हिरोइन बजारभरी, तर किन खडेरी ?

कलाकारहरू सस्तो बन्दा, स्टारडम बनाउन नसक्दा, एकाध फिल्म खेल्ने वित्तिकै नखरा देखाउन थाल्दा उनीहरूलाई मेकरले लिन हच्किएका छन् । अझ केही हिरोइनले सुटिङमा ब्वाइफ्रेन्डसमेत लिएर जाने र उनीहरुको समेत खर्च ब्यहोर्नु पर्ने तनावले निर्माता पुरानाको साटो नयाँ हिरोइनको खोजीमा लाग्ने गरेका छन् ।

फोटोमा दाँयाबाट क्रमस : चलचित्र पत्रकार सुशील पौडेल, नायिका \निर्देशक झरना थापा, निर्माता\कलाकार दिपक राज गिरी, निर्माता केशब भट्टराई

अभिनेत्री झरना थापाले नयाँ फिल्म ‘ए मेरो हजुर ३’ बनाउने तयारी थाल्दै गर्दा नयाँ अभिनेत्री खोज्न थालेकी छिन् । हिरो को लिने भन्ने चिन्ता त झँदैछ तर त्योभन्दा बढी फिक्रि हिरोइन कै छ । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहलाई नदोहोर्याएर थापा दम्पत्ती किन नयाँ हिरोइन खोजीमा लागेका होलान् ?
निर्माता दीपकराज गिरीले पनि लामै समय अभिनेत्रीको खोजी गरे । दिमागमा धेरै अप्सन राख्दै उनले फिल्म ‘छक्का पन्जा ३’का लागि अभिनेत्री खोजे । तर, अभिनेत्री पाउन मुश्किल भयो । अन्तत, उनले फिल्म ‘ऐश्वर्य’की डेब्यू हिरोइन दीपिका प्रसाईंलाई मुख्य भूमिकामा अनुवन्धित गरे ।
अभिनेता तथा निर्माता भुवन केसीले फिल्म ‘क्याप्टेन’का लागि लामै समय लगाएर हिरोइन खोजे । अभिनेता अनमोल केसीले यसअघि पनि नयाँ अभिनेत्रीसँग मात्रै काम गर्दै आएका छन् । आफैंले ५-५ हिरोइनसँग काम गरे पनि छैटौं फिल्ममा पनि अनमोललाइ उनलाई नयाँ हिरोइन नै चाहियो । आफूसँग एउटा मात्र फिल्ममा काम गरेका अभिनेत्री उनका लागि लायक भएनन् । यो फिल्ममा अनमोलले उपासनसिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गर्दैछन् ।
फिल्म ‘रोजी’का लागि निर्देशक निरक पौडेल र अभिनेता प्रदिप खड्काले पनि लामै समय लगाएर नयाँ अभिनेत्री खोजे । तर, फिल्म छायांकनमा जाने समयमा पनि फ्रेस अनुहार नपाएपछि निरक र प्रदिपले परमिता आर एल राणालाई फाइनल गरेका हुन् ।

फोटोमा दाँयाबाट क्रमस : नायिकाहरु  श्वस्तिमा खड्का , निर्मात्री/नायिका  रिचा शर्मा , पुजा शर्मा , आचल शर्मा 

