३ दर्शकमै दंग ‘भोर’ निर्देशक ?


फिल्म ‘झोला’ निर्देशन गरेपछि निर्देशक यादव भट्टराईमा आत्मबल थपियो । कारण यो फिल्मले ब्लकबस्टर ब्यापार मात्र गरेन, अन्तर्राष्ट्रिय अवार्ड पनि जित्यो ।
यसैले, उनले २ वर्ष अनुसन्धान नै गरेर तराइको मुख्य जड दाइजो प्रथाको कथा उठाए । यो फिल्मको कथा सामाजिक भएकाले पनि दर्शक ‘झोला’मा जसरी नै आउने उनको विश्वास थियो ।
तर, सधै दुध र भात खान कहाँ पाइन्छ ? कमसेकम दर्शकलाई हलमा फिल्म चलेको त जानकारी दिनुपर्छ । निर्देशक र उनको टिमले त्यति गर्ने जरुरी ठानेन । २ बर्ष दुःख गरेर फिल्म बनाउने तर फिल्म चल्ने बेलामा दर्शकलाई जानकारी दिन कञ्जुस्याँई गर्ने फिल्मीमेकरको रोग नै हो । फिल्म ‘भोर’ पनि त्यसकै चपेटामा परेको छ ।
शुक्रबार बिहान कुमारी हलमा ३ जना दर्शक फिल्म हेर्न आए । निर्देशक यादव भट्टराई ती ३ दर्शकसँग बसेर गफिए ।
फिल्मले देशभर नै निकै कमजोर सुरुवात गरेको छ । यादव भट्टराई ‘झोला’को जस्तो चर्चा र सफलता चाख्ने दाउमा थिए । तर, हलमा दर्शक नआएपछि उनी हलमा आएका २–३ जना दर्शकसँग गफिनमा नै दंग देखिएका छन् ।