‘लण्डन रिटर्न्स’ नायिका

डायस्पोरा फिल्म प्रदर्शनका लागि मात्र होइन आफ्ना छोराछोरीलाई नेपाली फिल्मको कलाकार बनाउन पनि उत्सुक देखिन थालेको छ । पछिल्लो समय बेलायतबाट आएर भटाभट फिल्म खेल्न थालेका हिरोइनको संख्याले यही संकेत गर्छ ।

हिरोइनको खोजीमा हुनुहुन्छ ? बेलायत लाग्नुस् । यो कुरा हामीले भनेका होइनौं । पछिल्लो समय नेपाली फिल्ममा डेब्यु गरेका हिरोइनको आँकडाले भन्छ । केही वर्षयता नेपाली फिल्ममा डेब्यु गर्ने हिरोइनको नाम लिनु पर्दा बेलायतमा बसोबास गर्ने युवतीको बाहुल्यता देखिन्छ । दिया पुन, मिरुना मगर, सारा श्रीपाली, शिल्पा मास्के, जसिता गुरुङ बेलायतमा रहँदै नेपाली फिल्ममा डेब्यु गरेका नाम हुन् ।

बेलायतबाट आएर नेपाली फिल्म खेलेर चर्चा कमाउनेमा दिया पुनको नाम अग्रपंक्तिमा आउँछ । बीरबिक्रमबाट नेपाली फिल्ममा डेब्यु गरेकी दियाले खेलेका तीनमध्ये दुई फिल्म हिट मानिन्छन् । उनको अभिनय रहेको पहिलो फिल्म बीरबिक्रमसँगै मिस्टर झोले पनि हिट मानिएको थियो ।

दियाको अभिनय रहेको तेस्रो फिल्म बमकाजीको भने सुटिङ सकिएर पनि रिलिज हुन सकेको छैन । दियाको बारेमा धेरै रमाइलो कुरा के हो भने उनी झट्टै हेर्दा कुनै अविवाहित युवती जस्तै देखिन्छिन् तर उनी दुई छोराकी आमा हुन् ।

बेलायतबाट फर्केर छोटो समयमै व्यस्त हुनेमा शिल्पा मास्के अग्रपंक्तिमा पर्छिन् । उनले अभिनय गरेका एउटा पनि फिल्म प्रदर्शन भएका छैनन् तर उनले चारवटा फिल्म साइन गरिसकेकी छिन् । कागजपत्रबाट डेब्यु गरेकी शिल्पाले त्यसयता ब्रेकअपमा अभिनय गरेकी छिन् भने बाँकी दुई फिल्म पनि उनले खेल्ने सम्झौता गरिसकेकी छिन् । म्युजिक भिडियो, कभर सङहरुमा मोडलिङ गरिसकेकी शिल्पा हलिउड सुपरहिरो फिल्म डाक्टर स्ट्रेन्जमा सानो भूमिकामा देखिएकी थिइन् ।

भर्खरै घोषणा भएको फिल्म रोजीमा अभिनय गर्ने तयारीमा रहेकी मिरुना मगर पनि लन्डन रिटर्न हुन् । लालपुर्जाबाट अभिनय यात्रा थालेकी उनले लाउरेमा पनि अभिनय गरेकी छिन् तर त्यो फिल्म कहिले रिलिज हुने टुंगो छैन । रोजीमा उनको भविष्य निर्भर रहनेछ ।

निखिल उप्रेतिको अपोजिटमा ब्याक टु ब्याक अभिनय गरेकी सारा श्रीपाली पनि लन्डन मै चाटर्ड एकाउन्टेन्टकी विद्यार्थी हुँदाहुँदै अभिनयमा होमिएकी हुन् । रुद्र र पिंजडा ब्याक अगेनमा निखिलसँग रोमान्स गरेकी साराले तेस्रो फिल्मको रुपमा सुश्री सम्पत्तिको सुटिङ भर्खरै सकाएकी छन् । उनलाई पछिल्लो समय लामो समय चल्ने हिरोइनको रुपमा लिने गरिएको छ । ब्यानरका फिल्ममा मौका नपाएकी साराको अभिनय र नृत्यलाई सबैले रुचाएका छन् ।

मिलन चाम्सले बेलायतबाट डेब्यु गराएको दोस्रो अनुहार हो जसिता गुरुङको । मिलन चाम्सले नै दियालाई पनि डेब्यु गराएका थिए । लिलीबिलीले औसत व्यापार गरे पनि फिल्ममा जसिताको काम सबैले रुचाएका थिए । यसमा पनि रमाइलो संयोग के थियो भने जसिताका लागि साराले स्वर दिएकी थिइन् । त्यसका बावजुद उनलाई लिएर फिल्म निर्माण गर्न निर्माताहरु लाइन लागेका छन् । बजारको हल्ला अनुसार जसिता तीनचारवटा फिल्मको स्क्रिप्ट लिएर लन्डन फर्किसकेकी छिन् ।
काठमाडौंपछि डायस्पोरा नेपाली फिल्मका लागि कमाइको भरपर्दो माध्यम बन्दै आएको छ । योसँगै डायस्पोरामा बसेका थुप्रै केटाकेटी नेपाली फिल्ममा अभिनयका लागि इच्छुक देखिन थालेका छन् । बेलायतबाट यो क्षेत्रमा आउने युवतीको संख्या उल्लेख्य देखिए पनि नेपाली फिल्मले अहिलेको चार्म नगुमाए भविष्यमा अरु देशबाट पनि हिरो हिरोइन बन्न युवा युवती नआउलान् भन्न सकिन्न ।