कालिदास र केकी

- मेराेफिल्म

दिपेन्द्र घिमिरे – संस्कृत साहित्यका महाकवि कालिदासको एउटा बिम्ब नेपाली समाजमा खुबै लोकप्रिय छ । यो बिम्ब हो, कालीदास आफू बसेको हाँगो आफैं काट्थे । कालिदास यसो किन गर्थै भने उनलाई अरु केहीको पर्वाह थिएन, सिर्फ उनलाई दाउरा चाहिएको थियो । उनलाई जतिसक्दो धेरै दाउरा जम्मा गर्ने धुनमात्रै थियो । ‘कोहलपुर एक्सप्रेस’ हेरिसकेपछि निर्माता केकी अधिकारी ‘कालिदास’ जस्तै लाग्छिन् । उनको पनि धुन पैसा बटुल्नमा मात्र केन्द्रित देखिन्छ । उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ आलोचनाको केन्द्रमा छ ।

तर, महत्वपूर्ण कुरा के भने ‘कोहलपुर एक्सप्रेस’ बलिउडको कपी गर्ने पहिलो फिल्म होइन । नेपाली फिल्मको इतिहासमा बलिउडबाट कपी भएका सयौं चलचित्र छन् । जसलाई निर्माता-निर्देशकले ‘कपी’ भन्न अस्वीकार गरे पनि ‘प्रभावित भएको’ भन्ने गरेका छन् ।
हुन त बलिउडमा पनि सयौं चलचित्र हलिउडबाट कपी भएका छन् । तर, प्रायः कपी गरिएका फिल्मको सफलताको रेकर्ड राम्रो छैन । प्रायः असफल नै छन् ।
नेपाली फिल्म उद्योगले पनि यो खालको रोग वर्षौं खेप्यो । स्थापित निर्माता र निर्देशकहरुले नै विदेशी फिल्मबाट कथावस्तु कपी गरेर फिल्म बनाउने गरेकै हुन् ।  नेपालमा कुनै समय निकै हिट भएका फिल्ममा पनि बलिउडका फिल्मसँग मिल्दोजुलो कथावस्तु भेटिन्थे । राजेश हमाल र भुवन केसीहरुले अभिनय गरेका दर्जनौं फिल्ममाथि पनि नक्कलको आरोप लागकै हुन् । अहिले केकीले पनि त्यही दोहोर्याइन । पुरानो समयमा विदेशी फिलमको कथावस्तु चोरिनुलाई दर्शकले पनि सामान्य रुपमा स्वीकार गर्थे । किनभने प्रायः फिल्महरु कपी भएर नै बन्थे । दर्शकका लागि ति फिल्मका विकल्पहरु थिएनन् । हिन्दी र अंग्रेजी भाषा नबुझ्नेहरुका लागि यो कुनै आलोचना गर्नुपर्ने विषय नै बन्थेन । त्यसैले अधिकांश दर्शकको जिब्रोमा कपी भएका चलचित्रै स्वाद बसेको थियो ।

तर, जमाना फेरियो । अब कपी गरिएका फिल्मलाई बजारमा कुनै ठाउँ दिन दर्शक तयार छैनन् । नेपाली फिल्महरुको फेरिएको ट्रयाकलाई अब दर्शकले पनि पछ्याएका छन् । फिल्म उद्योगमा विदेशी सिनेमा कपी गर्नेको रोग विस्तारै घट्दै गएको छ । पछिल्लो समयमा नेपाली फिल्म उद्योगमा मौलिक कथावस्तु प्रस्तुत गर्ने होडबाजी चलिहरेको छ । अहिले नेपाली दर्शकको जिब्रोमा आफ्नै गाउँठाउँका कथा बुनिएका फिल्मको मसलाको स्वाद बसेको छ । कतैबाट कपी गरिएको मात्रै हैन, प्रभावित भएको फिल्मलाई पनि दर्शकले टिक्न दिने अवस्था छैन । तर, केही अझै पनि मौलिकतालाई भन्दा कपी गर्नेमै ध्यान किन दिइरहेका छन् भन्ने प्रश्नको जवाफ तीनै कपीवालासँग मात्रै छ । मुख्यरुपमा निश्चल बस्नेतले ‘लुट’ बाट परिवर्तन गरिदिएको फिल्मको मौलिक धारलाई धेरै चलचित्रले आत्मसात गरे । विस्तारै फिल्महरु नेपाली परिवेशलाई समेट्न प्रयासरत देखिन्छन् । कति त्यसमा सफल छन्, कति असफल ।
नेपाली मौलिक विषयमा बनेका चलचित्रले मात्रै अहिले ओस्कार अवार्डका लागि नोमिनेट हुने अवसर पाउनुले पनि यो ट्रेन्डलाई सही ठहर्याइरहेको छ । नेपाली गाउँघर र शहरका कथाहरु बुन्दै नेपाली परिवेशका पात्रहरुलाई फिल्मभित्र ल्याएर नौला किसिमबाट प्रस्तुत गर्ने प्रयासहरु भइरहेका छन् । चलचित्रभित्र मौलिकताको पाटो नहराओस् भनेर गाउँघरमा गाइने मौलिक लोकगीत पनि समावेश गर्ने ट्रेन्ड मौलाएर गएको छ । यसले चलचित्रलाई मौलिक बनाउन सबैमाथि प्रेरणा र दबाव दुबै परिरहेको नै छ । यस्तो अवस्थामा पनि अझै फिल्म उद्योगले बलिउडबाट जस्ताको तस्तै कथा र पात्रहरु फिल्ममा उतार्नु एउटा हदसम्मको मुर्खता नै मान्नुपर्छ ।

