग चिडिएको बुझिएको छ ।
कुनै समय उनै प्रदिप नेपालको सुपरस्टार भएको भन्दै मिलनले २२ लाख पारिश्रमिक दिए । अहिले, उनै प्रदिपको उनी नाम सुन्न चाहन्नन् । मिलनजी, भोली ‘प्रदिप अस्त्र’ आफैतिर सोझियो भने के गर्नुहुन्छ ?

२०७५ वैशाख १७ गते १४:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *