कलाकार छान्दै सलोन र आमेश

‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’  को आयोजना गर्ने भएको छ । यसको  टीममा सलोन बस्नेत र आमेश भण्डारीको साथमा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा-युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

काठमाण्डौ उपत्यकाबाट  असारमा शुरु हुने प्रतियोगिता देशभरका आठ शहरमा हुने छ । प्रतियोगिता दुई चरणमा हुनेछ । दुई चरणमा  हुने कार्यक्रम मा काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले  पछिल्लो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

आठ शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणका विजेताले नेपाली फिल्ममा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागि हुनका लागि ५ फिट ५ इन्च देखी माथीका युवक तथा ५ फिट २ इन्च देखी माथीको युवती हुनु पर्छा जो १६ देखी २४ बर्ष उमेर भित्र परी एसईई परिक्षा पास गरेको नेपाली नागरिक हुनुपर्नेछ ।

काठमाण्डौमा असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Empror <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, आठवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।