यसरी जन्मिए बजार पिटेका ६ गीत

नेपाली फिल्ममा पछिल्लो समयमा हिट गीतहरुको लहर छ । तर, विशेष चर्चा पाउने गीतको संख्या कम नै छ । विशेष गरी राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको रचना र संगीतलाई खुबै रुचाइन थालेको छ । मौलिकसँगै फरक स्वादका गीत पस्किन माहिर मानिन थालेका छन् उनीहरु ।

अन्य केही गीत तथा संगीतकार पनि अहिले राम्रो र फरक किसिमका गीत सिर्जनामा लागेका छन् । नेपाली चलचित्रमा प्रयोग भएका केही गीतहरु हिट मात्रै भएनन्, तिनले यसरी बजार पिटे कि फिल्म हलसम्म दर्शक तान्न एउटै गीत काफी हुने अवस्थासम्म आयो ।

यसअघि पनि नेपाली फिल्मका गीतहरु हिट नहुने भने हाइन, तर, युट्युब भ्युजमा रेकर्ड बनाउने काम भने पछिल्लो समयमा आएका गीतले नै गरे । यी गीतहरु सामान्य बालकदेखि वृद्धसम्मको मुखमा झुण्डिए ।

नेपाली गीत बिहे, भोजभतेर, पिकनिक, डान्स पार्टी जताततै बज्न थालेका छन् । यस्ता केही गीतहरु कसरी रचिए भन्नेबारे गीकार तथा संगीतकारले आफ्नो भनाइ सार्वजनिक रुपमै राखिसकेका छन् । केही त्यस्ता गीतहरुको रचना कसरी भयो भन्नेबारे यहाँ चर्चा गरिन्छ ।

‘पूर्व–पश्चिम रेल’

छक्कापञ्जामा राखिएको गीत हो, पूर्वपश्चिम रेल । यो गीतको युट्युबमा २ करोड ७५ लाखभन्दा बढीपठटक हेरिएको छ । यो गीतका सर्जक हुन्, राजनराज शिवाकोटी । यो गीत दोलखामा गाउँ घुम्दै गर्दा फुरेको थियो उनलाई । दोलखा उनको घर । गाउँमा गएका बेला घुम्न भनेर घरमाथिको डाँडातिर उकालो लागे । डाँडाबाट रमणीय जंगल देखिन्छ । त्यहा चराचरुङ्गीको आवाज गुन्जिने नै भयो । त्यही जंगलमा रचेको ‘सुर्के थैली’ले बजाार पिट्दै गर्दा उनलाई सोही ठाउँमा यो गीत फुरेको हो ।

सुरुमा उनलाई यो गीत फिल्मका लागि उपयुक्त हुन्छ भन्ने लागेको थिएन । उनले यो गीतलाई विकाससँग जोडेका थिए । नेपालमा पूर्व–पश्चिम रेल चल्ने कुरा चर्चामा थियो । त्यही विषयलाई टिपेका थिए उनले । उनको पनि चाहाना नेपालमा रेल छिट्टै चलोस् भन्ने थियो ।

मेलम्चीको पानी झरेर काठमाडौंका जनताले पानी पिएको देख्ने चाहना राख्दै उनले लेखेका हुन् –

काकाकुल झैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी
मेलम्चीको पानी सुन्धारामा झरेको
सपना देखेँ मायालु, मैले तिम्रो सिउँदो भरेको

यो गीतमा उनले संगीत राखेर हेरे । रेलको सपना अहिल्यै पुरा हुने अवस्था थिएन । तर, नेताहरुले मेलम्ची भने अब आइहाल्छ भनिरहेका थिए । त्यसैले यो गीतलाई उनले तत्कालका लागि थन्क्याए ।
दीपकराज गिरीले ‘छक्का पञ्जा’मा राख्ने गीतबारे उनीसँग परामर्श गरे । राजनले त्यही गीत सुनाई हेरे ।
‘मेलम्चीको पानी सुन्धारामा झरेको’ कुरा असान्दर्भिक नहोस् फिल्मको नामसँग पनि म्याच होस् भनेर सजिलो हुने गरी ‘एक दुई तीन चार पाँच, गन्दै हिसाब गरेको’ राखियो । र, राजनराज र अञ्जु पन्तले गाए । गीत हिट भयो ।
‘पारी त्यो डाँडामा’

चलचित्र ‘रेसम फिलिली’मा राखिएको ‘पारी त्यो डाँडामा’ सर्वाधिक चर्चा बटुलेको फिल्मी गीतको सूचीमा अगाडि छ । यो गीत कालीप्रसाद बास्कोटाले तयार गरेका हुन । बास्तवमा फिल्मका लागि भनेर यो गीत तयार भएको थिएन ।

फिल्म बन्नुभन्दा करिब २ वर्ष अघि नै तयार भएको गीत थियो यो । गीतमा मौलिकपन उतार्ने सोचका साथ यसको जन्म भएको थियो । त्यसका लागि चलनचल्तीको शब्दलाई जस्ताको तस्तै उतार्ने सोचमा यसको रचना भएको थियो ।
गाउँको एउटा नपढेको युवाले आफूलाई मनपरेकी युवतीलाई प्रेमका लागि फकाउँदा कसरी बोल्छ त्यही कुरा यो गीतमा समेटिएको थियो । गीतमा केटीलाई बाठी बनाएर प्रस्तुत गर्नु थियो । त्यही सोचका साथ गीत बनाउँदै गर्दा फुरेको हो ‘पारि त्यो डाडाँमा हेर, घामलाग्यो घमाइलो…।’

उनले गीत लेख्दा मात्रै हैन, गाउँदासम्म पनि यसमा सरलतालाई महत्व दिएका थिए । सबैको जिब्रो झुण्डिन सकोस् भन्ने उद्देश्यले उनले यसलाई तयार गरेका थिए । ‘रेसम फिलिली’मा संगीत भर्नुपर्ने भएपछि उनले यो गीतलाई राख्ने निधो गरे । फिल्मका पात्रसँग मिलाउन आफूले पहिले नै तयार गरेको भन्दा केही परिवर्तन गरे कालीले ।

यो गीत जयनन्द लामालाई गाउन दिने योजना थियो । तर, कालीको सपना पूरा भएन । पहिलोपटक उनले आफैंले गीत गाए । फिमेल भोकलका लागि सोमिया बराइलीलाई रोजे । गीत आएपछि एकाएक हिट भयो । फिल्मको प्रचारका लागि यही एउटा गीत नै काफी भयो ।भिडियो नबन्दै यसरी चर्चामा आएको यो गीतको भिडियोलाई भने दर्शले रुचाएनन् । तर, गीत अहिलेसम्म पनि हिट नै छ ।

‘काउ सङ्ग’

ब्लिउड फिल्मको नक्कल भनेर आलोचित भए पनि केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’को चर्चित गीत हो,‘सिओडब्लु–काउ’ । यो पनि युट्युबमा १ करोड बढी दर्शक पाइसकेको गीत हो । ‘कोहलपुर एक्स्प्रेस’को लागि केकीले गीत माग गरिन् । राजनराजले केकीको आग्रहलाई स्वीकारे ।

राजनले डायरी पल्टाएर हेरे । फिल्मको विषयवस्तु सुनिसकेकाले कस्तो गीत उपयुक्त हुन्छ भन्नेमा राजन धेरै अलमलमा थिएनन् । डायरीमा तीन वर्ष पुरानो गीत भेटियो । तर, निकै पुरालो खालको । त्यही गीतलाई उनले नयाँ रुपमा प्रस्तुत गर्ने योजना बुने र शब्द काट्ने थप्ने गर्न थाले । काँटछाँट धेरैपटक गरे । सोचेजस्तो बनिरहेको थिएन ।

