१० गतेभित्र निर्मातासँग वार्ता गर्छौं

 चलचित्र संघले निर्माता संघको आन्दोलनको जवाफमा वार्ताबाट समस्या समाधान गर्ने भन्दै १० गतेभित्र वार्ता गरी समस्याको हल निकाल्ने जनाएको छ । शुक्रबार संघको अध्यक्ष प्रदिप उदयको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय वार्ता समिति गठन गर्दै वार्ता गर्ने जनाएको हो । संघको शुक्रबार बसेको बैठकले इ टिकेटिंग र बक्स अफिसलाई पनि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । यस सम्बन्धमा देखिएका कानुनी जटिलतालाई चलचित्र विकास बोर्डसँग पत्राचार गरी सुल्झाउने पनि संघले निर्णय गरेको छ । चलचित्र संघले सेयर बाँडफाँडका सम्बन्धमा पनि आफूहरु वैज्ञानिक सेयर बाँडफाँडको पक्षमा रहेको बताउँदै वार्ताका लागि सकारात्मक रहेको बताएको छ । वार्ताका लागि संघले भाष्कर ढुंगानालाई संयोजक तोक्दै वार्ता समिति गठन गरेको जनाएको छ । सदस्यमा नरेन्द्र महर्जन, गोपाल कायस्थ, त्रिरत्न मानन्धर र भरत अग्रवाल सदस्य रहेका छन् । संघले संयोजक तोकेका ढुंगाना भने बक्स अफिसको विपक्षमा देखिँदै आएका छन् । दुवै संघ बेलैमा वार्तामा नबस्दा वैशाख अन्तिम र जेठमा रिलिज हुने फिल्म भने अन्यौलमा परेका छन् । जेठका निर्मातामा फिल्म रिलिज गर्ने कि नगर्ने दुविधा रहेको छ ।