यसकारण हेर्नुहोस् ‘लम्फू’-निर्देशक लामिछाने


यतिबेला चर्चामा रहेको नेपाली फिल्म ‘लम्फू’ यहि शुक्रबार देशभर रिलीज हुँदैछ ।  एक युवाको जीवनमा अनायासै आईपर्ने उतार-चढावहरुमा आधारित यो फिल्ममा समयलाई शत्रु बनाईएको छ ।

आफ्नो जीवनमा हरेक दिन आईपर्ने सबै समस्याहरुलाई सहजै स्विकार गर्न सक्ने एक युवाले फिल्मलाई शुरु देखी अन्तिमसम्म बोकेको बताईएको छ । फिल्ममा प्रमूख भुमिका नव-नायक कबिर खड्काले निभाएका छन् । उनका साथमा सलोन बस्नेत पनि छन् । कबिर र सलोनका अलावा मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, आयान खड्का, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतको अभिनय रहेको छ ।

यतिबेला दर्शकको मनमा ‘लम्फू’ फिल्म किन हेर्ने त भन्ने जिज्ञासा रहेको हुनसक्छ । फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले यो फिल्म हेर्नैपर्ने केहि कारणहरु खुलाएका छन् ।

‘यो फिल्ममा आफ्नोपन छ, चरित्र चित्रणमा पनि पूर्णतया आफ्नोपन छ । ‘लम्फू’ले पूर्ण मनोरञ्जन दिन्छ’ लामिछाने भन्छन्, ‘फिल्म हेर्नुको मूल ध्येय मनोरञ्जन लिनु हुन्छ, हामीले बनाउनुको अर्थ मनोरञ्जन दिनु हुन्छ । ‘लम्फू’मा ति तत्वहरुको पूर्ण प्याकेज छ’ ।

निर्देशक लामिछानेका अनुसार अभिनेता सलोन बस्नेतको फरक भूमिका छ । ‘सलोनका फ्यानले पुन: एकपटक सलोनलाई नयाँ परिचयमा पाउनेछन्’ उनले भने । यसै फिल्मबाट नेपाली फिल्ममा आएका कबिर खड्काले निकै खारिएको अभिनेताले जसरी नै काम गरेको लामिछानेको भनाई छ । फिल्म क्षेत्रमा कबिरले निकै राम्रो सम्भावना बोकेको उनको दावी छ । कबिरको अभिनय प्रतिक्षा गर्नेहरुले पनि यो फिल्म हेर्नैपर्ने निर्देशक लामिछानेले बताए । फिल्ममा रहेका सम्पूर्ण कलाकारहरुको अभिनय उत्तिकै शसक्त रहेको लामिछानेको दावी छ ।

निर्माता भन्छन्, ‘प्रतिक्षित नहोला तर सम्भावना बोकेको छ’
यो फिल्मलाई  पपुलर मल्टीमिडियाको लागी शक्ति बल्लव निर्माण गरेका हुन् । निर्माता घोरासैनीले यो फिल्मबाट आफुले विशुद्द मनोरञ्जन दिने उद्देश्य राखेको बताएका छन् । उनी भन्छन्, ‘लम्फू प्रतिक्षित फिल्म नहोला तर निकै राम्रो सम्भावना बोकेको छ । यसले पूर्ण मनोरञ्जन दिनेछ’ । निर्माता घोरासैनीका अनुसार फिल्म हेरेपछि दर्शक निराश हुनुपर्ने छैन ।