हिरो बन्ने सपना अधुरै रह्यो – प्रदीप पौडेल, युवा नेता, नेपाली कांग्रेस

  प्रदीप पौडेल नेपाली राजनीतिका युवा सेलिब्रिटी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलसँग नेविसंघजस्तो जुझारु संगठनको नेतृत्व हाँकेको अनुभव मात्र छैन, भोलिको देश कस्तो हुनुपर्छ, भोलिको समाज कस्तो बनाउनुपर्छ र भोलिको राजनीति कसरी चल्छ भन्ने दूरदृष्टि र स्वर्णिम सपना पनि छ । त्यसैले उनीसँग नेपाली राजनीति र आम युवा वर्ग ठूलो आशा र अपेक्षा राख्दछ ।

राजनीतिमा पौडेलको कद जसरी अकासिँदैछ, जिउडालमा पनि उनी कम्ती ह्यान्डसम छैनन्, हेर्दै हिरोजस्ता । त्यसो त उनलाई हिरो बन्ने रहर नभएको होइन तर त्यतातिर धकेल्ने, तान्ने कोही भएन, टेक्ने जमिन राजनीतितिरै पाए र यतै रमाए । ‘फिल्म हेरेपछि म पनि हिरो बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, तीनचार दिनसम्म त्यही हिरोको रोलले दिमाग खाइरहन्थ्यो,’ प्रदीप भन्छन्, ‘पृष्ठभूमि र सहयोगी भएको भए सायद म हिरो बन्थेँ ।’ पौडेल अहिले पार्टीको पुनर्जागरण अभियानमा व्यस्त छन् । पार्टीलाई जनमुखी बनाउने युवाहरुको अभियानमा सक्रिय छन् । बैठकहरुमा खरो किसिमले प्रस्तुत हुन्छन्, नयाँ आइडोलोजीबाट निर्देशित हुन्छन् । उनको यो क्षमता र धरातल निर्माण त्यसै भएको होइन । उनी शिक्षकपुत्र हुन् । एउटा शिक्षकले आफ्नो सन्तानलाई कतिसम्म तिखार्न सक्छ, उनले त्यो अवसर पाएका थिए बाल्यकालमा । र, आज धारिलो छुराजस्ता भएका छन्, विचार, व्यक्तित्व, नेतृत्व क्षमता सबै हिसाबले । बाल्यकालमा उनलाई कुनै कुराको अभाव हुन दिएनन् शिक्षक पिताले । ‘एउटा मध्यम वर्गको सन्तानले पाउनेजति सबै पाएँ,’ उनी बाल्यकाल सम्झन्छन्, ‘पाठ्यपुस्तकबाहेक खेल सामग्री, अतिरिक्त ज्ञानका पुस्तक, बच्चा रमाउने सबै कुरा पुर्याइदिनुहुन्थ्यो बुबाले ।’ त्यसैले उनी स्कुलमा पनि, गाउँटोलमा पनि रोलमोडल बने । अरु झुम्राको बल खेल्थे, उनी रबरको । त्यसैले सबै उनीसँग नजिकिन चाहन्थे । ‘साथीहरुका अभिभावक पनि त्यही चाहनुहुन्थ्यो । क्लासमा मै फस्ट, सेकेन्ड हुने, सामग्री पनि मसँगै नौलानौला हुने, मसँग संगत गरे राम्रो बन्छ भन्ने सोच्नुहुन्थ्यो ।’
बुबा शिक्षक, आमा कृषक । प्रदीपलाई घरधन्दामा सघाउनुपर्ने बाध्यता त थिएन तर उनले रहरै रहरले दाउरा काट्ने, भैंसी चराउनेदेखि गोबर फाल्ने र दूध दुहुनेसम्म काम गरे बाल्यकालमा । परिवारमा संगीत, फिल्मप्रति रुचि राख्ने कोही थिएन । न गाउँमा फिल्म हल थियो । खैरेनीमा हल खुल्दा उनी काठमाडौं आइसकेका थिए । ०४३ सालतिर काठमाडौं आएपछि नै फिल्म, गीतसंगीतप्रति उनको मन लहसिन पायो । ‘नौ कक्षा पढ्न म काठमाडौं उक्लिएँ,’ उनी नोस्टाल्जिक भए, ‘बल्ल फिल्म, गीतसंगीतप्रति रुचि जाग्न थाल्यो, हप्ताको एक दिन विश्वज्योति सिनेमा हल जान थालेँ ।’

