उही क्यारेक्टर हुँदा त मजा नै आउँदैन – ऋचा शर्मा

सुनकेशरी पानीपुरीजस्तै छ, खान आउनुस् है ? – अर्पण थापा
- मेराेफिल्म

दिपेन्द्र घिमिरे – नेपाली रजतपटकी जल्दीबल्दी नायिका हुन् ऋचा शर्मा । थुप्रै फिल्ममा लिड रोल गरेर नाम कमाएकी ऋचा अहिले फिल्म निर्माताको पंक्तिमा लगातार उभिइरहेकी छिन् । फिल्ममा कलाकारिता मात्र होइन, पैसा नै लगानी गर्ने हिरोइनको लाममा उभिन आएकी ऋचाको ‘सुनकेशरी’ चलचित्र भोलि शुक्रबार रिलिज हुँदै छ ।

नेपाली हरर फिल्मको कोसेली लिएर आएकी ऋचाले दर्शकलाई तर्साउने मात्र हुन् कि मोहित पार्नेछिन्, त्यो त चलचित्रको व्यापार र चर्चाले नै निक्र्याेल गर्नेछ । तर, एउटी सफल नायिकाको पगरी गुथिसकेकी ऋचालाई निर्माता परिचयको शृंखला बढाउन भने यसले पक्कै सहयोग गर्नेछ ।

हरेक सिर्जनाको एउटा रचनागर्भ हुन्छ । कसरी बन्यो त चलचित्र ‘सुनकेशरी’ ? ऋचा भन्छिन्, ‘सानैदेखि म हरर फिल्म हेर्थें । नछुटाई हेर्थें । हरर फिल्मको असल दर्शकका रुपमा पनि मैले यतातिर काम गर्नेबारे सोचेको थिएँ ।’ नेपालमा हरर फिल्मको हिस्ट्री अपडेटेड नभएजस्तो लाग्थ्यो उनलाई । नेपाली हरर फिल्म ‘माला’ आयो, ऋचाले हेरिन् तर चित्त बुझेन । ‘त्यसमा एक दुई मुभमेन्ट थियो जुन चै एकदमै इङ्गेजिङ थियो,’ भन्छिन्, ‘बुज बन्जस् नै आउने खालको ।’

अहिलेका दर्शक कस्ता छन्, ऋचालाई राम्ररी थाहा छ । इन्टरनेसनल लेभलको ‘एभेन्जर्स’ हेर्ने भइसके नेपाली । भन्छिन्, ‘दर्शक एकदमै स्मार्ट भइसक्नुभयो, दर्शक भ्युइङ हेरेर मैले यस्तो फिल्म बनाउने निर्णय गरेँ ।’
ऋचाले यस्तो फिल्म बनाउनेबारे सोचेकी मात्र के थिइन्, निर्माता–निर्देशक अर्पण थापासँग फेला परिहाल्यो, कथा । अर्पणले २००७ मै ‘माया’ शीर्षकमा लेखेको कथाकै नयाँ अवतार ‘सुनकेशरी’ रहेछ ।

‘कथा भनेकै एउटा टुक्राबाट सुरु हुन्छ । खासमा मैले लेख्दा क्यारेक्टर अलि फरक थियो । त्यो कथा लेख्न म आफ्नै काकीको मृत्युबाट प्रेरित भएको थिएँ । उहाँ डेलिभरी हुने क्रममा बित्नुभयो । म सानै थिएँ । भूतको कल्पना मेरो मनमा त्यही बेला आएको थियो,’ अर्पणले कथाको फुर्काे उघारे ।

कथा लेख्दाखेरिको अर्पणको सम्झना नै डरलाग्दो छ । काकीको काजकिरियामा रातिराति गाउँका मान्छे बोलाउन उनी पनि जानुपरेछ । त्यतिबेलै उनको मनमा भूतको कल्पना आयो । ‘काकी हामीलाई खुब माया गर्नुहुन्थ्यो, खान बोलाइरहनुहुन्थ्यो । त्यो घटनाबाट म निकै डराएँ । धेरै म्याच्युअर नभएर नि होला । काकीको भूत मेरो मनमा रहिरह्यो पछिसम्म,’ अर्पणजे सुनाए, ‘त्यही विषयलाई सम्झेर २००७ मा मैले ‘माया’ भन्ने कथा लेखेको थिएँ ।’

