सोनमको संगीतको जिम्मा लिएकी कोरियोग्राफर फराह घाइते


बलिउड अभिनेत्री सोनम कपूर तथा व्यापारी आनन्द आहुजाको विवाहको मिति सार्वजनिक भएको छ । यस अघि सोनम र आनन्दको विवाह मितिबारे व्यापक चर्चा तथा अड्कलबाजी भएपनि अहिले भने यसको आधिकारिक जानकारी सार्वजनिक भएको हो । यही सार्वजनिकीसँगै सोनम र आनन्दले यहि मे ८ मा लगनगाँठो कस्ने पक्का भएको छ ।

विवाहको संगीत कार्यक्रम मे ७ मा हुने बताइएको छ । संगीतको तयारीमा सोनमको परिवार तथा साथीहरु जुटिसकेका छन् । तर संगीतकार्यक्रमको कोरियोग्राफीको जिम्मा सम्हालेकी फाराह खानको भने खुट्टा भाँचिएको छ । उनको खुट्टा एक टेलिभिजन कार्यक्रमको छायाँकनको क्रममा भाँचिएको हो । उनले इन्स्टाग्राममा भाँचिएको खुट्टाको तस्बिर शेयर गरेकी छिन् । त्यो कार्यक्रमको छायाँकंन सोमबार बिहान ९ बजेदेखि सुरु भई मंगलबार बिहान ३ बजे सकिएको थियो । उनी छायाँकंन सकेर भ्यानिटी भ्यानतर्फ जाँदा खुट्टा भाँचिएको बताइएको छ ।

खानका साथ प्रायः सँगै काम गर्ने कोरियोग्राफर गीता कपूरका अनुसार खानले सोनमको संगीत कार्यक्रमलाई अप्ठ्यारोमा पार्ने छैनन् । किनकी खानले यसअघि नै संगीत कार्यक्रमका लागि कोरियोग्राफीको काम सम्पन्न गरिसकेकी छिन् । अब रिहर्सलको काम मात्रै बाँकी रहेको छ । रिहर्सल खानले बसेरै निर्देशन गर्न सकिने छ ।