मोदी बिरुद्ध बोलेकै कारण प्रकाश राजले फिल्म पाउन छोडे


बलिउड तथा दक्षिण भारतका प्रभावशाली अभिनेता प्रकाश राज राजनीतिप्रति राम्रो सुझबुझ राख्ने कलाकारमा पर्छन् । यतिबेला उनलाई आफ्नो त्यही राजनीतिक सुझबुझ फिल्मी करिअरमा अवरोध बनिदिएको छ। राजनीतिक टिप्पणी कै कारण आफू बलिउडमा खाली हात बस्नुपरेको उनले खुलासा गरेका छन् । उनले फिल्म उद्योगमाथि आरोप लगाउँदै भारतको मोदी सरकार विरुद्ध कडा टिप्पणी गरेका थिए।

नेसनल अवार्ड विजेता यी कलाकारका अनुसार जबदेखि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका नीति र सरकार विरुद्ध बोल्न सुरु गरे, तबदेखि बलिउडले उनीसँग सम्बन्ध तोडे जस्तै नै भएको छ । उनले भने, ‘दक्षिण भारतीय फिल्म उद्योगसँग मलाई कुनै समस्या छैन । तर, जबदेखि मैले प्रश्न उठाउन थालेँ, तबदेखि हिन्दी फिल्म उद्योगबाट प्रस्ताव आउन बन्द भयो।’

गत वर्ष पत्रकार गौरी लंकेशको हत्याको घटनामा प्रधानमन्त्री मोदीको मौनताबारे प्रश्न गरेका कारण प्रकाश राज मिडियामा छाएका थिए । उनले भने, ‘म गौरीको हत्याको खबरदेखि एकदमै डिस्टर्ब भएँ, खासगरी दक्षिण भारतीय फिल्म उद्योगको रबैया देखेर । गौरी केवल प्रश्न सोधिरहेकी थिइन्। मलाई यो कुरा देखेर निकै नमज्जा महसुस हुन्छ, के उनको लडाइँमा हामीले उनलाई एक्लै छाडिदियौं ? मलाई जति चुप लगाउने कोसिस गरिन्छ, म झन् बढी सवाल उठाउँछु ।’ २०१७ को सेप्टेम्बरमा पत्रकार गौरी लंकेशको बेग्लोरस्थित उनको निवास बाहिर केही अज्ञात आक्रमणकारीले हत्या गरेका थिए।

प्रकाश राजले प्रधानमन्त्री मोदीलाई उनले गरेका केही प्रतिबद्धता पनि सम्झाएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको कुराबाट मानिसहरुलाई आशा थियो- देशमा २ करोड रोजगारी सिर्जना गरिन्छ, कालोधन देशमा फिर्ता ल्याइन्छ। तर, बितेका साढे तीन वर्ष त्यस्तो केही पनि भएन । उल्टै भाजपा (प्रधानमन्त्री मोदीको पार्टी) का नेताहरु बितेको समयका कुरा गर्छन्। उनीहरु नेहरुले के गरे वा टिपू सुल्तानले के गरे वा सनातन हिन्दु धर्मले के भन्छ भन्ने कुरा गर्छन् । म आफ्नै जिजुबाजेलाई त चिन्न सक्दिनँ, मलाई के मतलब टिपू सुल्तानले के गरेका थिए !’