कलाकर्मी जो अपराधमा मुछिए

‘कलाकार देशको गहना हुन्’ यसमा कसैको दुईमत नहोला । तर, पछिल्लो समयमा कला क्षेत्रमा लागेकाहरु ‘सेलिब्रेटी’ भएको फाइदा उठाएर कानुन विपरितका काममा लाग्ने क्रम बढेर गएको छ । ‘पैसाका लागि जे पनि गर्न तयार हुने’ क्रमले फिल्मसहित कलाक्षेत्रलाई गाँज्दै लगेको छ ।
पछिल्लो एकवर्ष कै घटनालाई नियाल्ने हो भने अब फिल्मसहितको कला क्षेत्रका व्यक्तिहरु अपराध कर्ममा मुछिने क्रम ह्वात्तै बढेको छ । मानवतस्करीदेखि नक्कलीनोटको कारोबारसम्ममा फिल्मकर्मीहरु मुछिएका छन् ।

बुधबार निर्माता माधव वाग्लेसहित अन्य केही कारोबारी २ करोड नक्कली रुपैयाँसहित पक्राउ परेका छन् । नेपाली चलचित्रमा नयाँ ट्रेण्ड सेट गरेको ‘लुट’ फिल्मका निर्माता नै नक्कली नोटको कारोबार मुद्दामा मुछिएका छन् । यो संयोग मात्रै नहुन सक्छ कि पैसा तानातानको दृश्य राखेर फिल्म बनाउने निर्माता नक्कली पैसाकै कारोबारका आरोपमा फसेका छन् । सत्य के हो बाहिर आउनै बाँकी छ तर सामान्य मानिसले पनि गर्न नहुने गल्ती वाग्लेले गरेका छन् । वाग्ले नेपाली चलचित्रमा कहलिएका निर्माता हुन् ।

सबैलाई अहिले यही कुराले अच्चममा पारेको छ कि उनलाई के हात पार्नु थियो र यस्तो कुकर्म रोजे ? आरोप मुछिँदैमा उनले यो काम गरे भन्न त सकिँदैन । तर, उनी नयाँ फिल्म ‘चङ्गाचेट’ निर्माणका लागि नक्कली नोट छाप्दै थिए भन्ने दाबी प्रहरीको छ । उनले के गरे अनुसन्धानले बोल्ला, तर यसले फिल्म क्षेत्रलाई भने पाठ सिकाएकै छ । फिल्म तथा कलाकर्मी माथि नागरिकको अगाध विश्वास छ ।

नागरिक मात्रै हैन, प्रहरी प्रशासन पनि उनीहरुलाई उच्च सम्मान नै गर्छ, आशंका कम गर्छ । तर, पछिल्लो समयमा यही विश्वास र सम्मानलाई टेकेर फिल्म तथा कलाकर्मीहरु विभिन्न आपराधिक र गैरकानुनी काममा संलग्न हुने क्रम बढेको छ । निर्माता वाग्ले यो क्रमका पछिल्लो अनुहार मात्र हुन् । थुप्रै नाम छन् जो विभिन्न समयमा प्रहरीको खोरमा पुगेका छन् ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि केही समयअघि मात्रै धरौटी बुझाएर जेलबाट रिहा भएका छन् । सयौं फिल्ममा द्वन्द्व निर्देशन गरेका खड्गीमाथि मानवतस्करीको आरोप छ । थुप्रै चलचित्रमा खलनायकको भूमिका निभाएका खड्गी ‘रिल लाइफ’मा धेरैपटक जेल बसेका थिए ।
तर, उनी गत वर्ष रियल लाइफमै प्रहरी हिरासतमा बस्नुपर्यो । हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको मुद्धा चलेको छ । यसमा दोषी ठहरिए भने उनलाई २० वर्ष (जन्मकैद) सम्म जेल सजाय हुन सक्ने अवस्था छ । पछिल्लो समय कलाकारका नाममा विभिन्न व्यक्तिहरु विदेश पुर्याउने काममा फिल्म तथा कलाकर्मी सक्रिय छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रममा जाँदा आफ्नो टोलीमा राखेर लैजाने र उतैबाट भगाउने धन्दा मौलाएको छ । यसबापत कुस्त रकम ती भगौडासँग लिन्छन्, कलाकर्मी । खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई पछिल्लो समयमा कलाककर्मीले पनि सम्हालेका छन् ।

गत माघमा सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोलीसहित कोरिया पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डमा त्यस्तो विवरण भए पनि फर्किने बेलामा दुईजना भेटिए । दक्षिण कोरियास्थित नेपाली दूतावासको कार्यालयले नेपालबाट आएका एकजना कलाकारसँग यहाँ आएका ११ जना नफर्किएका सूचना प्रहरीलाई दिएको थियो । ती कलाकार थिए, द्वन्द्व निर्देशक खड्गी ।
प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । कलाकार तथा फिल्मकर्मीले कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भन्दै विदेश छिराएर छाड्ने गरेको तथ्य घटनाको पर्दाफास यसैमार्फत भयो । खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका सूचना प्रहरीलाई थियो । दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशहरुमा भिसा लगाउन समस्या हुने भएकाले युवाहरु मोटो रकम बुझाएर कलाकारसँगै त्यहाँ पुग्ने गरेका छन् ।

नेपालमा सबैभन्दा धेरै फिल्ममा द्वन्द्व निर्देशन गरेका छन्, खड्गीले । स्व. गोपाल भुटानीको चेला पनि हुन् । हेटौंडामा मुड्कीले हानेर राँगो ढलाएपछि चर्चित बनेका उनले फिल्म क्षेत्रमा निकै संघर्ष गरेका थिए । अन्तिममा भने उनी मानवतस्करीको आरोपमा मुछिए ।
पाँच वर्षदेखि चलचित्र नपाएका खड्गी मानव बेचविखनको अभियोगमा समातिँदा धेरै अच्चम्ममा परे । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी माओवादीमा प्रवेश पनि गरेका थिए । त्यसैका आडमा उनले मानवतस्करीको धन्दा चलाएको आरोप प्रहरीले लगाएको थियो ।

यसरी गैरकानुनी काममा मुछिनेमा फिल्मकर्मी मात्रै छैनन् । कला क्षेत्रका गायक गायिका तथा मोडलहरु पनि यस्ता मुद्धामा मुछिएका छन् । केही समयअघि गायक बद्री पंगेनी जुवाखालबाटै पक्राउ परेका थिए । पंगेनीले अस्वीकार गरेपनि प्रहरीले त्यसको पुष्टि गरेको थियो ।
लोक गायिका श्रृजना बिरही थापा पनि गैरकानुनी काममा संलग्न भएको अभियोगमा प्रहरीको खोरमा पुगेकी थिइन् । उनलाई अवैध रुपमा ढुकुटी खेलाएको आरोप थियो ।

एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने त्यसको पछिल्लो उदाहरण हुन् । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेमाथि ३६ लाख ठगी गरेको आरोप छ । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्थामार्फत ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ चलाएर लाखौं रुपैयाँ ठगी गरेको अभियोग रोमा माथि आरोप छ । २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो । तर, अभियुक्त रोमा फरार थिइन्, पछि उनी पक्राउ परिन् ।

चलचित्र निर्देशक जनकप्रसाद पराजुली पनि यस्तै मुद्दामा मुछिएका थिए । कालिमाटीस्थित रिनाउन सहकारीबाट पैसा उठाएर भागेको आरोपमा दुई वर्षअघि उनी समातिएका थिए । रिनाउन सहकारी संस्थाका पदाधिकारीहरु मिलेर ९ करोड ठगी गरेको मुद्दा चलेको थियो । पराजुली ‘प्रोड्युसर’ नामक फिल्मका निर्देशक पनि हुन् ।

नेपाली चलचित्र ‘श्रीमान’ का नायक पुष्पराज पुरुष पनि ठगी आरोपमा मुछिएका छन् । अर्काको नाममा भएको जग्गालाई नक्कली लालपूर्जा देखाएर कीर्ते गरी ८ करोड ३७ लाख ठगी गरेको आरोपमा पुरुष पक्राउ परेका थिए । पुरुष अभिनित चलचित्र श्रीमान चार वर्ष अघि रिलिज भएको थियो ।

गायक प्रकाश ओझा पनि अपराधकर्ममा तानिएका चर्चित पात्र हुन् । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोप उनीमाथि थियो । अदालतबाट १० वर्षको काराबास सजाय पाएका गायक प्रकाश ओझा अहिले पनि जेलकै हावा खाइरहेका छन् । सर्वोच्च अदालतले उनलाई मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो ।

गैरकानुनी काम गरेको अभियोगमा ‘कृ’का निर्माता सुवास गिरीले पनि एक रात प्रहरी खोरमा बिताएका थिए । उनलाई अर्काको गीत अनुमतिबेगर प्रयोग गरेको आरोप थियो ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी एक दिन हिरासतमा बसे । सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि‘’ बोलको गीत चोरेको अभियोगमा उनले ११ लाख रुपैयाँ क्षतिपूर्ति दिएपछि विवाद मिलेको थियो । प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार कारवाही प्रक्रिया अघि बढ्दै गर्दा मिलापत्र गरेर निर्माता गिरी छुटेका थिए ।

गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल पनि पन्चकन्या ग्रुपमा करोडौं ठगेको आरोपमा जेल परेका थिए । योगेन्द्र केही समयअघि धरौटीमा छुटेको बुझिएको छ ।
यसरी पछिल्लो समयमा कलाकारहरु विभिन्न आपराधिक स्क्यान्डलमा फस्ने क्रम बढ्दै गएको देखिन्छ । यसले अन्नतः फिल्म क्षेत्रलाई नै बदनाम र धरासायी बनाउन सक्ने देखिन्छ । यसैपनि ग्ल्यामरका नममा हुने धेरै यौनजन्य हिंसाका घटना बाहिर आउन नकसकेको परिस्थितिमा फौजदारी र सार्वजनिक अपराधका अभियोगमै फिल्मकर्मी पक्राउ पर्न थाल्नु दुःखद हो । फिल्म तथा समग्र कलाकर्मीले यस विषयमा केही चिन्तन गर्ने बेला भएको छ ।
तस्बिर : गुगल