अहिले विश्व सूचना प्रविधिका कारण निकै साँघुरिएको छ । हिजोको सन्दर्भमा कपी गरिएका फिल्मबारे दर्शकहरु अनभिज्ञ हुने अवस्था पनि थियो । तर, अहिले विश्वका जुनसुकै देश र भाषाका चलचित्रहरु कपी गरिए पनि दर्शकहरुले पत्ता लगाउन सक्ने अवस्था छ । फिल्मको कथाको कुरा छाडौं, कुनै एउटा सिनलाई कपी गर्दा पनि फिल्मकर्मी उम्कन पाउने अवस्था छैन अहिले । अब पनि दर्शकलाई उल्लु नै बनाउने सोचका साथ फिल्महरु कपी गर्न थालियो भने त्यसको मूल्य फिल्मको निर्माता-निर्देशकले नै चुकाउनुपर्छ ।
थप अर्को पाटो, अहिले कलाकारहरु आफूले राम्रो कथावस्तु नपाएका कारण ‘यति वटा फिल्म रिजेक्ट गरेँ’ भनेर मिडियाबाजी गरिरहेका हुन्छन् । यदि साँचो हो भने त्यसको जयजयकार नै गर्नुपर्छ ।फिल्ममा निर्माता निर्देशक गौण हुन्छन् । पर्दामा देखिने कलाकार नै हुन् । फिल्मको सफलता र असफलताले उचाइ बढाउने या घटाउने कलाकारको नै हो । यस्तो अवस्थामा सीधासीधी कपी गरिएका फिल्मका स्क्रिप्ट स्वीकारेर कलाकारहरु किन आत्मदहन गरिरहेका छन् भन्ने प्रश्न पनि उब्जन्छ ।
‘कोहलपुर एक्सप्रेस’को पछिल्लो विवादमा नायिका ऋचा शर्मा पनि मुछिएकी छिन् । उनी नेपाली फिल्ममा सशक्त अभिनय गर्ने र छानेर मात्रै फिल्म गर्ने नायिकाको रुपमा चिनिन्छन् । तर, उनले पनि मुम्बईबाट कवाडमा बिक्री भएर नेपाल छिरेको ‘कोलपुर एक्सप्रेस’को बोर्डमा आएको थोत्रो बस किन चढ्नि भन्ने प्रश्न उनी आफैंले आफैंलाई गरिरहेकी होलिन् । केकीसँगको मित्रतालाई निभाउन मात्रै उनले फिल्म गरेकी हुन् भने त्यो उनकै निजी पाटो भयो । तर, सार्वजनिक व्यक्तित्व बनिसकेका कलाकारले आफैंलाई हानी हुने गरी यस्तो ‘कपीकर्म’लाई समर्थन गर्दै काम गर्नु पनि एउटा मुर्खता नै हो भन्न सकिन्छ । प्रियंकाको हकमा भने यो कुनै नौलो विषय बन्न सक्दैन । किनभने अहिले उनी फिल्म खेल्ने मात्रै हुन्, सफल हुने-नहुने पक्ष त उनले भगवानको हातमा छाडिदिएकी छिन् ।
हिजो हलसम्म पुग्दा दर्शकले गर्ने आशा मनोरञ्जन मात्रै हुन्थ्यो । सूचना प्रविधिले विश्वलाई एकै बास्केटभित्र ल्याइपुर्याउँदा अहिलेका दर्शकको अपेक्षा फराकिलो बन्दै गएको छ ।

