फिल्मी स्टारका छोराछोरीः कति सफल, कति असफल ?

फिल्म क्षेत्रमा स्थापित हुने रहर राख्नेको जमात ठूलै छ । ग्ल्यामरलाई अंगालेर सेलिब्रेटी बन्न चाहानेको लाइन यहाँ लामो छ । तर, फिल्म क्षेत्रमा आउन कुनै बाटो नै नपाएर शहरभरि भौतारिएकाहरु पनि प्रशस्तै छन् । फिल्म क्षेत्रमा डेब्युकै लागि निर्माता÷निर्देशकको दैलो चाहार्दा–चाहार्दै जुत्ता फटाउनेहरुको कथा त कसैले लेखेकै छैनन् । तर, कोही यति भाग्यमानी पनि छन् कि उनीहरुले फिल्ममा डेब्यु गर्न ठूलो मिहिनेत गर्नै परेन ।

आफ्ना बाबुआमा फिल्म क्षेत्रमा सक्रिय भएकै कारण धेरैले सजिलोसँग फिल्ममा ‘डेब्यु’ गरे । तर, फिल्म क्षेत्रले मिहिनेत नगर्नेलाई काखी च्यापरे राखिरहन पनि सक्दैन । त्यसैले होला यहाँ अधिकांश स्टारका छोराछोरी ‘फ्लप’ भए । कति बाबुआमाको भन्दा बढी सफलताको उचाइमा छन् । यसले चलचित्र क्षेत्रमा आउनुभन्दा बढी गाह्रो जम्नुमा नै छ भन्ने पुष्टी गर्छ । कतिले मिहिनेत गरे पनि सफलता पाउन सकेनन् । कतिले फिल्म क्षेत्रलाई अंगालिरहन नसक्ने देखेर बाहिरिए भने कति संघर्षरत नै छन् ।

को को छन् त ? फिल्म क्षेत्रमा जमेका र जम्न नसकेकका फिल्मकर्मीका छोरा–छोरी ?

अनमोल केसी

अनमोल अहिलेका सुपरस्टार । हुन त अनमोल आफ्नै बलबुतामा स्टार भएका हुन् । तर, उनलाई फिल्म क्षेत्रसम्म ल्याउने गोरेटो भने उनका बाबु भुवन केसी र आमा सुस्मिता बम्जनले नै देखाएका हुन् । होस्टलबाट ‘डेब्यु’ गरेका अनमोलले आधा दर्जन पनि चलचित्र खेलिसकेका छैनन् । तर, उनको चर्चा भुवन केसीकोभन्दा माथि राखेर गर्न थालिएको छ । अहिले छोरामाथि देखिएको ‘फ्यान फलोइङ’ देखेर स्वयम् भुवन पनि चकित छन् । फरक लुक्सका कारण उनलाई पछ्याउने मात्रै हैन उनीसँग अनस्किक्रन रोमान्स गर्न चाहाने स्थापित हिरोइनको लाइन नै छ । अहिले नेपाली चलचित्रमा सबैभन्दा बढी कसैको क्रेज छ भने अनमोलकै छ । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु सजिलै ५० लाखको बोली लगाउन तयार छन् ।
तर, सेलेक्टेड फिल्म मात्र गरिरहेका अनमोल आफ्नो साख खस्किने गरी दयहाङ राईको बाटोमा जाने पक्षमा छैनन् । अब अनमोलको बढ्दो साखलाई जोगाउन भुवन आफैं पनि सक्रिय छन् । अनमोलले स्टारको छोरा भएको घमण्ड पनि देखाएका छैनन् । फिल्मका लागि उनले गरेको मिहिनेत पछिल्लो चलचित्र ‘कृ’ मा पनि देखिएको छ ।

केकी अधिकारी

केकी अधिकारी आफैं आफ्नो पहिचान बनाएकी हिरोइन हुन् । तर उनी निर्देशक बद्री अधिकारीका छोरी हुन् भन्ने लुकेको कुरा होइन । उनले फिल्म क्षेत्रमा आउन बाबुको साहरा लिइन् कि लिइनन् भन्ने उनैलाई थाहा होला । तर, निर्देशक बद्री अधिकारीको छोरीका रुपमा नै उनले ‘स्वर’बाट डेब्यु गरेकी थिइन् । त्यतिबेला उनलाई प्रशन्न पौडेलले मौका दिएका थिए । अहिलेका चल्तीका हिरोइनमा केकीको नाम अग्रपंक्ति आउँछ । उनलाई फलो गर्ने फ्यानको संख्या सानो छैन । अहिले ‘कोहलपुर एक्सप्रेश’बाट निर्मात्रीका रुपमा डेब्यु गरेकी केकीले फिल्म क्षेत्रमा आएदेखि पछाडि फर्किएर हेनुपरेको छैन ।
दर्शकमाझ उनी सालिन स्वभावकी हिरोइनका रुपमा परिचित छिन् । अहिलेसम्म ठूलो विवादमा नमुछिएका कारण उनी उनलाई मन पराउने दर्शकको जमात ठूलै छ ।