माया कसरी बदलिइन् त सुनकेशरीमा ? अष्ट्रेलिया जानुअघि यो माया नै थियो रे । लगानीकर्ता खोजीका क्रममा यसको नामबारे कुरा भएछ । ‘माया भन्ने रोमान्टिक तर असाध्यै कमन भयो भन्ने रियाक्सनपछि हामीले सुनकेशरी नाम राख्यौं,’ ऋचाले भनिन्, ‘सुनकेशरी अर्पणजीले नेपाली कन्टेस्टमै बसेर लेख्नुभएको फिल्म हो ।’

रियल स्टोरीबाट प्रेरित भएर फिल्म बनाउँदा कमर्सियल भ्यालु कम हुन्छ भनिन्छ । कसरी यसलाई कमर्सियल बनाउने भन्ने चुनौती थियो ऋचा र अर्पणमा । तर उनीहरुले यसलाई चुनौतीकै रुपमा लिए । किनकि, उनीहरुलाई हरर नि चाँडो बिक्री हुने प्याट्रनको मुभी शैली हो भन्ने थाहा थियो । अर्पण भन्छन्, ‘हरर पनि कमेडीजस्तै छिटो र धेरै चल्ने शैली हो । यस्तो फिल्म रुचाउने ठूलो जमात छ, एक हिसाबले फरक छ । हाम्रोमा प्राक्टिस छैन, जति इन्टरटेनमेन्ट भ्यालु कमेडी फिल्मले बोक्छ, त्यति नै हरर फिल्मले बोक्छ भन्ने विश्वास छ ।’

ऋचालाई भने यसको व्यापार प्रेजेन्टेसनमा भर पर्छजस्तो लाग्छ । हररले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ । कथा र इभेन्ट्स दुवै हिसाबले । त्यसैले दर्शकले जसरी कमेडी मन पराउनुहुन्छ, सही ढंगले फिल्म प्रेजेन्ट भएको छ भने त्यही लेभलको सन्तुष्टि उहाँहरुले पाउनुहुन्छ,’ सफलताप्रति ऋचाको विश्वास दह्रो छ ।

कस्तो हो त सुनकेशरी क्यारेक्टर ? निर्देशक अर्पण भन्छन्, ‘मेरो कल्पनाको सुनकेशरी त भयानक नै हो ।’ कसरी त ? उनले यसबारे अनौठो कहानी सुनाए । उनी जब काकीको भूतको परिकल्पनामा ‘माया’ कथा लेख्दै थिए, त्यहाँ उनलाई दुइटा भूत क्यारेक्टर चाहिएको थियो । ‘दिमागमै आएको थिएन, भूत कस्तो हुन्छ भन्ने तर भयो के भने कथा लेख्दालेख्दै लिटरल्ली सपनामा मैले दुइटा भूत देखेँ ।’ यसरी उनलाई भूतको परिकल्पना गर्न सपनाले सघाएछ । ‘दुइटा भूत पानीमा नुहाइरहेका थिए, म अगाडि उभिएर हेरिरहेको थिएँ । एउटा कालो थियो, अर्काे सेतो । टाउको छोपेको कपाल बगेर लगभग १५-२० फिट तल पुगेको, अनि हातहरु सानासाना, पञ्जा भने ठूलो, ढाडमा एउटा मात्रै हड्डी । साना खुट्टा तर लामा पाइला । म निकै डराएको थिएँ सपनाबाट ब्युँतँदा ।’ सुनकेशरीका पात्रमा त्यो सपनाको छाप परेको उनले सुनाए ।

फिल्म निर्माण गर्दाको समयतिर फर्किएर आउटपुट हेर्दा सन्तुष्ट छन् अर्पण । फिल्म खिच्दा कति दिन समय मिल्यो, प्रोडक्सनको काम कस्तो भयो, प्रेजेन्टेसन, स्टोरी टेलिङ कस्तो भयो, आउटपुटमा यी सबै पक्षले फरक पार्छन् भन्ने अर्पणलाई राम्ररी थाहा छ । ‘सीमित समय, सीमित इक्युपमेन्ट्स र म्यानपावरले गरेको काम भएकाले म सन्तुष्ट छु,’ उनले भने, ‘यति थोरै दिनमा यति धेरै प्रेसरमा यति काम गर्नु अरुका लागि असम्भव थियो । हामीले गरेको प्रोजेक्ट हेर्दा के फिल हुन्छ भने अचम्मै एउटा सुपर हिरो जन्माको त हैन तर मनोरञ्जनात्मक फिल्म चैँ बन्यो भन्न सकिन्छ ।’

