चलचित्र संघ र निर्माता संघबिच १७ बुँदे सम्झौता (२०७५ र २०६० सालमा भएको सम्झौता सहित)

नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबिच देखिएको विवादको टुङ्गो लागेको छ । उनिहरु बिच १८ बुँदे सम्झौता भएको छ । विवाद समाधानका लागि गठन गरिएको दुबै संघका कार्यदलमा रहेका सदस्यको हस्ताक्षर रहेको सम्झौता पत्र सोमबार एक कार्यक्रमका बिच आदान प्रदान गरिएको छ ।

कार्यक्रममा यसअघी २०६० सालमा भएको सम्झौताको बिषयमा समेत कुरा उठेको थियो । ६० सालमा भएको सम्झौता बिशेष गरी निर्माताहरुको हितमा भएको तर अहिले ७५सालको सम्झौताले निर्माताहरुले उठाएको मागको सम्बोधन गरेपनी ६० साल सरह निर्माताहरुलाई सम्बोधन गर्न नसकेको बिषयमा समेत कुरा उठेको थियो । २०६० सालमा भएको सम्झौता एक्सक्लुसिभ रुपमा मेरोफिल्म टिमले प्राप्त गरेको छ ।
के थियो ६० सालको सम्झौतामा ? तलको फोटोमा हेर्नुहोस :-


जेष्ठ ४ गते देखी कुनै पनि फिल्म हलमा चल्न नदिने भन्दै आन्दोलनको तयारीमा रहेको निर्माता संघ र चलचित्र संघ बिच सम्झौता भएसँगै जेष्ठ महिनामा फिल्म प्रदर्शन डेट लिएर अन्योलमा परेका फिल्मकर्मीले राहत पाएका छन ।

यही जेठ ४ गतेदेखि लागु हुनेगरी गरिएको सम्झौता पत्रमा उल्लेख १७ बुँदा

१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर , ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टी प्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।

४. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

५. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५०।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकरट दर रु. २००।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टीप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टीप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टीप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूवाधार पूरा गरेमा मल्टीप्लेक्सको मान्यता हुनेछ ।

६. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।

७. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।

८. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।

९. यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

१०. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।

११. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।

१२. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।

१३. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।

१४. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।

१५. डि. सि. पी. फाइल तथा भि. पी. सी. र के डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।

१६. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।

१७. निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।

कार्यदल

नेपाल चलचित्र संघ 
१. श्री भाष्कर ढंगाना (संयोजक)
२. श्री नरेन्द्र महर्जन सदस्य
३. श्री गोपालकाजी कायस्थ सदस्य
४. श्री त्रिरत्न मानन्धर सदस्य
५. श्री भरत अग्रवाल सदस्य

नेपाल चलचित्र निर्माता संघ 
१. श्री केशव भट्टराई (संयोजक)
२. श्री छविराज ओझा सदस्य
३. श्री दीपक राज गिरी सदस्य
४. श्री निश्चल बस्नेत सदस्य
५. श्री अर्जुन कुमार डंगोल सदस्य
६. श्री भुवन के.सी. सदस्य