सलोन बस्नेत

सलोन बस्नेत नेपाली फिल्म हेर्नेका लागि नयाँ नाम हैन । उनी बालकलाकरका रुपमा नै स्थापित थिए । निर्माता-निर्देशक शोभित बस्नेतका छोरा सलोनको चर्चा बाल्यकालदेखि नै भयो । ‘नेपाली बाबु’बाट बालकलारका रुपमा फिल्म क्षेत्रमा आएका सलोन अहिले नेपाली फिल्म क्षेत्रका चम्किला स्टार नै हुन् । कुनै समय फिल्ममा बालकलाकार पहिलो विकल्पका रुपमा थिए, सलोन । होस्टलबाट बालकलाकारको भूमिका छोड्दै उनी ‘नायक’का रुपमा आए । त्यही फिल्म उनको फिल्मी यात्राको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनले आफ्नो अभिनय क्षमतामाथि प्रश्न उठाउने ठाउँ अहिलेसम्म दिएका छैनन् । त्यसैले लगातार फिल्महरु हात पारिरहेका छन् । उनको पछिल्लो चलचित्र ‘बाबुकान्छा’ रिलिजको चरणमा छ । उनी नयाँ फिल्महरुमा पनि आवद्ध हुँदैछन् ।
सलोन पनि बाबुको साहारामा स्थापित हुने मुडमा देखिँदैनन् । तर, पनि फिल्म क्षेत्रमा दर्जनौं हिट फिल्म दिएका शोभितले छोरा सलोनलाई फिल्म क्षेत्रमा जम्न मार्गदर्शन गरिरहेका छैनन् भन्ने त पक्कै नहोला ।

रेमोनदास श्रेष्ठ

नेपाली फिल्म क्षेत्रमा संघर्षरत कलाकार हुन्, रेमोनदास श्रेष्ठ । उनी कलाकार मदनदास श्रेष्ठको छोरा हुन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । तर, रेमोनदासले आफूलाई जसरी कलाकारिता क्षत्रेमा स्थापित गर्दैछन्, त्यसमा पक्कै पनि मदनदासको भूमिका छैन भन्न नमिल्ला । रेमोनले ‘भिसा गर्ल’बाट डेब्यु गरे । उनले आधा लभ, कर्कस, मेघा लगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् । उनी फिल्म क्षेत्रमा आफ्नै पहिचान बनाउन संघर्ष गर्दैछन् । उनले ठूलो संख्यामा फ्यान र फलोअर्स नबटुले पनि अभिनयको तारिफ गर्नेहरु भने प्रशस्तै छन् । नाटकमा जमेका बाबु मदनदासको पदचाप पछ्याउँदै छन् रेमोन पनि । उनी विभिन्न टेलिभिजन रियालिटी शोमा पनि निर्णायकको भूमिकामा देखिँदैछन् ।
अभिनयलाई आधार बनाएर अघि बढेका रेमोनदासले अब भविष्यमा कुन ढंगले अघि बढ्लान् भन्ने प्रश्न भने कायमै छ ।

गौरब पहाडी

गौरब पाहाडी नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन कस्सिएर लागेका अर्का कलकार हुन् । चरित्र अभिनेता टिका पाहाडीका सुपुत्र गौरब अहिले कठीन प्रकारको फिल्मी यात्रामा छन् । मञ्जरी फिलमबाट डेब्यु गरेका गौरबले झण्डै आधा दर्जन फिल्म खेलिसकेका छन् । उनी फिल्म क्षेत्रमा आउँदा बाबुको हात समाते-समातेनन् उनैलाई थाहा होला । तर अहिले उनी बाबुको भन्दा अलग परिचय बनाएर फिल्म क्षेत्रमा जम्नका लागि संघर्ष गरिरहेका छन् । उनको अभिनय क्षमताका प्रशंसक धेरै छन् । उनले फिल्म क्षेत्रका आफ्नो पहिचान बनाउने गरी ‘ब्रेक–थ्रु’ पाइसकेका छैनन् ।
उनी लगातार मिहिनेत छन्, किनभने उनलाई पक्कै थाहा छ, यहाँ बाबुको नाम लिएर फिल्म पाउन सकिँदैन ।