हिरोइन खोज्न सकस बेहोर्ने यी त केही प्रतिनिधी नाम मात्र हुन् । छैननभन्दा बजार भरी हिरो हिरोइन छन् तर काम गर्ने बेलामा कोही भेटिन्नन् । फलतः निर्माता निर्देशक काठमाडौंका हरेक चोकमा नयाँ नयाँ हिरोइन खोजिरहेको भेटिन्छन् ।
फिल्म ‘यात्रा’का लागि पुराना निर्माता केशव भट्टराइले अभिनेत्री बर्षा राउतलाई फाइनल गरे । तर, बर्षा पछि यो फिल्ममा भइनन् । केही समय लगाएर नयाँ अभिनेत्री खोजियो र मल्लिका महतलाई फाइनल गरियो । अभिनेता सलिनमान बनियाँका लागि नयाँ अभिनेत्री खोज्न केशवलाई मुश्किल नै भयो ।
नेपाली फिल्मका चर्चित ब्यानरलाई पनि अहिले फ्रेस अनुहार खोज्नु परिररहेको छ । तर, उनीहरु फ्रेस अनुहारकै पछाडि किन दौडिएका होलान् ?
निर्माता केशव भट्टराईले ‘यात्रा’को केसमा भने हिरोका कारण हिरोइन भेट्न झन्झट भएको बताए । ‘सलिनसँग जोडी सुहाउने स्थापित हिरोइनको समय नमिलेकोले नयाँ खोजेको हो । यसमा कास्टिङ निर्देशकको पनि नयाँ राखौं भन्ने जोड थियो,’ उनले भने । भट्टराईले स्थापित हिरोइन सीमित भएकाले पनि निर्माता नयाँको विकल्पमा लागेको उनले बताए । ‘चलेका थोरै छन् तर सबै बिजी छन्,’ उनको तर्क छ ।
अभिनेत्री निर्देशक झरना थापा भने नयाँ अनुहार लिएर आउँदा मानिसमा कौतुहलता हुने भएकाले नयाँको खोजी भएको हुन सक्ने अनुमान गर्छिन् ।
‘मैले मेरो फिल्ममा नयाँ जोडी बनाउन लागिरहेको छु । कारण मान्छेमा यसले कौतुहलता पैदा गरोस् । सायद अरु निर्माताको पनि सोच यही होला । यसका लागि कसैले हिरो नयाँ खोज्छन् त कसैले हिरोइन,’थापाले भनिन् ।

बजारभरी हिरोइन
फोटोमा दाँयाबाट क्रमस : नायिकाहरु  प्रियंका  कार्की , केकी अधिकारी, सम्राज्ञी राज्य लक्ष्मी शाह, नम्रता श्रेष्ठ , दिपिका प्रसाईं

नेपाली फिल्ममा अभिनेत्रीहरुको संख्या गन्ने हो भने लामो सूची निस्कन्छ । अभिनेत्री नै अभिनेत्रीले भरिएको फिल्म बजारमा फिल्म बनाउँदा भने निर्माताको नजर उनीहरुमा हैन, नयाँमा केन्द्रित छ ।
नेपाली फिल्मका मेकरहरुले पुराना वा एउटा फिल्म खेलेका अभिनेत्रीलाई पनि विश्वास गर्न सकेका छैनन् । आखिर किन निर्माता र हिरोइनबीच दूरी बढेको छ ? पत्रकार सुशील पौडेल फिल्मको बदलिँदो संरचनालाई मुख्य कारण मान्छन् ।
उनको तर्क छ, ‘बजारमा मौजुद नायिकाहरूले आफूलाई स्थापित गर्न नसक्नु पहिलो समस्या हो । दोस्रो चाहिँ फिल्मको पटकथा पनि कारण हो । पहिले जस्तो अब हिरोइन केवल सो पीस मात्रै रहेनन् । फिल्मका पटकथाले अचेल बलियो चरित्र भएका हिरोइन जन्माउने जमर्को गरिरहँदा निर्माता र निर्देशकले पनि चरित्र बोक्न सक्ने हिरोइनको खोजी गर्न थालेका छन् । त्यसैले पनि चलिआएका ‘टाइप कास्ट’ हिरोइनभन्दा अभिनयमा पोख्त नायिकाको खोजी भएको हो ।’
नायिकाहरू प्रायः एकाध फिल्म खेलेपछि अप्ठ्यारा हुने गरेको आरोप पनि निर्माता र निर्देशकको हुने गरेको छ । पौडेल पहिलो फिल्मबाटै स्टार भएँ हिरोइनको एटिच्युड पनि निर्मातालाई बिझाएको हुन सक्ने धारणा राख्छन् । ‘पुराना नायिकाले आफू अनुकुल सहज नभइदिने भएर पनि नयाँमा आँखा लगाएको हुन सक्छ । पुराना नायिकाले प्रचारको समयमा साथ नदिँदा पनि धेरै निर्मातामा नयाँ हिरोइन लिएर ढुक्कसँग काम गर्ने सोच बढेको छ ।’

फोटोमा दाँयाबाट क्रमस : नायिकाहरु अनु शाह , अशिश्मा नकर्मी, वर्षा राउत , शिल्पा पोखरेल

