प्रदिप जी, खै त आफूमा आत्मविश्वास

अभिनेता प्रदिप खड्का चलेका छन् । चलेका मात्र होइन, उनी बलेका पनि छन् । उनी बल्नुको पछाडि धेरै कुराले काम गरेका छन् । आफैले बनाएको स्केप फिल्म असफल भएपछि उनलाई सुदर्शन थापा जस्ता चल्तीका निर्देेशक र सन्तोष सेन जस्ता चल्तीका निर्माताले भित्राए । ‘प्रेमगीत’को गीतसंगीत, ब्यानर, निर्देशक, अभिनेत्री र प्रदिपले गर्दा फिल्म चल्यो । प्रदिप पनि चले । ‘प्रेमगीत २, लिलिबिली’सम्म आउँदा पनि प्रदिपलाई ब्यानर, गीतसंगीत, निर्देशक र सहकर्मी अभिनेत्रीले साथ दिएकै हुन् । अब, प्रदिप आफैले फिल्म हाक्ने क्षमता देखाउन सक्छन् ।

तर, प्रदिपमा अझै पनि त्यो आत्मविश्वासको कमी देखिएको छ । यसैले, उनको फिल्म छनोट आफू केन्द्रित भन्दा पनि सुरक्षित हुनेतर्फ केन्द्रित छ । फिल्म ‘रोजी’को अहिले चर्चा छ । यो फिल्मलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ भने निरक पौडेल यसका निर्देशक हुन् । यो फिल्ममा प्रदिपको जोडीको रुपमा नयाँ अभिनेत्री देखिइनन् । प्रदिपको जोडीको रुपमा फिल्म क्षेत्रमा आएर चर्चा पाइसकेकी परमिता आर एल राणा देखिदैछिन् । यो फिल्ममा प्रदिपले नयाँ अभिनेत्री जन्माउने हिम्मत गर्न सकेनन् । प्रदिप आफूलाई अभिनेता अनमोल केसीसँग पनि प्रतिस्पर्धा गराइरहेका छन् । अनमोलले छैटौ फिल्मसम्म आइपुग्दा कुनै पनि अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छैनन् । बरु, उनले भित्राएका अभिनेत्री स्टार बनिसकेका छन् । प्रदिप भने सुरक्षित कसरी भइन्छ भन्ने बाटोमा देखिएका छन् । यसैले, प्रदिपले अब आफूलाई नै शक्तिशाली बनाउनतर्फ लाग्ने कि, सबै कुराले पोख्त देखिएको फिल्ममा मात्र काम गर्ने ?