आइटम गीतः चर्चाको अस्त्र

सुष्मा कार्कीको नाम लिनासाथै धेरैले सम्झिहाल्छन् ,‘उध्रेको चोली..।’ एकाएक हिट भएपछि त्यतिबेला ‘लूट’ फिल्मको लागि गज्जवको प्रचार सामग्री भयो यो गीत । त्यसले सुष्माको लाकप्रियता पनि बढायो । आक्कल–झुक्कल मात्रै प्रयोग हुने आइटम गीतको प्रयोगलाई त्यसले फेरि निकै बढावा दियो । यसपछि धेरै फिल्महरुले आइटम गीतलाई फिल्म प्रचारको अस्त्र बनाउन खोजे । कति सफल भए, कति भएनन् । तर, आइटम गीतको बाढी भने निकै आयो ।

पछिल्लो समयमा आइटम गीतको क्रेज घटेको छ । तर, पनि फाट्टफुट्ट रुपमा फिल्ममा आइटम गीत राख्ने क्रम रोकिएको भने छैन । ‘पर्व’ फिल्ममा माला लिम्बु नाचेको ‘काले दाइ..’ बोलको गीत पछिल्लो पटकको सबैभन्दा बढी रुचाइएको आइटम नम्बर हो । आइटम नम्बरहरुको क्रेज घट्दो देखिए पनि धेरै नायिका र कलाकारका लागि एउटै आइटम गीत पनि आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ बनेका छन् । लुट २ को ‘ठमेल बजार…’ गीतमा कम्मर मर्काएकी एलिसा राईलाई नै हेरौं । दर्जर्नौं सर्ट फिल्म र भिडियोमा देखिएकी एलिसाको चर्चा यही गीतले उचाइमा लगिदियो । शून्य चर्चाबाट उनी एकाएक सबैको नजरमा पर्न सफल भइन् । उनले एउटै गीतबाट लाखौं फ्यान बटुलिन् । छोटो कपडामा कम्मर मर्काउँदा फाइदा एलिसालाई मात्रै भएन, लुट–२ ले यही गीतका आधारमा धेरै दर्शकलाई हलसम्म तान्यो । अहिले पनि यो गीत युट्युमा खोज्नेहरु छन्, हेर्नेहरु छन् । यो गीतमा देखिएपछि एलिसाले लगातार म्युजिक भिडियोहरु पाइन् । उनलाई अहिले पनि खोजेर गीतहरु हेर्ने दर्शककको संख्या कम छैन ।
माला लिम्बुलाई हेरौं । उनी हिरोनकै रुपमा वान–वे फिल्मबाट फिल्म क्षत्रेमा प्रबेश गरेकी हुन् । तर उनको पनि लोकप्रियताको हाइट उति माथि जान सकिरहेको थिएन । अहिले उनलाई एउटै गीतले धेरैमाझ चिनाइदिएको छ । ‘काले दाइ’ बोलको गीतमा निश्चल बस्नेतसँग कामुक नृत्य गरेकी मालाले फिल्मी करिअरमा अब यती भिउ पाउने गीत तत्कालै पाउने अपेक्षा कमैलाई छ । सायद गीतले यसरी बजार पिट्ला भन्ने अपेक्षा उनीसँग नै थिएन । तर, निश्चलललाई कालेदाई भन्दै नाच्दा उनले फिल्मी करिअरमै एउटा बोनस पाएकी छिन् । जसले माला लिम्बु को हो भनेर चिनाउनुर्दा ‘काले दाइ..’ गीत सम्झाइदिए पुग्ने भएको छ ।