संयम पुरी

संयम पुरी, नेपाली फिल्मको लागि बिल्कुलै नयाँ नाम होइन । ‘सायद’बाट डेब्यु गरेर चर्चा कममएका कलाकारको लिष्टमा उनको नाम अग्रपंक्तिमै आउँछ । उनी निर्माता-निर्देशक नारायण पुरीका छोरा हुन् । संयमले आफ्नो बाबुले अंगालेको फिल्म क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । डेब्युपछि उनले लगातार केही चलचित्र पाए । आभाष, पुन्टे परेड, ग्यांगस्टार ब्लुजमा उनी देखिए । तर, पहिलो फिल्ममा जस्तो अन्यमा राम्रो प्रतिक्रिया पाएनन् । त्यसैले पनि होला पछिल्लो समयमा उनले खासै फिल्म पाएका छैनन् । तर, अब आइसकेको फिल्म क्षेत्रलाई उनले छोडिहाल्लान् भन्ने मान्न सकिँदैन ।
पिताले रोजीरोटी बनाएको फिल्म क्षेत्रमा उनी हिरोका रुपमा जम्न प्रयासरत छन् । त्यसका लागि नारायणले बनाउने अब्बल फिल्म जस्तै संयमले पनि अब्बल अभिनय देखाउन जरुरी त छँदैछ ।

अनुभव रेग्मी

‘रिदम’बाट डेब्यु गरेका अनुभव रेग्मी अहिलेका चर्चित बालकलाकार हुन् । ‘नाइ नभन्नु ल’को सिरिजमा देखिँदै आएका अनुभव चरित्र अभिनेत्री कविता रेग्मीका सुपुत्र हुन् । अभिनयको कुसल क्षमताका कारण नै अनुभव फिल्म क्षत्रेमा स्थापित हुने क्रममा छन् । तर, उनलाई फिल्म क्षेत्रसम्म ल्याउन पक्कै पनि आमा कविताले पनि मिहिनेत गरेकी नै होलिन् । अनुभव पछिल्लोपटक ‘ए मेरो हजुर–२’मा देखिए । उनको जीवन्त प्रकारको अभिनयको प्रशंसकको संख्या ठूलो छ ।
अनुभव फिल्म क्षेत्रबाट तत्काल अलग हुन सक्लान् भन्ने देखिँदैनन् । किनभने बालकलाकारमा रुपमा अहिले उनी उत्कृष्ट विकल्प हुन् । उनले पनि सलोन बस्नेतको पदचाप पछ्याउलान् कि ?

अरुणीमा लम्साल

नायिका अरुणीमा लम्साल अहिले चलचित्र क्षेत्रबाट गुमनाम छिन् । कुनै समय अग्रपंक्तिकी हिरोइनकी रुपमा गनिएकी अरुणिमा अहिले पारिवारिक जीवनमै सीमित छिन् । उनी कलाकार भाबु लम्सालकी सुपुत्री हुन् भन्ने जानकारी कमैलाई होला । ‘यस्तै रहेछ जिन्दगी’बाट डेब्यु गरेकी अरुणिमाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी फिल्म क्षेत्रमा आमाको नामभन्दा अलग भएर पहिचान बनाउन सफल भएकी थिइन् । तर, एकाकएक उनले फिल्म क्षेत्रबाट बिश्राम लिएकी छिन् । कुनै समय धेरै प्रशंसक बटुलेकी अरुणिमालाई फेरि चलचित्र क्षेत्रमा फर्किन सहज भने छैन ।
उनले बिश्राम लिएपछि नेपाली फिल्म क्षेत्रले नयाँ मोडहरु लिएका छन् । ती मोडहरुलाई छिचोल्न सक्ने गरी अरुणीमा फर्केलिन् भन्नेमा विश्वास गर्ने आधार भने तत्कालै देखिँदैन ।