प्रदीपलाई सम्झना छ, उनले हेरेको पहिलो फिल्म ‘कान्छी’ हो । पछि ‘चिनो’ हेरे । चिनोले मन बुझायो, तीनपटकसम्म हेरे । ‘त्यतिबेला धेरै फिल्म बन्दैनथे, महिना, दुईतीन महिनासम्म एउटै फिल्म लाग्थ्यो, राम्रो लागे त्यही दोहोर्याई-तेहेर्याई हेर्थें,’ उनले सुनाए । सुरुसुरुमा उनी नेपाली फिल्म मात्र हेर्थे । किनकि हिन्दी बुझ्दैनथे । एसएलसीपछि हिन्दी फिल्म पनि हेर्न थाले । ‘साथीसंगतले गर्दा नहेरी भएन, सधैं हिन्दी फिल्मको कुरा हुने, नहेर्दा बहसमा भाग लिनै नपाइने,’ उनले सम्झिए, ‘अनि हेर्न थालें, बिस्तारै बुझ्न थालेँ । शिक्षासँगै हेर्ने र बुझ्ने क्षमता बढ्दै गयो । मास्टर्सपछि भने उनी अंग्रेजी फिल्मतिर पनि तानिए । ‘राजनीतिमा उपलब्धि हुने खालका सबै फिल्म हेर्छु,’ उनले सुनाए, ‘धेरै समय राजनीतिमै व्यस्त हुन्छु, फुर्सदमा मनोरञ्जन लिन हलसम्म पुग्छु ।’ पहिलेजस्तो फिल्म हेरिरहने उनलाई फुर्सद हुँदैन । पहिले त कुन फिल्म लाग्दैछ भन्ने हेर्न मात्र पनि सामाखुसीदेखि जमलसम्म आइपुग्थे । ब्यानर हेरेर फर्कन्थे र फिल्म हेर्ने दिन तय गर्थे । राम्रो भनेर सन्देश बाहिरिएका नेपाली फिल्म पनि छुटाउँदैनथे उनी । ‘बलिदान ब्ल्याकमा टिकट किनेर विश्वज्योतिमा हेरेको थिएँ,’ उनले सम्झिए, ‘सन्देशमूलक छ भने हिन्दी, नेपाली, इंग्लिस सबै हेर्छु ।’
नेपाली फिल्मको स्तर हिन्दीको जस्तो त छैन तर पहिलेभन्दा धेरै सुध्रेको उनले अनुभव गरेका छन् । तर त्यसमा सरकारको कत्ति योगदान नरहेको देख्दा दुःख लाग्छ उनलाई । ‘जति भएको छ, निजी क्षेत्रबाटै भएको छ, प्रतिफल प्राप्त हुन्छ, हुन्न निश्चित हुँदैन तैपनि जोखिम मोलेर, घरखेत बेचेर लगानी गर्नुभएको छ, राम्रो बनाउने प्रयास गर्नुभएको छ,’ उनले भने । बलिउडमा सरकारले फिल्म क्षेत्रलाई उठाउन ठूलो लगानी र उत्तिकै सहयोग गरेको उनले बुझेका छन् । तैपनि पहिलेभन्दा नेपाली फिल्मको स्तर उकासिँदै गएको, यो क्षेत्रले सामाजिक प्रतिष्ठा पाएको, दर्शक र बजार बढेको देख्दा उनलाई खुसी लाग्छ । ‘व्यक्तिगत प्रयासमा यति हुनु पनि धेरै ठूलो कुरा हो,’ भन्छन्, ‘यो भन्दा बढी अपेक्षा गर्न राज्य नै अघि सर्नुपर्छ ।’ पछिल्ला दिनमा उनले छक्कापञ्जा हेरे, शत्रुगते हेरे । उनी आशावादी यसकारण छन् कि नेपाली फिल्ममा पनि नयाँनयाँ कन्टेन्ट आउन थालेका छन्, सन्देशमूलक बन्न थालेका छन् । नलेज बढाउने विषय आइरहेका छन् । त्यसैले उनलाई अचले फुर्सद मिल्यो कि फिल्म हेर्न मन लाग्छ । भन्छन्, ‘हामी आफैंले पनि नेपाली फिल्मलाई स्पेस दिनुपर्छ । हेर्नुपर्छ, कमेन्ट गर्नुपर्छ ।’
प्रदीपले पहिलेका कलाकार सबैजसो चिनेका छन् । करिष्मा मानन्धर, सरोज खनाल, राजेश हमाल, सृष्टि केसी, साधना श्रेष्ठ आदी । अहिलेका भने सबै चिन्दैनन् । हरिवंश–मदनकृष्ण, दीपाश्री निरौला, दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी लगायतका अभिनयमा उनी खोट देख्दैनन् ।

