नर्वेमा फिल्म ‘बोबी’ प्रिमियर

मिलन चाम्स निर्देशित सत्यकथामा आधारित फिल्म ‘बोबी’ पहिलो पटक नर्वेमा प्रिमियर गरिएको छ । नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको फिल्म हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए ।

सफल प्रिमियर पश्चात चाम्सले नेपाली फिल्मको लागि बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो । फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका रहेको छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र समेटिएको छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।