लगानीकर्ता र क्यारेक्टरको रुपमा सुनकेशरीमा ऋचाको भूमिका कस्तो छ त ? उनी क्यारेक्टरको रुपमा भन्दा पनि आफ्नो प्रोड्युसर भूमिकाप्रति नतमस्तक छिन् । उनको प्रोड्युसरका रुपमा यो नयाँ अनुभव त होइन तर ठाउँ नयाँ, कथा नयाँ, परिवेश नयाँ । केही असहज भने भएको थियो उनलाई । ‘नेपालमै त्यो काम गरेको भए मैले आफैंलाई पनि अलि डेडिकेट गर्न सक्थें । कति कुरा आफैले जानेको तर त्यो ठाउँ नै यज ए प्रोड्युसर मेरालागि नयाँ थियो । धेरै कुरा चाहेर पनि गर्न सकिनँ,’ उनले सुनाइन् ।

सुनकेशरीको अधिकांश कथा एउटा घरभित्रै रुमल्लिन्छ रे । त्यही घर खोज्दै निर्माण टिम अष्ट्रेलिया पुग्यो । किन त ? नेपालमै भूतघर बन्न लायक लोकेसन थिएन ? ‘यो निर्णय अर्पण र मेरो सल्लाहमा भएको हो । हामीले रानीमहल, शंकर होटल, कुनै राणाको घर पनि नसोचेका थिएनौं । रानीमहल थियो तर जोग्राफिकल अवस्थाले त्यहाँसम्म पुग्न धेरै गाह्रो छ । अनि रानीमहललाइ भरिभराउ गर्न धेरै खर्च र म्यानपावर लाग्थ्यो,’ उनले तयारी हालतको लोकेसनका लागि प्रोड्युसरहरुकै सल्लाहमा अस्ट्रेलिया गएको सुनाइन् । क्यामलोटस्थित क्यासल जुन सन् १८८८ मा बनेको हो । ‘त्यो घर यसरी ड्रेसअप गरिएको छ कि अलिअलि मात्रै सेटअप गरेर नै काम भयो, फुटाउने कुरा केही थप्यौं, अरु सबै कुरा त्यही घरको,’ उनले भनिन् ।

उनका अनुसार फिल्मले टुर लिन्छ र दर्शकले पनि त्यो घरको सँगसँगै टुर लिने छन् । ‘यस्तो त हामीले देखेको छैन है भन्ने मनमा आएको थियो । नेपाली फिल्म हेर्ने दर्शकले यो देखेको छैन भन्ने सोचेर निर्णय गरेको थिएँ,’ ऋचाले लोकेसन ट्रेस गर्दाको अनुभव सुनाइन् । फिल्ममा माइकल सलिबा र जर्ज सलिबाले स्टन्ट गरेका छन् । उनीहरुसँगको सहकार्य आफ्नालागि सबभन्दा ठूलो उपलब्धि भएको ऋचाको भनाइ छ । क्यारेक्टर नि ? उनले यसमा आफूले नसोचेको परिणाम पाएको बताइन् ।

‘सुनकेशरी आफैमा एकदमै रिजर्भ छ, यज ए क्यारेक्टर, एकदमै डिप्रेस्ड क्यारेक्टर हो, जुन कुरा हामीले धेरै कमलाई भनेका छौं,’ ऋचाले कथाको सार सुनाइन्, ‘ऊ एउटा घरमा पुग्छे र त्यो घरको गतिविधिले उसको लाइफलाई कसरी परिवर्तन गर्छ, कथा त्यसैमा घुमेको छ ।’ कथा पूरै चार क्यारेक्टरबीच घुम्ने उनले सुनाइन् ।

हरर भनेको सायद असत्यभित्रको सत्य अनि सत्यभित्रको असत्य हो । सुनकेशरीभित्रको सत्य के हो जुन असत्यमा आधारित छ ? उनी भन्छिन्, ‘भूत भन्ने कुरा कतिलाई फिक्सनल लाग्छ । म सधैँ भन्छु, इनर्जीमा विश्वास गर्ने मान्छे हुँ म । पोजेटिभ इनर्जीमा विश्वास गर्छु र नेगेटिभ इनर्जी पनि पक्कै छ के ? चाहे त्यो काला जादु, माता, टुनामुना जे होस्, सकारात्मक इनर्जी छ भने नेगेटिभ इनर्जी पनि छ । अरु कहीँ जानुपर्दैन, पशुपति जाँदा पनि कसैलाइ सकारात्मक प्रभाव पर्छ भने कसैलाई नकारात्मक,’ ऋचाको प्रस्टीकरण छ ।