फिल्म खेल्दाखेल्दै कतिपय कलाकार राजनीतिमा आएका छन्, सांसद भएका छन् । प्रदीपलाई पनि राजनीतिसँगै फिल्मी हिरो पनि बन्ने मन छ कि ? ‘अहिले त त्यस्तो छैन, पहिले थियो, जुन अधुरै रह्यो,’ उनले सम्झिए, ‘सबै कुरा हिरोमा फोकस हुने, न्याय दिने हिरो, समाजमा विद्रोह गर्ने हिरो, दुःखीलाई सहयोग गर्ने हिरो, खराबविरुद्ध लड्ने हिरो, परिवर्तन ल्याउने हिरो । यस्तो देख्दा मलाई पनि हिरो बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर त्यतिबेला मलाई त्यता लाग्न प्रेरित गर्ने पात्र भएन । फिल्म क्षेत्रका कसैसँग संगत थिएन ।’ अहिले पनि ‘सिंघम’ जस्ता फिल्म हेर्दा उनी जोशिन्छन् । फिल्मले समाज हाँक्न सक्छ भन्ने लाग्छ उनलाई । चाह्यो भने एउटा पुलिस अफिसरले समाजमा कति गर्न सक्छ भन्ने सन्देश सिंंघमले दिएको छ । ‘अहिले समाजमा राम्रो काम गर्ने इन्स्पेक्टरलाई पनि सिंघम भन्छन्, उनले भने, ‘फिल्म क्षेत्रले पनि समाजलाई परिवर्तनको प्रेरणा दिन सक्दोरहेछ ।’

नेपाली फिल्ममा जति लगानी छ, त्यति प्रतिफल छैन । प्रदीपलाई थाहा छ, एउटा ठूलै उद्योग खोल्ने लगानी एउटा फिल्म बनाउन गर्नुपर्छ तर उठ्ने नउठ्ने टुंगो हुँदैन । जोखिमअनुसार कमाउन सक्ने भएको लाग्दैन उनलाई यो क्षेत्र । ‘त्यत्रो लगानी जोखिममा राखिएको हुन्छ, जसले क्रियसन गर्छ, त्यो त महान हो नि ?’ उनी भन्छन्, ‘एउटा इन्जिनियरले एउटा नक्सा कोरेको लाखौं लिन्छ तर एउटा फिल्मको कल्पना गर्ने मान्छेले एउटा हल बिग मुभीको नक्सा बनाउनेले जति पनि कमाउँदैन ।’ दुई लाख ५० हजारभन्दा बढीले रोजगारी पाएको यो क्षेत्रलाई उकास्न सरकारले हेर्नुपर्ने उनको ठहर छ । ‘यो क्षेत्र पनि राजनीतिभित्र पर्नुपर्छ, मूल्य निर्धारण हुनुपर्छ । यसको विकासको एजेन्डा आउनुपर्छ । राज्यले सकारात्मक रुपमा हेर्नुपर्छ र प्राथमिकतामा राख्नुपर्छ ।’ नेपाली कला–संस्कृति लोप हुँदै गएकोमा प्रदीपलाई चिन्ता छ । फिल्म क्षेत्र कला र संस्कृतिसँग जोडिएकाले पनि राज्यले यसमार्फत कला संस्कृति जोगाउनुपर्ने उनको राय छ ।
प्रदीप भावक स्वभावका युवा हुन् । सेन्टिमेन्टल गीत खुब मन पर्छ उनलाई । ‘म गीतभित्र शब्द खोज्छु, भाव खोज्छु, त्यसलाई गहिरिएर स्पर्श गर्न खोज्छु,’ उनी भन्छन्, ‘कति गीतले मलाई रुवाएका छन् । आफू कुन परिस्थितिमा भइन्छ, त्यस्तै खाले गीत सुन्दा फिलिङ्समा पुगिन्छ ।’ कथामा पनि उनी सधैँ सेन्टिमेन्टल इन्डिङ खोज्छन् ।
प्रदीप श्रीमती र एक छोरीसाथ बस्छन् । उनकी मायालुलाई उनलाई भन्दा बढी फिल्ममा रुचि छ । ‘फुर्सद भयो कि फिल्म हेर्न जाऊँ भन्छिन्,’ उनले सुनाए, ‘हामी प्राय बेलुकाको सो हेर्न हल पुग्छौं ।’ घरमा बसिरहँदा भने उनी पुस्तकसँग टाँसिइरहन्छन् । थुप्रै मञ्चमा प्रदीप कलाकारसँग बसेका छन्, सँगै अन्तर्वार्ता गरेका छन् । उनलाई लाग्छ, कलाकारहरु राजनीति त्यति मन पराउँदैनन्, नेतालाई घृणा गर्छन् । आफ्नो सवालमा कलाकारहरुले त्यस्तो नसोचेको उनलाई अनुभव छ । ‘एकअर्कालाई सम्मान गर्ने भएपछि अकस्मातको भेट सम्बन्धमा परिणत हुन्छ,’ उनले सुनाए, ‘थुप्रै कलाकार मेरा साथी हुनुहुन्छ ।’