डीसीने अवार्ड मनोनयन, मनोनयनमा फिल्मकर्मीको असन्तुष्टि (मनोनयन लिस्ट सहित)

श्रीधर पौडेल-
‘सुतेको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको अभिनय गर्नेलाई उठाउन गाह्रो हुन्छ ।’

नेपाली जनमानसमा थेत्तरो मान्छेलाई कुरा बुझाउन नसकिने सन्दर्भमा माथिको भनाइ प्रयोग गर्ने गरिन्छ । अनि नेपालमा चाँही अवार्डको मामलामा । सन्चारमाध्यमले बारम्बार अवार्डको निष्पक्षताका लागि आयोजकलाई आग्रह गरिरहन्छन् तर आयोजक कानमा तेल हालेर बस्छन् । फलतः नेपालका फिल्म अवार्डले स्रष्टाको सम्मान गर्दैनन्, स्रष्टाको मानमर्दन गर्छन् अनि यसको सुरुवात हुन्छ अवार्डको मनोनयनबाट ।

केही दिनअघि एनएफडिसी अवार्ड वितरण भयो । सो अवार्ड वितरण सर्जकलाई त चित्त बुझेन नै प्रकृतिलाई पनि चित्त बुझेन । पानीले अवार्ड बिथोलियो । अनि यसमा विजेता बनेका सर्जकमा पनि धेरैको गुनासो थियो । मंगलबार डीसिने अवार्डको मनोनयन सार्वजनिक भयो तर यो अवार्डले पनि अघिल्लो अवार्डको विवादबाट सच्चिने जुक्ति गरेन । जथाभावी मनोनयन गर्ने, यसको परम्परा थियो जुन यो संस्करणमा पनि दोहोरियो । यो अवार्डले जथाभावी मनोनयन गर्छ भन्ने सानो उदाहरण अघिल्लो सालको उत्कृष्ट केमियो विधाको नोमिनेसन हो । संसारको कुनै पनि ठाउँमा नहुने विधामा पोहोर साल डीसिने अवार्डले मनोनयन मात्र गरेन, सोही विधामा पुरस्कृत पनि गर्यो । एक गीतमा देखा परेका निश्चल बस्नेतले ‘लप्पन छप्पन’बाट यो पुरस्कार हात पारेका थिए । अनि आयोजक शान्तिप्रिय आफैं गीतकार रहेको गीतबाट गायक तथा संगीतकारले अवार्ड पाएका थिए । यो देखेपछि धेरैको टिप्पणी थियो, ‘यो त आफैंले आफूलाई अवार्ड दिए जस्तो भयो ।’ संसारका कुनै पनि प्रतिष्ठित अवार्ड आयोजकले आफू संलग्न चीजलाई अवार्ड दिनु त परैको कुरा, छेउछाउसम्म पनि पर्न दिँदैनन् । तर यहाँको आयोजकलाई जब यो कुरा भनिन्छ, खेदो खनेको आरोप लाग्छ । यो पालाको डीसिने अवार्डको मनोनयनमा पनि आयोजक र जुरीको मनोमानी यथावत छ । मनोनयनमा साँच्चिकै राम्रा भनिएका फिल्म पाखा छन् र बजारमा हल्ला खल्ला धेरै भएका फिल्मले मनोनयनमा स्थान पाएका छन् ।

सबैभन्दा पहिला उत्कृष्ट फिल्मको कुरा गरौं ।
डीसिने अवार्डको मनोनयनमा उत्कृष्ट फिल्ममा ‘ऐश्वर्य’, ‘छक्कापञ्जा २’ ‘मंगलम’ ‘लिलीबिली’ ‘कृ’ छन् । साँच्चि भन्ने हो भने उत्कृष्ट फिल्ममा परेका माथि उल्लेखित एकाधबाहेक सबै फिल्मले दर्शकबाट नराम्ररी गाली गाएका छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ सर्वाधिक १३ विधाको मनोनयनमा छ । तर यो त्यही फिल्म थियो जहाँ अनमोलको स्टारडमबाहेक केही कुरा पनि गतिलो थिएन । फिल्म उत्कृष्ट हुन्थ्यो भने फिल्म चल्थ्यो र फिल्म चलेको भए निर्माताको पैसा उठ्थ्यो । फिल्मको प्राविधिक पाटोमा खोट लगाउने ठाउँ नभए पनि फिल्मको कथा पटकथामा सबैभन्दा ज्यादा समस्या थियो तर कमजोर भएकै विधामा यो फिल्म मनोनयनमा छ । यही कथा ‘लिली बिली’को पनि छ । १० विधामा मनोनयनमा परेको फिल्म बजारमा दुई हप्ता पनि टिकेन तर फिल्म सबै मुख्य विधामा मनोनयनमा छ । थुप्रै घडान निर्देशकलाई पछि पार्दै एनएफडिसी अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका मिलन चाम्सले यहाँ पनि यो विधाको पुरस्कार पाए भने अचम्म नमान्दा हुन्छ । आयोजक र जुरीको ध्यान जसरी हुन्छ ज्यादाभन्दा ज्यादा अवार्ड बाँड्नमा केन्द्रित देखिन्छ । आयोजकले उत्कृष्ट फिल्मसँग मिल्दो जुल्दो गरी पपुलर चलचित्र विधा सिर्जना गरेका छन् । मोहन निरौला, राजेन्द्र उप्रेति, सन्तोष श्रेष्ठ, डब्बु क्षेत्री, सबनम मुखिया सम्मिलित जुरीलाई धेरैको प्रश्न छ, पपुलर विधाका फिल्म के चीजको कमीका कारण उत्कृष्ट भित्र परेनन् । ५१ दिनसम्म चलिरहेको ‘शत्रुगते’ के कमीका कारण जम्मा तीन विधामा मनोनयनमा छ अनि यो फिल्म कुन अवगुणका कारण उत्कृष्ट फिल्मभित्र अटाएन ?

निर्देशनको विधामा पनि यस्तै समस्या छ । ‘कृ’को कमजोर कडी नै निर्देशन मानिएको थियो तर यही विधामा सुरेन्द्र पौडेल मनोनयनमा छन् । यही अवस्था मिलन चाम्स र दिवाकर भट्टराईको पनि हो तर जुरीले उनीहरुलाई नै उत्कृष्ट ठहर्याएका छन् । पटकथा विधामा पनि जुरीको मनोमानी देखिन्छ । ‘कृ’ आशिष रेग्मी र प्रदिप भारद्धाज मिलेर लेखेका हुन् । फिल्ममा दुवैको नाम छ । तर मनोनयनमा प्रदिप गायब छन् । यो विधामा पनि पर्नु पर्ने नपरेको र नपर्नु पर्ने परेको स्पष्ट छ । ‘दुईं रुपैंया’ बलियो पटकथा कै कारण हिट भएको थियो तर मनोनयनमा छैन । ‘लिलीबिली’ ‘कृ’, ‘संरक्षण’ कमजोर पटकथा कै कारण अपेक्षित चलेका थिएनन् तर जुरीले यिनमै पटकथाका गुण देख्नु अचम्म छ ।
निश्चल बस्नेतले बिहीबार यही अवार्डलाई लक्ष्य गर्दै एउटा स्ट्याटस लेखेका थिए, ‘फिल्म अवार्ड नोमिनेसन, आर यु कमेडी मी ?’ आयोजकले यसलाई एउटा फिल्मकर्मीको मात्र असन्तुष्टिको रुपमा बुझ्नु ठूलो भूल हुनेछ । मान्छेलाई बोलाइ बोलाइ अवार्ड दिनुपर्ने अवार्ड आयोजकको बाध्यता यस्तै असन्तुष्टिको ‘इग्नोर’बाट सुरु भएको हो ।
अवार्डमा आयोजकको ‘संरक्षण’ फिल्मप्रतिको प्रेम पनि धेरैलाई बुझिनसक्नु छ । बक्स अफिसमा नराम्ररी चित खाएको फिल्म सर्वाधिक ११ विधामा मनोनयनमा छ । यसको मतलब बक्स अफिसमा नचल्ने फिल्म नराम्रो नै हुन्छ भन्ने हैन । तर ‘संरक्षण’को न लेखाइ राम्रो थियो न कुनै कलाकारको अभिनय । तर फिल्म थुप्रै विधामा मनोनयनमा पर्नुलाई धेरैले आयोजक शान्तिप्रिय र फिल्मका निर्माताद्धय प्रदिय उदय र नरेन्द्र महर्जनको निकटतासँग जोडेर हेर्ने गरेका छन् । यदि यो सत्य हो भने भोलि फिल्मले थुप्रै विधामा अवार्ड जित्यो भने अचम्म नमान्दा हुन्छ ।

कथा विधामा मनोनयनमा परेको फिल्म ‘आधा लभ’ स्पेनिस फिल्म ‘स्लिप टाइट’बाट उठाइएको छ । चोरेको कथा उत्कृष्ट हुने भए सर्जक किन मौलिकताको पछि लाग्नु ? बजारमै हल्ला भइसकेको कुरा जुरीले थाहा नपाउनुले जुरीकै क्षमतामा प्रश्न उठ्छ । जुरीकै यस्तै कमजोरी खलपात्र विधामा पनि देखिएको छ । सरोज खनाल ‘पन्चायत’बाट खलपात्रमा मनोनयनमा छन् । जबकि यो फिल्ममा उनको भूमिका नकारात्मक छैन । जुरीको विवेकले उनलाई जबर्जस्ती भिलेन बनाएर मनोनयनमा राखेको छ ।
बलिउड अभिनेता ऋषि कपुरले आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’मा आफूले पैसा दिएर फिल्म फेयर अवार्ड किनेको घटनालाई सर्वाधिक पछुतो हुने घटनाको रुपमा उल्लेख गरेका छन् । अवार्ड लिने र दिने दुवैले कुनै दिन यस्तो पछुतो गर्नु नपरोस् । अवार्ड स्रष्टाको कदरका लागि हो तर धेरै अवार्डले पछिल्लो समय ‘क’लाई गायब गरेर ‘दर’लाई सक्रिय बनाएको आरोप छ । अवार्डको यही बेथिती देखेर खगेन्द्र लामिछाने र दीपकराज गिरीले घोषित बहिष्कार गरिसकेका छन् । यो अवस्था रहे भोलि यो लिस्टमा अरु पनि नाम थपिँदै जाने निश्चित छ ।

२९ बिधा र मनोनयनमा परेका उत्कृष्ट ५ निम्न अनुसार छन :
१. उत्कृष्ट एनिमेशन


अक्की शर्मा – पिजडा व्याक अगेन
अच्यूत लामिछाने– राधे
अनुपम शाह– कान्छी
ग्लेज इन्टरटेन्टमेन्ट– कृ
सत्यम राना/अक्की शर्मा – बटरफ्लाई

२. उत्कृष्ट पाश्र्वसंगीत

एलिश कार्की– मंगलम
एलिश कार्की– लिलीबिली
रोहित शाक्य– घामपानी
शैलेश श्रेष्ठ/रोहित शाक्य – कृ
शैलेश श्रेष्ठ – दुई रुपैया

३. उत्कृष्ट ध्वनिमिश्रण

उत्तम न्यौपाने– ऐश्वर्य
उत्तम न्यौपाने– कृ
मुकेश शाह – मंगलम
मुकेश शाह – लिलीबिली
सुनयमान श्रेष्ठ– संरक्षण

४. उत्कृष्ट गीतकार

अर्जुन पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
डा.कृष्णहरी बराल – ए मेरो हजुर २– कसम हो कसम
धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी
महेश पौड्याल – मुइमान्छे– आफ्नै परेली पर्दा भो
सुदर्शन थापा – म यस्तो गीत गाउँछु– भन्छु आज

५. उत्कृष्ट गायिका

अञ्जु पन्त – ऐश्वर्य – तिमी रोएको पल
अञ्जु पन्त – म एस्तो गीत गाउँछु – भन्छु आज
मिना निरौला– शत्रुगते – रुपै मोहनी
मेलीना राई – दुई रुपैया– कुटुमा कुटु
विन्दु परियार – मंगलम – पर्ख पर्ख

६. उत्कृष्ट गायक

कृष्ण काफ्ले – मंगलम – पर्ख पर्ख
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
सुगम पोखरेल – म यस्तो गीत गाउँछु– भन्छु आज
सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
शिव परियार – भुइमान्छे – आफ्नै परेली पर्दा भो

७. उत्कृष्ट संगीतकार

अर्जुन पोखरेल – ऐश्वर्य – तिमी सँग
अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज
दिपक शर्मा – मंगलम – पर्ख पर्ख मायालु
राजनराज सिवाकोटी – दुई रुपैया – कुटुमा कुटु
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी

८. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – दुई रुपैया – कुटुमा कुटु
कविराज गहतराज – पक्कापञ्जा २ – झ्याम्म झ्याम्म
कविराज गहतराज – म यस्तो गीत गाउँछु– भन्छु आज
बसन्त श्रेष्ठ – कान्छी – चरी चट्ट परी
रेनेशा राई – कृ – यति यति पानी

९. उत्कृष्ट द्वन्द्वनिर्देशक

चन्द्र पन्त – कृ
हिमाल केसी– पिजडा ब्याक अगेन
हिमाल केसी– रुद्र
हिमाल केसी– संरक्षण
रोशन श्रेष्ठ – रातो घर

१०. उत्कृष्ट बालकलाकार

अनुभव रेग्मी – ए मेरो हजुर – २
कुशाग्र भट्टराई – पिजडा ब्याक अगेन
प्रनिशा खड्का – तान्द्रो
प्रिन्स रिजाल – डा.खाते
विनोद मगराती – आधा लभ

११. उत्कृष्ट हास्यकलाकार

केदार घिमिरे– छक्कापञ्जा २
रविन्द्र झा – दुई रुपैया
राजाराम पौडेल– हुर्रे
राजाराम पौडेल– म यस्तो गीत गाउँछु
विजय बराल– हुर्रे

१२. उत्कृष्ट खलपात्र

अनुपविक्रम शाही – कृ
प्रशान्त ताम्राकार – ऐश्वर्य
रमेश रञ्जन झा – संरक्षण
राजन इशान – दुइ रुपैया
सरोज खनाल – पंचायत

१३. उत्कृष्ट कथा

अर्पण थापा – आधा लभ
गोविन्द फुयाँल– मंगलम
नवराज बुढाथोकी– भूइमान्छे
प्रकाश आङ्देङवे– देश खोज्दै जाँदा
शिवम् अधिकारी– पंचायत

१४. उत्कृष्ट पटकथा

आशिष रेग्मी– कृ
गोविन्द फूयाल, नवल नेपाल– मंगलम
प्रदिप भारद्धाज– लिलीविली
दिपकराज गिरी– छक्कापञ्जा २
रमेश रञ्जन,पुर्णेन्द्र झा– संरक्षण

१५. उत्कृष्ट संवाद

प्रदिप भारद्धाज– लिलीविली
दिपक,केदार,जीतु,अभिमन्यू– छक्कापञ्जा २
दिपेन्द्र लामा – घामपानी
दिवाकर भट्टराई – ऐश्वर्य
रमेश रञ्जन,पुर्णेन्द्र झा– संरक्षण

१६. उत्कृष्ट नव–नायिका

अदिती बुढाथोकी – कृ
जसिता गुरुङ – लिलीबिली
दिपीका प्रसाई – ऐश्वर्य
रोजीशा शाही ठकुरी – आधा लभ
सारा सेर्पाइली – रुद्र

१७. उत्कृष्ट नव–नायक

विश्व शर्मा – रुद्र
सन्नी सिहं – डायरी
सलिममान बानिया– ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल– छक्का पञ्जा २
सुरज पाण्डे – लभ लभ लभ

१८. उत्कृष्ट नव निर्देशक

असीम शाह – दुई रुपैया
झरना थापा – ए मेरो हजुर २
दिपेन्द्र लामा– घामपानी
पुर्णेन्दु झा – संरक्षण
शिशिर राणा– तिमीसँग

१९. उत्कृष्ट चरित्र अभिनेत्री

मिथीला शर्मा – आधा लभ
गौरी मल्ल – ब्लाइण्ड रक्स
मिथीला शर्मा – मंगलम
रुपा राना – पंचायत
हिउँवाला गौतम – राधे

२०. उत्कृष्ट चलचित्र अभिनेता

जयनन्द लामा – कान्छी
प्रकाश घिमिरे – घामपानी
पुस्कर गुरुङ – घामपानी
हरिवंश आचार्य – शत्रु गते
शिशिर राणा – तिमीसँग

२१. उत्कृष्ट सह अभिनेत्री

अनु शाह – कान्छी
अशिश्मा नकर्मी– संरक्षण
बर्षा राउत – छक्का पञ्जा २
माला लिम्बु – पर्व
मेनुका प्रधान– हिटलर

२२. उत्कृष्ट सह अभिनेता

जितु नेपाल – छक्का पञ्जा २
बुद्धी तामाङ – दुइ रुपैया
सलोन बस्नेत – ए मेरो हजुर २
संयम पुरी – रातो घर
रेमनदाश श्रेष्ठ – आधा लभ

२३. उत्कृष्ट छायाँकार

पुरुषोत्तम प्रधान – कृ
पुरुषोत्तम प्रधान – संरक्षण
राजेश श्रेष्ठ, सुदिप बराल– ऐश्वर्य
संजय लामा – ए मेरो हजुर – २
सुदिप बराल – लिलीबिली

२४. उत्कृष्ट सम्पादक

अर्जुन जिसी – लिलीबिली
विपीन मल्ल – छक्कापञ्जा –२
मित्रदेव गुरुङ – मंगलम
सुरेन्द्र पौडेल – कृ
सुरेन्द्र पौडेल – संरक्षण

२५. उत्कृष्ट अभिनेत्री

नीता ढुङ्गाना – पंचायत
बेनिषा हमाल – ब्ल्याइण्ड रक्स
साम्राज्ञी राज्यलक्ष्मी शाह– ए मेरो हजुर २
शिल्पा पोखरेल – मंगलम
स्वेता खड्का – कान्छी

२६. उत्कृष्ट अभिनेता

अनमोल केसी – कृ
पुष्पल खड्का – मंगलम
प्रदिप खड्का – लिलीबिली
विल्सनबिक्रम राई – रातोघर
सौगात मल्ल – संरक्षण

२७. उत्कृष्ट पपुलर चलचित्र

ए मेरो हजुर २ – झरना थापा, सुहाना इन्टरटेन्मेन्ट
कान्छी – आकाश अधिकारी, काया फिल्म्स
छक्का पञ्जा –दिपाश्री निरौला, आमासरस्वती मुभिज्
दुइ रुपैया – अशिम शाह, जि २१, ब्ल्याकहर्ष पिक्चर्स
शत्रु गते – प्रदिप भट्टराई, महसंचार

२८. उत्कृष्ट निर्देशक

मिलन चाम्स – लिलीबिली
दिपाश्री निरौला – छक्कापञ्जा २
दिवाकर भट्टराई – ऐश्वर्य
नवल नेपाल – मंगलम
सुरेन्द्र पौडेल – कृ

२९. उत्कृष्ट चलचित्र

ऐश्वर्य – वैष्णो देवी फिल्म्स
कृ – सुवास इन्टरटेन्मेन्ट, सुपर काजल फिल्म्स प्रा.लि.
छक्कापञ्जा २ – आमासरस्वती मुभिज्
मंगलम – छविराज प्रोडक्सन
लिलीबिली – चाम्स् इन्टरटेन्मेन्ट काफिया फिल्म्स