यसबारे अर्पणको सोचाइ पनि फरक छैन । उनका अनुसार सुनकेशरीभित्रको कथा धेरैले अन्धविश्वास नै हो भनेर बुझ्छन् । तर अर्पणको विचारमा प्रकृतिले दिनसँगै रात, उज्यालोसँगै अँध्यारो दिन्छ । ‘डेभिल छ, गड छ भन्ने त पहिलेदेखिकै प्रमाणित हँदै आएको कुरा हो । मैले जति नै भूतलाई मानौँ–नमानौँ, भगवानलाई मानौं–नमानौँ तर अँध्यारोमा एक्लै हँदा मभित्र एउटा इमोसन बग्ने गर्छ जसले मलाई तर्साउँछ,’ उनले सुनाए, ‘त्यसैले यी सबै कुरालाई हामी सत्य भन्न पनि सक्दैनौँ र असत्य पनि भन्न सक्दैनौँ ।’

ऋचा प्राय फरक भूमिका रुचाउँछिन् । सुनकेशरी पनि त्यसको एउटा उदाहरण हो । त्यो परिवेशले हो कि उनको इच्छाले ? भन्छिन्, ‘हो, म फरक भूमिकामै सीमित हुन चाहन्छु । यस्तै भूमिकाले मलाई आत्मसन्तुष्टि दिन्छ । फिल्म चले पनि नचले पनि फरक क्यारेक्टरमा काम गर्दा मलाई मजा आउँछ ।’ उनलाई लाग्छ– हरेक फिल्ममा नयाँ क्यारेक्टर होस् । क्यारेक्टर दोहोरियो भने उनलाई न मजा आउँछ न इनर्जी । ‘रिपिटेसन हुँदा इनर्जी आउँदैन, बिनाइनर्जी गरेको काम राम्रो पनि हुँदैन,’ उनको अनुभव छ ।

सुनकेशरी कमर्सियल फिल्म हो कि होइन त ? कस्तो फिल्मलाई कमर्सियल भन्ने । ऋचा यो प्रश्नमाथि उल्टै प्रतिप्रश्न गर्छिन्, ‘तपाईं नै भनिदिनुस्, कस्तोलाई कमर्सियल भन्ने ? मेरो विचारमा त हलमा लाग्यो, दर्शकले टिकट किन्यो, कमर्सियल भयो ।’ उनको बुझाइमा कमर्सियल सक्सेस र अन्सक्सेस भन्नेचाहिँ दुइटा विधा हुन्छ ।

उनी आफ्नो भूमिकामा आफैं निर्मम समीक्षा गर्न डराउँदिनन् । आफूले गरेको क्यारेक्टरमा सफल भएँ कि विफल भन्ने उनी आफैं छुट्टयाउँछिन् । आफैले गरेको क्यारेक्टरमा आफै हेर्दा मैले त एकदम राम्रो गरेको छु, म त एकदम राम्रो कलाकार हो भन्ने हुन्छ, कहिले हुन्न उनलाई । त्यसैले उनी समीक्षकलाई पनि थ्यांक यु सो मच, सही कुरा लेख्नुभयो, फिल्मको कुरा हैन, मेरो भूमिकाबारे भन्छिन् । ‘किनकि मलाई मेरो र्यान्क थाहा छ ।

रिस्की क्यारेक्टर गर्दा कहिले चिप्लिन्छ, कहिले पास हुन्छ, कहिले फेल हुन्छ भन्ने म मान्छु । धेरैले यो कुरा मान्नुहुन्न । क्यारेक्टर हेरेरै काम गर्ने हो,’ उनले सुनाइन् । यसो भन्दैगर्दा उनलाई चैँ मेलामा नाच्ने इच्छा नभएको होइन । ‘तर मलाई त्यस्तो देख्दै देख्नुहुन्न रहिछ मेकर्सहरुले । जहिले पनि फरक भूमिकामा रोज्नुहुन्छ । मैले गर्न लागेको अघिल्लो फिल्म पनि मिडलाइफ क्राइसिसबारे छ । मेरो कपाल फुलेको देख्न सक्नुहुन्छ त्यसमा । त्यसकै लागि अहिले कपाल पालिरहेकी छु,’ ऋचाले भनिन् ।

ऋचालाई धेरैले बोल्ड र कन्ट्रोभर्सियल क्विन भनेर चिन्छन् । तर उनलाई त्यस्तो लाग्दैन । ‘क्विन अरु नै कोही हुनुहुन्छ, म प्रिन्सेज हो,’ उनले भनिन्, ‘म ओपिनियन ओरियटेन्ड छु । मलाई लोलोपोतो गर्न आउँदैन । मान्छे राख्नुपर्छ, काम आउँछ है भन्ने पनि लाग्दैन । मैले काम पाएको मेरो कर्मले गर्दा हो । क्यापाबिलिटीले गर्दा हो । त्यो कारणले म अलि फरक छु । म आफैं आफ्नो फिल्म राम्रै छ भन्दिनँ । कतिपय फिल्मका बारे मैले फिल्म राम्रो हुन सक्थ्यो किनकि प्राय नेपाली फिल्म स्क्रिप्ट राम्रो हुन्छ, तर प्रस्तुतिमा चैँ चुक्छौं । म अलि बोल्दिन्छु, कसैले बोल्ड भन्नुहुन्छ, कसैले घमण्डी । आफ्नो पर्सनालिटी हेरेर मैले त्यसलाई आत्मसात गरेकी छु ।’

ऋचालाई लाग्छ, उनको मन पापी छैन । कसैको वेलविसर हो भनेर पनि उनी देखिन चाहन्नन् । तर सबैलाई सपोर्ट गर्ने आफ्नो स्वभाव उनलाई एकदम मन पर्छ । ‘उहाँहरुले थाहा पाउनुहुन्न होला या कुनै दिन थाहा पाउनुहुन्छ होला तर म सपोर्ट गरिरहन्छु,’ उनले भनिन् ।

सुनकेशरीमा के छ त जुन अरु फिल्ममा थिएन ? उनले फिल्म क्षेत्रमा एउटा इँटा थपिन्छ कि भनेर नै हरर फिल्म बनाउने हिम्मत गरेको सुनाइन् । ‘हामी कमेडी र ड्रामामा त धेरै अगाडि पुगेका छौ । तर के त्यतिले मात्र पुग्छ त ? पक्कै पनि पुग्दैन । जुनसुकै इन्डस्ट्रीलाई हेर्नुस्, नाइजेरियन, हलिउड, एसियनकै कुरा गर्नुस्, हरेकमा फ्लोरिस गरेपछि मात्रै इन्डस्ट्रीको ट्याग पाएका छन् । आफ्नै फिल्ममा निर्भर भएर उद्योग चलाइरहेका छन् । हाम्रोमा पनि सबै खाले आउनुपर्‍यो । हरर, थ्रिलर सबै आउनुपर्‍यो,’ सुनकेशरी बनाउँदाको राज उनले यसरी खोलिन् ।

नेपाली फिल्ममा कस्तो ट्रेन्ड छ भने एउटा फिल्म चल्यो भने त्यस्तै अरु थुप्रै फिल्म बन्छन् र फ्लप हुन्छन् । उनको विचारमा सुनकेशरी चल्यो भने धेरै हरर फिल्म आउने छन् । ‘किनकि दर्शक त भेट्यौं नि हामीले, हेर्ने त रहेछन् नि भन्ने हुन्छ । आएनन् भने पनि ५-६ वर्षमा अर्कोले या हामीले नि हिम्मत गरेर आउनुपर्छ,’ उनको बोल्ड डिसिजन छ । त्यसबाहेक सुनकेशरी बनाउन राम्रो स्क्रिप्ट र आर्थिक सपोर्टिभ हातहरुले पनि सघाए उनलाई ।

‘मोरल्ली त अन्तर्राष्ट्रिय मार्केटमा हरर फिल्मको क्रेज छ भने नेपालमा पनि ठूलो बिजनेस हुन सक्छ । मल्टिप्लेक्समा मात्रै अनएयर गर्दैछौँ हामी । हुन त सबैतिर रिलिज हुन्छ । जब हलिउडमा अहिले नै २४–२५ हरर फिल्म रिलिज हुन्छन् प्रत्येक वर्ष भने त्यो ट्रेन्ड नेपालमा ल्याएर क्यास इन किन नगर्ने भन्ने सोचेर पनि बनाइयो,’ उनले सुनाइन् ।

त्यसो त सुनकेशरी क्यारेक्टरको एकदमै लोभ थियो उनलाई । फिल्म त बन्ने भयो त आफूलाई के रोल दिइन्छ भन्ने प्रोड्युसर ऋचालाई अत्तोपत्तो थिएन । ‘अर्पणजी यस्तो मान्छे, जहिले पनि, जति मिले पनि सस्पेन्स विल्ड गर्ने । उहाले कैले पनि यो क्यारेक्टर तिमी गर्नु भन्नुभएको थिएन । याज ए क्यारेक्टर मलाई त्यो रोलमा लोभ चै एकदमै थियो ।’

फिल्म बनाउँदा खर्चमा कुनै कञ्जुस्याइँ नगरेको ऋचाको भनाइ छ । डलरमा बनाएको फिल्मले लगानी उठाउला त ? ‘यहाको ८० लैजाँदा त्यहाँको १ रुपैयाँ भएको थियो । लगानी त डलरमा गर्नुपर्ने बाध्यताले एक करोड ५० लाखजति खर्च हुने भयो । १८ दिनको ३४ हजार डलर त घरको भाडा मात्रै तिरेका छौं । मेकअप, हरेक कुरामा कुनै कम्प्रमाइज भएको छैन,’ उनले भनिन्, ‘युथ क्रेज र डिस्कस हेर्दा राम्रै व्यापार होलाजस्तो लाग्छ । यो धेरै ठूलो रकम हो । नेपालमा डिजिटल राइट अझै पनि छैन । नेपाल बाहिर अस्ट्रेलियाबाट इन्ट्रेस्ट देखाउनुभएको छ र सिंगापुरको कम्पनीले पनि इन्ट्रेस्ट देखाउनुभएको छ । किनकि हरर फिल्म हो, युनिभर्सल जाने भयो । बेच्न सजिलो हुन्छ । इंग्लिसमा डब सकियो । अन्तर्राष्ट्रिय कलाकार हुनुहुन्छ । त्यो कुरामा आस छ ।’

बलिउडमा रिलिज गर्न कार्नेब्हल फिल्म्स सिंगापुरसँग कुरा भइरहेको उनले सुनाइन् । ‘सबैजनाले नेपालको बिजनेस के हुन्छ, कुरिराख्नुभएको छ । त्यस्तै डिसहोमसँग कुरा गरेका छौँ । बिजनेसको धेरै फन्डा छ । तर जस्तो जे भए पनि नेपालमा फिल्म चल्यो भन्नुको छुट्टै प्राइड हुँदोरहेछ । चलेन भने पनि मैले गर्न सक्ने सबै गरेकै छु, रिग्रेट चैँ हुँदैन । किनकि फिल्मको भाग्य फिल्मले नै तोक्छ । ऋचा शर्माले तोक्न सक्दैन न कुनै मिडियाले तोक्न सक्छ, न अर्पण थापाले तोक्न सक्छ । दर्शकले खाएपछि चाखेर हामीले निर्माण गरेको फिल्मको बारेमा मिठो–नमिठो भनिदिने हो ।’

दर्शकले हलसम्म पुगेर के त्यस्तो पाउँछन् जुन उनीहरु चाहन्छन् । ऋचाको विचारमा दर्शकले युटुबहरुमा यसको तुलना विदेशी फिल्मसँग गरिरहेकाले उनीहरु पक्कै हलसम्म आउँछन् । उनको आग्रह छ, ‘यो फिल्म त्यस्तो खतरा पनि बनेको छैन, धेरै आश नगरौँ, ठिकै फिल्म बनेको छ । फस्ट हाल्पमा हसाउँछ, सेकन्ड हाफमा हँसाउँदा हँसाउँदै तर्साउन थाल्छ र तर्साउँदा तर्साउँदै फिल्म सकिन्छ ।

अर्पणको अनुभवमा अहिलेसम्म नेपाली फिल्मको इतिहास हेर्दा सबै फिल्म इन्टरटेन गराउन आएका छन् । सुनकेशरीको पनि लक्ष्य त्यही हो । ‘यसमा धेरै कुरा छन्, इमोसन्स, रमाइलो, डर सबै । हाम्रो भाषामा चैँ पानीपुरी खान आउनुस् ।’
हररसँगै कमेडी क्यारेक्टर मिसाइएको उनले बताए । ‘एक पात्र छन् जसलाई बिगतमा हामीले कमेडियनको रुपमा देखेका छौँ, तर सुनकेशरीमा सिधासिधी कमेडी गर्नुभएको छैन तर उहाँभित्रको जुन डर छ, त्यो प्रदर्शन हँसाएर गर्नुभएको छ,’ सुनकेशरीको प्लस प्वाइन्टबारे अर्पणले बुझाए ।

२०७५ जेठ १० गते १०:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *