शिवले झुक्किएरै भनिदिए छोराको उमेर

कहिलेकाही के बोल्छु भन्दा के हुन्छ । कतिपय भन्दिन भनेर लुकाउन खोजिएका कुरा पनि लुक्न सक्दैनन् । अभिनेता तथा निर्माता शिव श्रेष्ठले मंगलबार यस्तै कुरा बोले, जुन उनले चाहेका थिएनन् । शिव श्रेष्ठ नेपाली फिल्ममा ३ दशकदेखि सक्रिय छन् । फिल्म क्षेत्रमा उनलाई ‘ठूल्दाई’ पनि भनिन्छ ।

शिवका सन्तानको बारेमा पनि खुबै चासो राख्छन् दर्शक । तर, शिवले अहिलेसम्म फिल्म क्षेत्रमा आफ्ना सन्तानलाई भित्राउन सकेका थिएनन् । तर, अब भने उनका छोरा शक्ति श्रेष्ठ फिल्म क्षेत्रमा अभिनेताको रुपमा आउँदैछन् । शिव श्रेष्ठका छोरा कुन उमेरमा फिल्म क्षेत्रमा आउन लागेका हुन् भन्ने चासो पनि दर्शकलाई छ । तर, शिव छोराको उमेर खुलाउन चाहिरहेका थिएनन् । तर, मंगलबार उनकै मुखबाट छोराको उमेर खुल्यो ।
शिवले भनाई राख्दा भने–‘मेरो छोराले ३० बर्षदेखि साँचेको सपना बल्ल पुरा भएको छ । ३० बर्षदेखि उ हिरो बन्न चाहन्थ्यो ।’ शिवले यसो भनिरहँदा हलमा हाँसो गुञ्जियो । यसपछि, उनले फेरि २५ बर्षदेखि भन्दै सच्चाए । तर, जे भनेपनि शिवका छोराको उमेर उनले नै खुलाइदिए ।
३० बर्षदेखि फिल्म क्षेत्रमा आउन चाहेका शिवका छोरा शक्तिको उमेर कति होला, दर्शक आफैले अनुमान लगाउन सक्नेछन् ।