कुनैकुनै अवस्थमा फिल्मका गीतहरु ट्रेलरभन्दा बढी रुचाइन्छ । ट्रेलर हेरेर भन्दा गीत हेरेर फिल्म हेर्न पुग्ने ददर्शको संख्या पनि कम छैन । ठूलो पर्दामा गीत हेर्न मात्रै भएपनि हलसम्म जानेहरु पनि छन् । केही कामुक दृश्य पनि समावेश गरिने भएकाले युवा पुस्ताले त्यसलाई सहजसँग ग्रहण गरिरहेका हुन्छन् । धेरै निर्देशक त्यही भ्रममा पनि जवरजस्ती आइटम नम्बरहरु फिल्म भित्र घुसाउँछन् । तर, सिर्जनात्मक भएन भने दर्शकलाई आइटमले मात्रै हलमा लैजान्छ भन्ने ग्यारेन्टी हुन्न । तर, आइटम गीत फिल्मको प्रचारका लागि भने बलियो हतियार बनिरहेको कुरामा कसैको दुईमत नहोला । आइटम नम्बरका गीत फास्ट बिटमा हुने भएकाले नृत्यका पारखीका लागि यो विशेष हुनै नै भयो । त्यसैले पनि थोरै रचनात्मक तवरले प्रस्तुत भएका आइटमहरु भाइरल हुन समय नलाग्ने तथ्य विगतले पटक–पटक देखाइसकेको छ ।

फिल्म ग्ल्यामरको क्षेत्र पनि हो । त्यसैले ग्ल्यामर झल्काउन पनि आइटम गीत नराखी हुँदैन भन्ने मान्यता कतिपय निर्माता-निर्देशककको छ । बजारमा के माग भइरहेको छ र के रुचाइँदैछ भन्ने कुरालाई ध्यानमा राखेरै होला, एक समयमा हरेक फिल्ममा आइटम गीत घुस्यो । तर, पछिल्लो समयमा लोक गीतले बजार पिटिरहेको छ । सबै निर्माता निर्देशक त्यसैमा हाम फालिरहेका छन् । दर्शक तान्न र फिल्मलाई रिलिज अगावै चर्चामा ल्याउन यो जरुरी पनि भइसक्यो ।
लोकगीत जस्तो, आइटम गीत नेपालको आफ्नै सिर्जना भने होइन । यो बलिउडबाट यता सरेको हो । बलिउडमा यस्ता गीतको प्रयोग निकै लामो समयदेखि भइरहेको छ । पछिल्लो समयमा पनि त्यसको प्रयोग रोकिएको छैन, बरु झांगिँदो छ । त्यही बलिउडबाट प्रभावित हुने नेपाली फिल्मकर्मीले नेपालमा पनि यसलाई भित्र्याएका हुन् । नेपालमा बन्ने आइटम गीतहरु प्राय: बलिउडबाट प्रभावित छन् । कितपय त हुबहु मिल्ने सम्म पनि छन् । बलिउडका चर्चित अइटम गीतका शब्द, संगीत, भाव, डान्स स्टेप, सेट र प्रिजेन्टेशनहरु एउटै खालका भएका धेरै नेपाली गीतहरु छन् । बलिउडकै नक्कल हुने कुरा नौलो पनि भएन । बलिउडबाट प्रभावित भएपनि नेपाली कोरियोग्राफरले केही नयाँ ढंगले प्रस्तुत गर्दा त्यसको आलोचना पनि कमै भएको पाइन्छ ।
आइटम गीतलाई दर्शकले पनि फूल इन्टरटेनमेन्टका रुपमा ग्रहण गरेकाले जवानीको उन्माद, मदिरा र सुन्दरीलाई समिश्रित गरेर प्रस्तुत गर्नु पुरानै शैली हो । यसले दर्शकलाई लोभ्याउने आशा फिल्मकर्मीको हुन्छ । यसका नकारात्मक पाटाहरुबारे बजारमा कम चर्चा भने हुँदैन । तर, पनि यसले नेपाली फिल्मले पनि आफ्नो क्षमता अभिवृद्धि गरेको प्रमाण दिने दावी निर्माता निर्देशकहरु गर्छन् ।
