‘जाइरा’मा मार्शल आर्ट लुक्समा नम्रता

प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र ‘जाइरा’मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो । पोष्टरमार्फत कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ‘जाइरा’का कलाकार चलचित्रकै लुक्समा उपस्थित भएका थिए ।

यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याएकी अभिनेत्री नम्रता श्रेष्ठलाई खेलाडी लुक्समा सजिलै चिन्न गाह्रो पर्थ्यो । डेब्यू गर्ल सृजना रेग्मी पनि खेलाडी लुक्समा उपस्थित भएकी थिइन् । चलचित्रमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् ।

अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको यस चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । निर्देशक आशुतोष राज श्रेष्ठले ‘जाइरा’ आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिए ।

उनले चलचित्र एक्सन जनरामा निर्माण भएको बताए । यस चलचित्रका लागि अभिनेत्री श्रेष्ठले आफ्नो ५१ किलो तौलबाट घटाएर ४३ केजी तौल बनाएकी छिन् भने आफ्नो लोभलाग्दो कपाल पनि छोट्याएकी छिन् । कार्यक्रममा नम्रताले भनिन्, ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ । अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो’ ।

उनि पहिलो पटक फरक भूमिकामा देखिन लागेकोमा आनन्द महशुस गरेको बताइन् । ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यसको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । केशव थापाको नृत्य निर्देशन रहेको फिल्ममा डिओपी बाबु श्रेष्ठको रहेको छ ।