दर्शक सानातिना खालका खुराकले अघाउने अवस्था छैन । मनोरञ्जनकै लागि हल पुगका दर्शकले पनि फिल्म हेरिसकेपछि यसबाट मैले के सिकेँ, मेरो समाजले के नयाँ कुरा पायो र मेरा कलाकारले के नयाँ गरे भन्ने प्रश्न गर्छ । यदि त्यसको उत्तर उसले पाएन भने भरपुर मनोरञ्जन पाएको विषयलाई दर्शकले कुनै मूल्य दिँदैन । किनभने अहिले मनोरञ्जनका लागि अनेकन विकल्पहरु तयार छन् । हिजोजस्तो सीमित फिल्महरु हेर्नुपर्ने र विकल्पहरु नपाइने अवस्था छैन । फिल्मलाई विशुद्ध मनोरञ्जन मात्रै भन्न नसकिने अवस्थाले अब फिल्मकर्मीमाथि चुनौती थपिएका छन् । फिल्मको कथावस्तु, प्रस्तुति, सम्पादन, गीत संगीतलाई सुक्ष्म रुपमा विश्लेषण गर्न सक्ने जमात ठूलो छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले युवापुस्ता थप सचेत छन् । त्यसैले पुराना ढर्राका फिल्म बनाउनेहरुको भविष्य अब उज्यालो छैन । निर्माता, हिरो र निर्देशक बन्नका लागि मात्रै फिल्म बनाउनेहरुलाई रिलिजकै दिनमा ‘नोट अफ डिसेन्ट’ लेख्नेहरुको जमात ठूलो छ ।
महत्वपूर्ण अर्को कुरा पनि छ, अहिले फिल्म चल्न महंगो प्रचारबाजी र फन्डाले मात्रै काम गर्दैन । कुनै समय आफ्ना फिल्म चल्नुअघि एउटा विवाद सिर्जना गरेर दर्शकलाई हलसम्म तान्ने जुक्तिले पनि राम्रै काम गथ्र्यो । रेखा थापाले त्यसलाई राम्रै प्रयोगसहित पुष्टि गरिदिएकी थिइन् । तर, अब त्यो स्वीकार्य छैन, खाना बोकेर घर–घर पुगेकी केकीले त्यसलाई पक्कै बुझिन् होला । अहिले फिल्म चल्न ‘माउथ पब्लिसिटी’को नै जरुरी पर्छ । पहिलो शो हेर्ने दर्शकले दोस्रो शोमा जाने तयारी गरेको दर्शकलाई ‘सिफारिस’ गर्नैपर्छ । अझ भनौं हेरेर फर्किएकासँग सुझाव लिएर मात्रै दोस्रो दर्शक टिकेट बुक गर्ने-नगर्ने निर्णय गर्छ ।
नयाँ धारहरु समात्दै गरेको नेपाली फिल्म उद्योगलाई अब हल्काफुल्का कथावस्तुले बोक्न सक्ने अवस्था छैन । अध्ययन र अनुसनधानसहितका मौलिक कथावस्तुलाई फिल्मभित्र हालिएन भने जतिसुकै अब्बल प्रस्तुति पनि फिका बन्ने अवस्था छ । यस्तो अवस्थामा पनि अझै दर्शक ‘पंगु’ बन्छन् भन्ने सोचले काम गर्न थाल्यो भने आफूले खनेको खाडलमा आफैं पर्नेछन् फिल्मकर्मी । किनभने प्राविधिक पाटोको ज्ञान नभएपनि दर्शकलाई थाहा छ, हलसम्म जान फिल्म चलेर मात्रै हुँदैन, फिल्मको चर्चा चुलिएको हुनुपर्छ । जुन फिल्म पहिलो शोबाटै आलोचित हुन्छ, त्यसका लागि पैसा र समय खर्चिन के जरुरी ?
अझ रमाइलो कुरा त के छ भने कोहलपुर एक्सप्रेस झैं केह दिनअघि ट्रेलर सार्वजनिक गरेको फिल्म ‘झमक बहादुर’ले पनि मुम्बई एक्सप्रेसलाई नै हुबहु नक्कल गर्दै फिल्म तयार गरेको छ । कोहलपुर एक्सप्रेसले बरु केही परिवर्तन गरेको थियो होला तर यसको त ट्रेलर नै हुबहु छ । यसले फेरि कालीदासकै ध्याउन्न स्मरण गराउँछ । कालीदासलाई जसरी हुन्छ दाउरा जम्मा गर्ने ध्याउन्न थियो । केकी र धेरै फिल्मकर्मीको पनि उद्देश्य त्यही देखिन्छ, जसरी हुन्छ पैसा कमाउने । चाहे त्यसका लागि बलिउडको फिल्म हुबहु नक्कल किन गर्न नपरोस् ?
यति थाहा हुँदा–हुँदै पनि निर्माताहरु विदेशी फिल्म कपी गर्ने होडमा लागे भने उनीहरुलाई राम–राम मात्रै भन्न सकिन्छ । यो प्रसंगमा कुरा गर्दै गर्दा सबैको मनका एउटा प्रश्न जन्मछ, दर्जनौँ फिल्म गरेकी निर्देशकपुत्री अध्ययनशील केकीलाई यति कुरा थाहा थिएन होला र ?
प्रष्ट देखिने कुरा, उनले ठूलो जोखिम उठाइन्, आफैं बसेको हाँगो काटिन् । यति भन्दै गर्दा सबैलाई थाहा छ, यस्तै कर्म गरेका कालीदास पछि गएर महाकवि बने । केकी पनि केही त बन्लिन् नि !

२०७५ जेठ २ गते १०:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *