‘कोहलपुर एक्सप्रेस’ दोस्रो हप्तामा पनि हाउसफुल

बैशाख १४ बाट अल नेपाल रिलिज भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनको दोस्रो हप्तामा पनि हाउसफुल रहेको छ । दोस्रो हप्ता सम्म फिल्मका दर्शक घटेका छैनन् । सोहि दिन रिलिज भएको ह्यापी डेज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म डमरुको डण्डीबियो, भोर र हलिउडको सुपरहिरो फिल्म एभेन्जर्ससंग मल्टिप्लेक्स हलमा टक्कर गर्नुपर्ने अवस्थामा समेत कोहलपुर एक्सप्रेसको बिजनेसमा खासै फरक नपरेको निर्मात्री केकी अधिकारीले बताएकी छन् । फिल्म करोड क्लबमा पुगेको अवसरमा गत बिहिबार केक समेत काटिएको थियो ।

कोहलपुर एक्स्प्रेस केकी अधिकारीको डेब्यु निर्माण हो भने बिशाल भण्डारीको डेब्यु निर्देशन । फिल्ममा पछील्लो समय नेपाली सिने क्षेत्रका चर्चित तीन नायिकाहरु केकी अधिकारी, प्रियंका कार्की र रिचा शर्माको मुख्य भूमिका रहेको छ । केकी, प्रियंका र रिचासँगै फिल्ममा बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।

जुनकिरी आर्ट्सको प्रस्तुती रहेको फिल्मलाई भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त रुपमा निर्माण गरेका हुन् । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ ।