नेपाली फिल्मका ‘नौतारा’

नेपाली समाजमा महिलाको क्षमतामाथि अझै पनि कमै विश्वास गरिन्छ । फिल्म क्षेत्रमा पनि त्यो समस्या छँदैछ । कलाकारिताको पाटोमा महिलाहरुले अब्बल काम गरेर देखाइसेका छन् । नेपाली फिल्मको करिब ६८ वर्ष लामो इतिहासलाई फर्केर हेर्दा फिल्म निर्देशनको पक्षमा भने महिलाको सहभागिता कमजोर छ । तर, पछिल्लो समयमा महिलाहरु निर्देशकका रुपमा आउने क्रम बढेर गाएको छ । महिला निर्देशककको सफलताको दर पनि वृद्धि हुँदैछ ।

अहिले महिला निर्देशकले नै निर्देशन गरेका चलचित्र बक्स अफिसमा सबैभन्दा बढी कारोबार गर्ने फिल्मका रुपमा सूचीकृत छन् । यसअघि महिला निर्देशकहरुको फिल्म अपेक्षाकृत रुपमा ब्यापारिक रुपमा सफल हुन सकिरहेको थिएन । पछिल्लो समयमा महिला निर्देशकहरुले आफूलाई अब्बल प्रमाणित गर्दै लगेका छन् । नेपाली फिल्मी इतिहासमा ९ महिला निर्देशकहरुले आफ्नो शक्ति देखाएका छन् । तीमध्ये केही सफल भए, केही असफल ।
तर, महिलाहरुले फिल्म निर्देशनमा हात हाल्नु नै बढी महत्वपूर्ण कुरा रह्यो । किनभने अझै पनि महलिामाथि विश्वास गर्ने र उनीहरुको हौसला बढाउने काममा समाजको कुनै पनि पक्ष सकारात्मक रुपमा अघि आएको छैन । फिल्म क्षेत्र पनि त्यसमा अछुतो छैन । यस्तो अवस्थामा महिला निर्देशकहरुले जुन रुपमा आफूलाई उभ्याए, त्यसका लागि सलाम गर्नैपर्छ ।

को–को हुन् त ती आँटिला महिला निर्देशक? केही चर्चा गरौं ।

सुचित्रा श्रेष्ठ

सुचित्रा श्रेष्ठ नेपाली फिल्म इतिहासको लागि सँधै सम्झिनुपर्ने नाम हो । फिल्म निर्देशनमा हावी पुरुषहरुको जालोलाई तोड्ने उनी पहिलो महिला निर्देशक हुन् । उनले नै नेपाली फिल्ममा पनि महिलाहरु आउन सक्छन् भन्ने सन्देश दिएकी थिइन् । फिल्म निर्देशनमा महिला सहभागिता शुन्य रहेको अवस्थामा पहिलो महिला निर्देशकका रुपमा उनी आफ्नो नाम दर्ता गराउन सफल भइन् । उनले ‘प्रेमयुद्ध’ नामको फिल्मबाट आफ्नो फिल्म निर्देशन यात्रा थालिन् । यो फिल्म व्यवसायिक रुपमा सफल नभए पनि सुचित्राको साहासको धेरैले तारिफ भने गरे । उनले जोखिम लिएर नै यो फिल्म निर्देशन गरेकी थिइन् ।
उनले पहिलो फिल्म असफल भएपनि हार मानिन् । ‘को कसको’ फिलमको पनि निर्देशन गरिन् । उनी अहिले पनि फिल्म निर्देशकहरुको संघ संगठनमा नेतृत्व तहमा बसेर काम गर्छिन् । सुचित्रा नेपाली फिलम इतिहासको एउटा फरक परिचय भएकी निर्देशक हुन् ।

दिपाश्री निरौला
कुनै समय नायिकाको भूमिका समेत निर्वाह गरेकी दिपाश्री निरौला अहिले फिल्म निर्देशकका रुपमा परिचित छिन् । हास्य कलाकारिताबाट निकै नाम कमाएकी दीपाले फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेकी छिन् । कुनै समयमा ‘तितोसत्य’मा सहायक निर्देशन सम्हालेकी दीपाले अहिलेसम्म २ वटा फिल्म निर्देशन गरिसकिन् । अहिले तेस्रो फिल्म छायाङ्कनका लागि फ्लोरमा गएको छ ।
दीपाश्री निरौला सर्वाधिक सफल नेपाली महिला निर्देशक हुन् । उनले निर्देशन गरेका दुबै फिल्म नेपालकै सबैभन्दा धेरै कारोबार गर्ने फिल्मको सूचीमा छन् । ‘छक्कापञ्जा’बाट निर्देशन यात्रा थालेकी दीपाले बनाएको ‘छक्कापञ्जा २’पनि हिट भयो । छक्कापञ्जाले त नेपालमा सबैभन्दा बढी कारोकार गर्ने फिल्मको रेकर्ड नै बनायो । यी फिल्मपछि दीपाको फिल्मी हाइट निकै माथि पुगेको छ । उनीसँग दर्शकले गर्ने अपेक्षा पनि बढेका छन् । २ वटा हिट फिल्म दिएपछि दीपा अहिले ‘छक्कापञ्जा ३’को सुटिङमा छिन् । अबको फिल्ममा उनले कस्तो काम गर्लिन् भन्नेमा धेरैको चासो छ ।

झरना थापा

नायिका झरना थापा अहिले ‘निर्देशक’ पनि हुन् । उनले आफैंले अभिनय र निर्माण गरेको ‘ए मेरो हजुर’को सिक्वेलबाट आफ्नो निर्देशन यात्रा थालेकी हुन् । झरनाले ‘एक्सन–कट’ गरेको ‘ए मेरो हजुर–२’ले राम्रो ब्यापारिक सफलता पायो । उनले नायिकाको रुपमा रहेको आफ्नो पहिचानलाई यो फिल्म मार्फत एउटा सशक्त र उदियीमान निर्देशकका रुपमा पनि परिणत गरेकी छिन् ।
उनले निर्देशकका रुपमा गरेको पहिलो कामको तारिफ गर्ने धेरै छन् । त्यसैबाट हौसिएकी झरना अब ‘ए मेरो हजुर–३’ बनाउन लागि परेकी छिन् । यसका लागि तीव्र रुपमा तयारी गरिरहेकी झरना अब फिल्म निर्देशकका रुपमा आफ्नो छवी अझ उज्वल बनाउने मार्गमा छिन् ।

रेखा थापा

नायिका रेखा थापाले पनि फिल्म निर्देशकका रुपमा काम गरिसकेकी छिन् । हक्की र निडर स्वभावकी रेखाले ‘हिम्मतवाली’ फिल्मबाट आफ्नो निर्देशन हिम्मत प्रकट गरिन् । उनी विनायोजना नै निर्देशक बनेकी थिइन् । निर्देशक श्याम भट्टराईले निर्देशकका रुपमा ‘हिम्मतवाली’मा काम थालेका थिए । तर, बीचमा रेखासँग विवाद भएपछि अलग्गिए । त्यसपछि रेखाले अर्को निर्देशक खोजिनन् । आफैंले फिल्म निर्देशकको भूमिका निभाइन् । त्यसपछि उनी अर्को फिल्म निर्देशनमा आएकी थिइनन् ।अहिले रेखा फेरि आफैं फिल्म निर्देशन गर्न अघि सरेकी छिन्, ‘मालीका’मार्फत । यसअघि सम्झना रौनियारले यो फिल्म निर्देशन गर्ने हल्ला चले पनि अन्तिममा रेखाले आफैंले यसलाई बनाउन लागेकी छिन् । हिम्मतवालीबाट रेखा निर्देशित फिल्मले पाएको ब्यापारिक सफलतालाई मालीकाले कायम राख्ने-नराख्ने हेर्न बाँकी छ ।

दीपा बस्नेत

अर्की महिला फिल्म निर्देशकको नाम हो, दीपा बस्नेत । उनी पनि नेपाली फिल्म निर्देशनमा हात हाल्ने आँट गर्ने सशक्त महिला प्रतिनिधि हुन् । ‘अन्तराल’ फिल्मबाट फिल्म निर्देशनमा उदाएकी हन् दीपा । उनले यो फिल्मलाई ब्यापरिक सफलता दिलाउन सकिनन् । तर संघर्षको मैदान छाडिनन् । पहिलो फिल्ममा फरक प्रस्तुती दिएर उनले धेरैको मन जितेकी थिइन् ।
त्यसैले उनले ‘श्री ५ अम्बरे’ फिल्ममा पनि आफ्नो निर्देशनकला देखाइन् । ब्यापारिक रुपमा ठूलो सफलता हात नलागे पनि यो फिल्मको राम्रै चर्चा भयो । महिला निर्देशकका रुपमा उभिएर उनले जुन स्तरको चलचित्र दिइन्, त्यसलाई सबैले सम्मान प्रकट गरे ।

सम्झना रौनियार

फिल्म निर्देशनमा सक्रिय अर्की महिला हुन, सम्झना रौनियार । ओस्कार कलेजबाट फिल्म निर्देशन पढेर नेपाल फर्किएकी सम्झना फिल्म निर्देशकका रुपमा आएको लामो समय भएको छैन । तर, उनलाई फिल्म निर्देशनका अफरहरु आइरहेकै छन् । ‘मेघा’ फिल्मबाट उनले निर्देशनमा डेब्यु गरेकी थिइन् । तर, फिल्मले अपेक्षाकृत ब्यापार गरेन ।
सम्झनाले पनि अरुले जस्तै निरन्तरतामा विश्वास राखिन् । पहिलो फिल्म निर्देशनबाट प्रभावित भएर करिश्मा मानन्धरले सम्झनालाई ‘फागु’ फिल्मको निर्देशन सुम्पिइन् ।फागुले पनि राम्रो ब्यापार गरेन । तर, सम्झनाको हौसला भने टुटेको छैन । उनी पछिल्लोपटक रेखा थापको फिल्म मालीकामा निर्देशकका रुपमा आउने चर्चा थियो । तर, रेखा आफैंले त्यो जिम्मेवारी उठाएकी छिन् । पक्कै पनि सम्झनाले निर्देशन गरेको अरु फिल्म चाँडै हेर्न पाइएला ।

रक्षासिंह राणा

रक्षासिंह राणा, नेपाली फिल्म क्षेत्रमा सम्पादका रुपमा चर्चित नाम हो । लामो समय सम्पादनमा बिताए पनि उनले निर्देशनमा हात हालिन् । ‘द गेम’ उनले निर्देशन गरेको फिल्म हो । सम्पादनबाट प्राप्त अनुभवलाई उनले एउटा एक्सनप्रधान फिल्ममा उतार्न कोसिस गरेकी थिइन् । पहिलोपटकमै द्वन्द्वप्रधान फिल्ममा उनले निर्देशकको भूमिका निभाउने आँट गरेर हामफालेकी थिइन् । फिल्मले गतिलो ब्यापार गरेन । त्यसपछि उनी अर्को फिल्म लिएर आएकी छैनन् ।

निलु डोल्मा शेर्पा

निलु डोल्मा शेर्पा अहिले हामी माझ छैनन् । हृदयघातका कारण उनले दुःखद् मृत्युवरण गरिन् । तर, उनको नाम सीमित महिला निर्देशकका रुपमा सूचीकृत छ । त्यसैले निर्देशकका रुपमा आफुलाई प्रस्तुत गरेर निलुले आफ्नो नामलाई अमर बनाएकी छन् । ‘हाउ फन्नी’ उनले निर्देशन गरेको चलचित्र हो । त्यसअघि उनले केही फिल्ममा अभिनय र कोरियोग्राफी गरिसकेकी थिइन् । निलु निर्देशित फिल्म ‘हाउ फन्नी’ ब्यापारिक रुपमा असफल भए पनि फिल्ममा निलुले गरेको काम र प्रयासको धेरैले प्रशंसा गरेका थिए ।
हास्यप्रधान फिल्मबाट निर्देशन यात्रा थालेकी निलुले बनाएका फिल्म अब हेर्न त पाइने छैन, तर उनलाई नेपाली फिल्म क्षेत्रले कहिले पनि भुल्न सक्ने छैन । किनभने उनी पनि फिल्म निर्देशनका लागि तयार हुने सीमित महिलाभित्र गनिन्छिन् ।

समुन्द्र भट्ट

सुमुन्द्र भट्ट पनि निर्देशकका रुपमा काम गरेकी आँटिली महिला हुुन् । अहिलेसम्म उनको निर्देशनमा दुई वटा फिल्म बनिसके । समुन्द्रले ‘आधापेज’ र ‘रिंगरोड’ फिल्ममा आफ्नो निर्देशन कला देखाएकी छिन् । महिला निर्देशकलाई कमै विश्वास गरिने नेपाली परिवेशमा पनि उनले आफ्नो क्षमता देखाइन् ।
समुन्द्रले दुबै फिल्मलाई ब्यापारिक रुपमा सफलता दिलाउन भने सकिनन् । तर, उनको निर्देशन गर्ने आँट र क्षमताका प्रशंसक प्रशस्तै छन् ।
तस्बिर : गुगल तथा मेरोफिल्म आर्काइभ