पुराना आफ्ना गीतहरु सम्झिए । सुर्के थैलीको ‘क का कि की’, पूर्वपश्चिम रेलको १२३४५ । मान्छेको मुखमा सजिलो रुपमा उच्चारण हुने केही शब्द यसमा पनि घुसाउने सोचे । यस्ता सजिलो पनले मौलिकता पनि बोक्नु पर्ने उनले बुझिसकेका थिए । अरु गीतमा जस्तै बच्चाले पनि बोल्न सक्ने केही त फुराउन पर्ने थियो । त्यसैले अंग्रेजी अल्फाबेट प्रयोग गर्नेबारे सोचे ।

गीतको स्थाई र अन्तरामा चलाउन थाले । जहाँ जहाँ मिल्ने जस्तो लाग्छ, त्यहाँ ‘आर ओ एस ई ‘रोज’ र सि ओ डब्यू ‘काउ’ हाली हेरे । त्यसमा टिपिकल नेपाली शब्दहरु कायम राखे । ‘चोखे लाग्ला है,’ ‘जतन गरी राखे’, कठैबरी.., लगायत ।
उनले बनेको गीतलाई मोबाइलमा रेकर्ड गरेर राखे । केकीलाई भेटेर सुनाए । गीत फाइनल भयो । अहिले ‘काउ सङग’ धेरैको मुख–मुखमा झुण्डिएको छ ।

‘सुर्के थैली खै’

नेपाली चलचित्रका फेरि मौलिक लोक गीतहरु फिर्ता ल्याउने श्रेय ‘सुर्के थैली’लाई नै जान्छ । ‘६ एका ६’ मा राखिएको यो गीत युट्यबमा २ करोड ६७ लाख पटक हेरिएको छ । यो गीतका सर्जक पनि राजनराज नै हुन् । यो गीत फिल्म बन्नुभन्दा चार वर्षअघि नै रेकर्ड गरिएको थियो । रेडियोहरुमा बजेको पनि थियो । जसलाई दीपाश्री निरौलाले सुनेकी थिइन् । उनकै मागमा यो गीत फिल्ममा राखिएको थियो । यो गीतको जन्म पनि राजनराजको जन्मस्थल दोलखास्थित आफ्नै गाउँमा भएको थियो । गाउँ पुग्नासाथ दोलखाको डाँडावारीमा घरमाथिको जंगलमा जानु राजनको नियमित कर्म नै हो ।

त्यो जंगलमा बसेर प्रकृतिको रसस्वादन गर्दै सिर्जनाहरु गर्नु उनलाई मन पर्छ । जंगल घुम्दै गर्दा ‘सुर्के थैली खै’ बोलको गीतको स्थायी फुर्यो । गाउँमा उनले ‘सुर्के थैली’ देखेकै थिए ।
हजुरआमाको सुर्के थैलीलाई सम्झिएर उनले उने यो गीत रचना गरे । घरमा आएपछि केही लाइन थपे । गीतलाई पूर्णता भने काठमाडौंमै आएर दिए ।

शब्द फाइनल भएपनि संगीत कस्तो खालको गर्ने भन्ने अन्योल थियो । फेरि गाउँ पुग्दा जंगलमै बसेर गीतको ट्युन फुराए । गीत तयार भए पनि रेकर्ड नगरी बसेका बेला राजनलाई राजु विश्वकर्माले गीत रेकर्ड गर्न हौस्याए ।
यो गीतमा दीपाश्री निरौला र सिताराम कट्टेलल ‘धुर्मुस’लाई खेलाउने योजना थियो उनको । तर, जब फिल्ममा नै यो गीत गयो, उनले आफैंले धेरै मिहिनेत गर्नुपरेन । गीतमा चर्चित कलाकारहरु नै देखिए ।

‘निर जैल्यै रिसाउनी’

‘पुरानो डुंगा’ चलचित्रमा राखिएको ‘निर जैल्यै रिसाउनी’ गीत पनि नेपाली चलचित्रमा हिट भएका गीतको सूचीमा आग्रभागमै आउँछ । यसका सर्जक हुन्, कालीप्रसाद बास्कोटा ।
कार्यक्रमको सिलसिलामा पोखरा पुगेर फर्किने क्रममा माइक्रो रोकिएको ठाउँमा गाइनेहरुले गीत गाएको उनले सुने । ती गाइनेहरु कोही स्थानीय लवजमा राष्ट्रिय कलाकार गीत गाउँदै थिए भने कोही स्थानीय लवमा विभिन्न कथा ब्यथालाई गीतमा उतार्दै थिए ।

त्यही बेलममा कालीप्रसादलाई लाग्यो, स्थानीय गीतलाई गजबसँग बनाउन सकियो भने त्यो राष्ट्रिय बन्छ । उनले लोकल लवजमा स्थानीयले प्रयोग गर्ने शब्दलाई जोडेर मौलिकपनसहित गीत बनाउने सोच बनाए । घर आएर त्यस्तो गीत बनाउन खोजे । लामो समय मिहिनेत गर्दा पनि सोचेको जस्तो लय फुरेन ।

त्यसपछि उनी फेरि गाइनेका गीत सुन्न पोखरा पुगे । गाइनेका गीत सुने, शब्द टिपे र सारंगीका धुनलाई सम्झिए । अनि काठमाडौं फर्किए । त्यसपछि बल्ल ट्युन तयार भयो । झण्डै ५ महिनापछि उनले सोचेको जस्तो गीत बन्ने अवस्था देखियो । पोखरमा टिपिएका ‘रिसाउनी’, ‘मिसाउनी’ ‘फकाउनी’, ‘सेतीबगर’ शब्दलाई गीतमा राखे । त्यही बेला चलचित्र निर्देशक रामबाबु गुरुङले कालीप्रसादलाई चलचित्रका लागि गीत बनाउन अनुरोध गरे ।

पोखरामा पुगेर फिल्मको सेट हेरेर फर्किएपछि उनले गीत फाइनल गरे । तयार भएको गीत श्रीमतिलाई सुनाए । श्रीमतिले ‘राम्रो छ’ भनेपछि उनले पटक–पटक विभिन्न बाजा–गाजालाई प्रधानता दिँदै मिक्सिङ गराए । ठीक हुने वाद्यवाधनलाई रोजे । निकै लामो मिहिनेत पछि गीत रेकर्ड भयो ।

‘कुुटुमा कुटु’

सबैभन्दा धेरै हेरिएको युट्युब भिडियो हो, ‘कुटुमा कुटु’ । चलचित्र दुई रुपैयाँमा राखिएको यो गीतलाई अहिलेसम्म ६ करोड १२ लाख पटक हेरिएको छ । यो नेपाली श्रब्यदृश्य संगीतमा नयाँ रेकर्ड हो । यसका सर्जक पनि राजन नै हुन् ।
निश्चल बस्नेत, आसिफ शाह, बुद्धी तामाङ र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचरिङ गराइएको यो गीतलाई तत्कालै कुनै नेपाली गीतले उछिन्ने अवस्था पनि छैन ।

यो गीत पनि राजनले आफ्नै गाउँमा बसेर रचेका थिए । जंगलमा मौवाको रुखको फेंदमा बसेर पात झरेर नाङगो भएका रुख बिरुवा हेर्दै प्रकतिको रमाइरहँदा फरेको हो, ‘कुटुमा कुटु’ । उनले गीतमा गाउँ घरकै शब्दहरुलाई उतार्न प्रयास गरे । कालीनाग, डाँडापारीको सुन्तोला, कालो दाँत जस्ता शब्द उनको गाउँ घरकै परवेशबाट टिपे ।

कुलदेउताका कालिनाग, बारीको सुन्ताला, चिनीका बट्टाभित्र पसेका कमिला, चौतारोमा सुर्ती पड्काउँदै खाइरहेका मान्छेको भीड, त्यो भीडमा मान्छे हाँस्दै गर्दा देखिने कालो दाँत यिनै प्रसंगलाई यहाँ जोडे । ती सबै विषयलाई टिपेर तयार भएको गीतलाई लोक भाकामा हाले । गीत तयार भयो । यही गीतलाई आशिफ शाहले सहर्ष फिल्मका लागि लिए । जुन गीत नेपाली संगीतमा रेर्कड बनाउन सफल छ ।