‘गोपी’बन्दै खगेन्द्र

‘डमरुको डण्डिबियो’ रिलिजको संघारमा खगेन्द्र लामिछानेको नयाँ फिल्म घोषणा भएको छ । ‘गोपी’ शीर्षकमा बन्न लागेको सिनेमाको बुधबार औपचारिक घोषणा गरिएको छ । फिल्मलाई ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।

लामाले फिल्ममा देशमै केही गर्न खोज्ने युवाको कथा समेटिने जानकारी गराए । ‘फिल्मले निजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका कथालाई प्रस्तुत गर्ने छ,’उनले भने, ‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि वर्तमान समयमा स्वदेशमै सपनाको खेति गर्ने युवामा यो फिल्म समर्पित रहनेछ ।’ उनले फिल्मको उद्देश्य मनोरञ्जनसँगै स्वावलम्बनमा विश्वास गर्ने युवालाई प्रेरित गर्नु पनि रहेको बताए ।

फिल्मलाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा मणिकर्ण केसीले निर्माण गर्न लागेका हुन् । फरक व्यवसायमा जमेका केसीले नेपाली फिल्म उद्योगलाई सच्चा उद्योगको रुपमा विकसित गर्नका लागि थोरै भए पनि होस्टे गर्ने उद्देश्यले फिल्म निर्माणमा आएको बताए । उनले भने, ‘नेपाली फिल्म उद्योग तिव्र विकासको चरणमा छ । यो उद्योग बनोस् भन्ने मेरो चाहना हो । गोपीको निर्माण यसैको पहिलो खुड्किलो हो ।’ फिल्मको कार्यकारी निर्माताको रुपमा श्रीधर पौडेल रहेका छन् । फोटो पत्रकारको रुपमा देशका सबै ठूला मिडिया हाउसमा फोटोग्राफीको अनुभव सँगालेका पौडेलले फिल्मको अधिकांश सुटिङ काठमाडौं र केही दृश्य तराईमा गर्ने जानकारी गराए ।

‘बधशाला’बाट अभिनयमा डेब्यु गरेका खगेन्द्र लामिछानेले त्यसयताका सबै फिल्ममा अभिनेतासँगै लेखकको पनि भूमिका निर्वाह गरेका छन् । आफूले लेखेबाहेकका फिल्ममा नदेखिने आरोप खेप्दै आएका खगेन्द्रले चित्त बुझ्दो स्क्रिृप्ट नपाएकाले आफैंले लेखेका फिल्ममा मात्र देखिँदै आएको बताए ।

‘ तर गोपीले यो क्रम भंग गरेको छ । यसमा म विशुद्ध अभिनेताको भूमिकामा मात्र देखिनेछु । राम्रो स्क्रिृप्ट पाएँ भने अरुको लेखनमा पनि खेल्न कुनै समस्या छैन । गोपी यसैको प्रमाण हो,’खगेन्द्रले भने । फिल्म ‘गोपी’को पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । उनले खगेन्द्रको आगमनले फिल्मको पटकथा थप बलियो हुने बताए ।

‘फिल्ममा तीन लेखक जम्मा भएका छौं । मैले यसलाई दबाबको रुपमा भन्दा पनि स्ट्रेन्थको रुपमा लिएको छु । एउटा स्तरीय सिनेमा दिने हाम्रो टिमको प्रयास रहनेछ,’ उनले भने ।  फिल्ममा सुरक्षा पन्त,अंकित खड्का र प्रकाश घिमिरे फाइनल भएका छन् भने बाँकी कलाकार छनोटको क्रममा रहेको निर्माण टिमले बतायो । शैलेन्द्र डी कार्की को छायांकन र निमेष श्रेष्ठको सम्पादन रहने फिल्म भदौ १ गतेबाट फ्लोरमा जानेछ ।