नयाँको ग्ल्यामर सधैं र सबै सेक्टरमै हुन्छ । दर्शकलाई नयाँ स्वाद दिन पनि नयाँको खोजी हुने गरेको छ । अझ दक्षिण एसियाको समाजमा पुरुष जति बुढो भए पनि पुरानो नहुने तर महिला चाँडै पुरानो मान्ने मनोविज्ञान छ । राजनीतिदेखि फिल्मसम्ममा पनि यही मनोविज्ञानले काम गरेको छ । बलिउडमा शाहरुख खान, सलमान आफूभन्दा आधाभन्दा कम उमेरका नायिकासँग अझै काम गरिरहेका छन् तर उनीहरुका समकालीन अभिनेत्री बच्चाको विवाह गर्ने सुरसार गर्दैछन् । पहिलो फिल्मबाटै राम्रो स्टारडम बनाउन सक्ने अभिनेत्रीलाई कामको अभाव छैन । तर, जो पहिलो फिल्ममा खासै नोटिस हुँदैनन् उनीहरुलाई लिन मेकरहरु नाक खुम्च्याउँछन् । एउटा फिल्म खेलिसकेपछि अभिनेत्रीहरुले पारिश्रमिक बढाउनु, समय दिन किचकिच गर्नु, डिमान्ड धेरै गर्नु आदि कारणले निर्माता पुरानोको साटो नयाँको विकल्पमा लाग्ने गरेका छन् । आखिर, धेरै पारिश्रमिक दिएर पुरानालाई लिएर पनि फाइदा नहुने भएपछि मेकरहरु फ्रेस अनुहार खोज्नमा बढी आकर्षित भएका हुन् ।
दीपकराज गिरी भने हिरोइन मात्र होइन सबै खाले कलाकारमा निर्माताहरुले विकल्प खोजिरहेको बताए । उनले कलाकारले ब्यानर र एकल निर्मातालाई एकै खालको व्यवहार गर्दा पनि समस्या आइरहेको औंल्याए । ‘ हामीसँग च्वाइस कम छ । हिरोइनमा तपाईं प्रियंका, केकी र साम्राज्ञीबाहेक अर्को भेट्नु हुन्न । अनि ब्यानरले फिल्म बनाउँदा कलाकारबाट आफ्नै खाले अपेक्षा गरेको हुन्छ । किनकि ब्यानरको फिल्ममा कलाकारलाई दिने पैसा ज्यादा हुन्न । कलाकारको पैसा थोरै काटेर हामीले मेकिङमा खर्च गर्छौं । यो कुरामा पनि कलाकार र मेकरको कुरा मिल्दैन । हामी नयाँमा जान बाध्य हुन्छौं,’ गिरीले भने ।

फोटोमा दाँयाबाट क्रमस : नायिकाहरु वर्षा सिवाकोटी, नम्रता सापकोटा, बेनिशा हमाल, निता  ढुंगाना

सकिएको हो त धेरैको करिअर ?
बजारमा अभिनेत्रीहरु धेरै छन् । तर, धेरैले काम नै पाएका छैनन् । काम पाए पनि उनीहरुले खासै चमत्कार गर्न सकेका छैनन् । प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिन निर्माताहरुले नाक खुम्च्याएका छैनन् । तर, प्रियंकाले पनि धेरै फिल्म खेल्दा उनी खाली ठाउँ भर्ने बाहेक अन्य काम गर्न सकेकी छैनन् ।
नम्रता श्रेष्ठ, नीता ढुंगाना, नम्रता सापकोटा, अनु शाह, अशिष्मा नकर्मीदेखि अन्य थुप्रै अभिनेत्रीहरुको समय अब विस्तारै गुज्रिन थालेको छ । उनीहरुलाई राम्रा मेकरले पत्याएका छैनन् । कतिपयले मेकरसँगको निकटताले काम पाइरहेका छन् भने कतिपय विकल्प नभएर काम पाइरहेका छन् ।
यसो भन्दै गर्दा फिल्म क्षेत्रमा अवसर छैन भन्ने होइन । फिल्म क्षेत्रमा अभिनेता र अभिनेत्री दुबैका लागि प्रशस्त अवसर देखिएका छन् । बर्षमा सयको हाराहारीमा फिल्मबन्दा कलाकारलाई काम पाउन मुश्किल छैन ।
तर, कलाकारहरू सस्तो बन्दा, स्टारडम बनाउन नसक्दा, एकाध फिल्म खेल्ने वित्तिकै नखरा देखाउन थाल्दा उनीहरूलाई मेकरले लिन हच्किएका छन् । अझ केही हिरोइनले सुटिङमा ब्वाइफ्रेन्डसमेत लिएर जाने र उनीहरुको समेत खर्च ब्यहोर्नु पर्ने तनावले निर्माता पुरानाको साटो नयाँ हिरोइनको खोजीमा लाग्ने गरेका छन् ।