‘साइनो’ बनाउँदै भुवन चन्द र चैत्यदेवी

आजभन्दा ५३ वर्षअघि बनेको फिल्म ‘आमा’लाई नेपालकै पहिलो फिल्म मानिन्छ । यही फिल्ममा अभिनय गरेकी भुवन चन्द नेपालको पहिलो अभिनेत्रीको रुपमा परिचित छिन् । यही फिल्ममा चैत्यदेवीले पनि अभिनय गरेकी छिन् । ऐतिहासिक फिल्मका यही दुई अभिनेत्री अब भने फिल्म निर्माणमा सक्रिय हुने भएका छन् ।

मेरो फिल्मलाई प्राप्त जानकारी अनुसार दुवै मिलेर निर्माण गर्ने फिल्मको नाम ‘साइनो’ जुराइएको छ । फिल्मलाई विगत १८ वर्षदेखि महाराजगञ्जमा आस्था कलाकेन्द्र सन्चालन गरिरहेका रमेश थापाले निर्देशन गर्नेछन् ।
निर्देशक रमेश थापाले चाँडै नै फिल्मको सुटिङ थाल्ने जानकारी गराए ।

‘स्क्रिृप्टको काम भइरहेको छ । फिल्मको मेल लिड फाइनल भइसकेका छन् । हिरोइनका लागि सारा श्रीपालीनीता ढुंगानासँग कुरा भइरहेको छ,’ थापाले भने । थापाले फिल्म ट्रयाङगुलर लभस्टोरी हुने जानकारी गराए । फिल्मको मेल लिडमा भने एभरेस्ट एकेडेमीका अभिनयका विद्यार्थी राजकुमार फाइनल भइसकेको पनि उनले बताए ।

फिल्म निर्माणमा आउन लागेको अभिनेत्री भुवन चन्दले पनि पुष्टि गरिन् । तर उनले फिल्म सम्बन्धी सम्पूर्ण जानकारी निर्देशकसँग नै लिन आग्रह गरिन् ।
‘हो, हामी फिल्म बनाउँदैछौं । स्क्रिृप्टको काम लगभग सकिएको छ । केही कलाकार फाइनल भइसकेका छन् र केही हुन बाँकी छन् । चाँडै सम्पूर्ण कुरा बाहिर ल्याउने छौं,’ चन्दले भनिन् । फिल्ममा बसन्त सापकोटाको संगीत रहनेछ ।

फिल्ममा अभिमन्यु निरवीको लेखन र रामशरण  कोइरालाको मुख्य सहायक निर्देशन रहनेछ ।