अहिले फिल्म क्षेत्रमा आइटम गीत पाउँदा ‘नाइँ’ भन्ने नायिका कमै छन् । यसको खास कारण पनि छ । पर्व फिल्ममा काले दाइमा नाच्दा माला लिम्बुले नम्रता श्रेष्ठलाई छाँयामा पारिदिइन् । लूटमा ‘उध्रेको चोली’ देखाउँदा सुष्माको चर्चा नायिका ऋचा शार्मको भन्दा माथि पुग्यो । अरु त्यस्ता धेरै फिल्म छन्, जसमा हिरोइनको भन्दा बढी चर्चा आइटम गीतमा नाच्नेको भयो । कसैले अपेक्षा नै नगरेकी नायिका नन्दिता केसी जंगबहादुरको कोटमा ‘आई निड योर लभ बेबी..’ मा नाच्नुले त्यसलाई पुष्टी गर्छ । नायिकाको मात्रै के कुरा, गायिका इन्दिरा जोशीले फन्को फिल्ममा ‘लोकल ब्युटी’ गीतमा कम्मर मर्काइन् ।

प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, मलिना जोशी लगायतका नायिकाले पनि आइटम गीतमा नाच्ने अवसर गुमाएनन् । नवनायिकाको रुपमा आएकी ऋषी धमला पत्नी एलिजा गौतम पनि दर्शकमाझ पहिलोपटकमै ‘कान्छा दाइ गना बजाइदेउन ..’ भन्दै डिस्कोमा देखिइन् ।यसरी कलाकारहरु पनि आइटम गीतमा नाच्न लालायित हुनुको कारण भने धेरै छन् । गीत हिट भएर चर्चा चुलिने लोभ मात्रै छैन, नायिकाहरुलाई । देश–विदेशमा जाँदा स्टेज शोहरुमा दर्शकलाई खास खुराक पस्किन यो सहयोगी बन्छ । स्टेशज शोहरुमा डान्सिङ नम्बरहरुकै बढी माग हुन्छ । मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा ‘वान्स मोर’ बटुल्न नायिकाहरुलाई आइटम नम्बर भन्दा ठूलो हतियार के हुन सक्ला ? त्यसैले पनि होला प्रशस्तै फिल्म पाइरहेका नायिका पनि आइटममा घुसेका छन् । रंगमञ्चबाट आएकी मेनुका प्रधानले पनि टलकजङ भर्सेस टुल्केको ‘नाच न मैया…’मा झुम्मिएका केटाहरुबीचमा नाचिन् ।
अहिले आइटम गीतहरुमा देखिने कलाकार थुप्रै छन् बजारमा । फिल्म चलाउन जरुरत देखेपछि कथाले नमागे पनि कुनै न कुनै रुपमा आइटम गीत घुसाउने प्रचलन छ । अरु गीतको भन्दा बढी भ्यु आउने भएकाले पनि बजारमा यस्ता गीत चर्चाकै विषयमा कायम रहन्छन् । फिल्म हलसम्म सुरुवातमा दर्शक पुर्याउन आइटम गीतहरुको खास भूमिका नै हुन्छ । पछिल्लो समयमा आइटम गीतहरुमा अश्लिता बढेको गुनासो गर्नेहरु पनि कम छैनन् । छोटा लुगा, यौनजन्य हाउभाउ, छाडा शब्द र असहज किसिमका नृत्यका कारण आइटम गीत कतिका लागि श्लिल लाग्दैनन् । झन पछिल्लो समयमा बढेको मदिराको मात र उन्माद झल्काउने प्रवृतिले आगामी पुस्ताका लागि राम्रो सन्देश नदिने तर्क गर्नेहरु पनि छन् । तर, कति यसलाई स्वभाविक भएको र स्वीकार्न सक्नुपर्ने बताउँछन् । तर, पारिवारिक फिल्महरुमा पनि आइटम गीत राख्ने प्रचलन बढ्दै गर्दा भने चिन्ता गर्नुपर्ने कतिपयको बुझाइ छ । यही बुझाइको बाहुल्यता कै कारण होला, पछिल्लो समयमा लोक गीत नै फिल्महरुमा बढी देखिन थालेको छ । जे भएपनि बलिउडबाट ल्याइएको आइटम गीतलाई केही मौलिकतासँग जोडेर नेपालीपनका साथ प्रस्तुत गर्न सके आइटम गीतको बजार सुकिहाल्दैन थियो कि ?