सज्जा मैनाली

कुनै समय फिल्म क्षेत्रमा निकै चर्चित नाम थियो, सज्जा मैनाली । नायिका सज्जा अहिले कहाँ के गर्दै छिन् भन्ने जानकारी उनकै परिवारलाई मात्रै छ । उनी चर्चित हास्य कलाकार गोपालराज मैनालीका छोरी हुन् । थुप्रै नेपाली फिल्ममा मुख्य भूमिकामा देखिएकी सज्जा अहिले यो क्षेत्रबाट पलायन भएकी छिन् । उनलाई अहिले पनि खोजी गर्ने दर्शक छँदैछन् । तर, सज्जा अब फेरि फिल्म क्षेत्रमा देखिने कुनै संकेत देखिँदैन । आफ्नो पारिवारिक जीवनलाई सम्हालेर बसेकी सज्जा कुनै समय नेपाली चलचित्रकी स्थापित नायिकाको सूचीमा नै थिइन् ।किन उनले फिल्म क्षेत्रलाई छाड्नि, त्यो सज्जालाई नै थाहा होला ।
अहिले यति भन्न सकिन्छ कि उनले पनि फिल्म क्षेत्रलाई दिएको योगदानको स्मरण भने इतिहासले गरिरहनेछ ।

नितेशराज पन्त

नितेशराज पन्त, यो नाम पनि फिल्म क्षेत्रमा आएर हराएको अर्को परिचय हो । कलाकार तथा निर्देशक सन्तोष पन्तका भतिज नितेश अहिले फिल्म क्षेत्रभन्दा अलग भएर बसेका छन् । केही चलचित्रमा नितेशले काम गरे । तर, सफल रुपमा परिचत हुन सकेनन् । सायद उनलाई सन्तोषको भतिजका रुपमा मात्रै जबरजस्ती फिल्म क्षेत्रमा स्थापित हुनु पनि थिएन । त्यसैले उनले फिल्म क्षेत्रबाट हात धोए । नितेश फेरि फिल्म क्षेत्रेमा आउलान् भन्नेमा कमैलाई विश्वास छ ।
तर, सन्तोषले ठूलो मिहिनेत गरेको यो क्षेत्रलाई उनले चटक्कै माया मार्लान् भन्ने पनि छैन ।

राज आचार्य

‘तितो सत्य’बाट बालकाकारका रुपमा पहिचान बनाएका राज अहिले फिल्म क्षेत्रबाट बिश्राममा छन् । नायकका रुपमा एउटा चलचित्र गरेपछि उनी दोस्रो चलचित्रमा झुल्किएका छैनन् । राज पक्कै पनि फिल्म क्षेत्रमा विशेष योजनाका साथ फर्किनेछन् । किनभने उनका बाबु शंकर आचार्य अझै पनि यही क्षेत्रमा मिहिनेत गरिरहेका छन् । टेलिचलचित्र ‘तितोसत्य’बाट चर्चित भएका राजले आफूलाई फेरि फिल्म क्षेत्रमा स्थापित गर्ने गरी कमब्याक गर्लान् भन्ने विश्वास गर्न सकिन्छ ।

यी बाहेक पनि धेरै कलाकारका छोराछोरी फिल्म क्षेत्रमा आए । धेरै त स्थापित हुन नसकेरै पलायन भए । केही अझै पनि घिसीपिटी संघर्ष गर्दैछन् । निर्माता-निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मीले ‘सो सिम्पल’ मा डेब्यु गरेकी थिइन् । त्यसपछि उनी अर्को फिल्ममा देखिएकी छैनन् । निर्माता शेखर कोइराला छोरा भावना रेग्मी सन्जोग कोइराला पनि फिल्म क्षेत्रमा संघर्षरत छन् । साथी, परदेश लगायतका फिल्ममा बालकलाकारका रुपमा अभिनय गरेका उनले उत्सव, बाजीगर, एउटा यस्तो प्रेम काहानी, कथा काठमाडौंमा आफ्नो कला देखाइसकेका छन् । कलाकार सुशिला रायमाझीकी छोरी स्वस्तिका रायमाझी, राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी पनि फिल्म क्षेत्रमा आएर पनि जम्न नसकेको नाम हो । अहिले मौसमी मल्लका छोरा बिक्की मल्ल, जयकिसन बस्नेतकी छोरी जान्वी बस्नेत, मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ लगायतका कलाकार पनि आफ्ना अभिभावकले अंगालेकै क्षेत्रमा जम्ने अभिलाषाका साथ संर्षरत छन् ।
तर, उनीहरुको भाग्य र भविष्यको फैसला बाबुआमाको नामले भन्दा बढी उनीहरुकै लगनशीलता र परिश्रमले नै गर्नेछ ।
फोटो – सम्बन्धित ब्यक्तीको फेसबुक तथा मेरोफिल्म आर्काइभ
सम्पादक : सच्याइएको