अनमोलमाथि उब्जिएका अनमोल प्रश्न

 अभिनय औसत हुँदाहुँदै पनि अनमोल केसीको स्टारडमका पछाडि निश्चित कारणहरू थिए । पहिलो कारण त उनको पहिलो फिल्म ‘होस्टल’ नै थियो । अधवैंशे हिरोहरुले बासी फर्मुलामा दर्शक भडकाइरहेका बेला अनमोल ‘होस्टल’मा आफ्नै जेनेरेसनको कथा लिएर आएका थिए । भुवन केसीको छोरा हुनु यो पछिको एडभान्टेज थियो । किनकि त्यतिबेला भुवन केसी आज जस्तो लाइम लाइटमा थिएनन्, अनगिन्ती केटी कान्डले बदनाम थिए ।

पहिलो फिल्मबाटै हार्डकोर फ्यान बनाएका अनमोलले यसपछि करिअरका लागि भन्दै दुइटा निर्णय लिए । सकभर वर्षमा एउटा मात्र फिल्म खेल्ने अनि जथाभावी बाहिर ननिक्लने । यसका लागि उनले म्युजिक भिडियो मात्र होइन, राम्रै पैसा पाउने विज्ञापन पनि छाड्ने गरेका थिए ।

‘होस्टल’पछि ‘जेरी’ले अनमोलको करिअरमा ईंटा थप्यो । तर त्यसपछिका ‘ड्रिम्स’, ‘गाजलु’ले उनको करिअरलाई खास योगदान गरेनन् भन्दा हुन्छ । यी फिल्म बचे अनमोलको माथि उल्लेखित तिनै बानीले । तर यही फिल्मका बीचमा उनले वाककलामा व्यापाक सुधार गरे । जुन कुरा उनलाई हरेक हप्ता फिल्म नहेरे पनि नेपाली फिल्ममा चासो राख्ने बौद्धिक सर्कललाई रिझाउन पर्याप्त रह्यो ।

यसपछि रिलिज भएको ‘कृ’ अनमोलको सबैभन्दा कमजोर फिल्म थियो । अनमोलले ज्यान बनाउन र कपाल बनाउन दुई दुई वर्ष मेहनत गरेका थिए, तर फिल्म नब्बेको दसकमा बलिउडमा अजय देवगनले खेल्ने कुनै औसत फिल्मभन्दा कमजोर थियो । फलतः यो फिल्म अनमोलको निर्माताको पैसा फिर्ता नगर्ने फिल्मको रुपमा दर्ज भयो ।

यसका बावजुद अनमोेलको स्टारडममा कुनै कमी छैन । अहिले पनि दिनहुँ उनका पिता भुवन केसीको फोनमा उनलाई लिन चाहाने निर्माताका घन्टी बजिरहन्छन् । यही समयमा उनका पिता भुवन केसीको पनि अन्तर्वार्ता आइरहन्छ, ‘अनमोलको प्रतिस्पर्धा भनेको हलिउड-बलिउड फिल्मसँग हो । नेपाली फिल्मसँग हैन ।’

यही खबरका बीचमा अनमोलले ब्याक टु ब्याक दुइटा फिल्म साइन गरेको खबर छ । झरना थापाको निर्देशनमा बन्न लागेको ‘ ए मेरो हजुर ३’ र मिलन चाम्सको निर्देशनमा बन्न लागेको अनाम फिल्म । जबकि उनको होम प्रडक्सनबाट बन्न लागेको फिल्म ‘क्याप्टेन’ भनेको समयमा सुटिङमा जान नसकेर बारम्बार प्रदर्शन मिति सारिरहेको छ ।

अनमोलले एउटा फिल्म रिलिज भएर त्यसको परिणाम आएपछि मात्र अर्को फिल्म साइन गर्ने बताउँदै आएका थिए । तर, बाहिरिएका खबरलाई विश्वास गर्ने हो भने उनले भदौका लागि ‘ए मेरो हजुर ३’ लाई सुटिङ डेट दिएका छन् जबकि उनको फिल्म ‘क्याप्टेन’ भदौमा कसैगरी पनि रिलिज हुने छैन ।

‘ए मेरो हजुर ’सँग जोडिएको अर्को रोचक कुरा पनि के छ भने हङकङमा भएको एउटा अवार्डको मञ्चबाट नै अनमोलले ‘ए मेरो हजुर २’ खेल्ने घोषणा भएको थियो । तर पछि अनमोलले फिल्म खेल्न मानेका थिएनन् कारण थियो यसको नाम । अनमोलले अरुले खेलेका फिल्मको नामबाट बन्ने कुनै पनि फिल्म नखेल्ने घोषणा गरेका थिए । अर्थात अरुले खेलेका फिल्मको सिक्वेल नखेल्ने । यही कारण देखाउँदै उनले ‘दर्पणछायाँ २’ फिल्म पनि रिजेक्ट गरिदिएका थिए ।

अनमोलमाथि अहिले तत्काल उब्जिएको प्रश्न यही हो..आफ्नै बोलीमा अडिग नरहन अनमोललाई केले बाध्य बनायो ?

अनमोलले मिलन चाम्सको निर्देशनमा बन्न लागेको अर्को फिल्मका लागि पनि समय दिइसकेका छन् । चाम्सले अनमोललाई ‘लिलीबिली’ पनि अफर गरेका थिए । तर त्यतिबेला अनमोलले चाम्सलाई लामो समय झुलाएर फिल्म नखेल्ने भन्दै खाली हात फर्काएका थिए । श्रोतका अनुसार अनमोललाई कथामा भन्दा पनि उसबेला मिलन चाम्सको निर्देशनमा भरोसा थिएन । फिल्म नगरेको विषयमा सोध्दा उनले घुमाएर यस्तै आसय व्यक्त गरेका थिए । तर अहिले उनलाई त्यो भरोसा कहाँबाट आयो ?

उनका पिता भुवन केसीमाथि उद्योगको आरोप छ, उनले छोरालाई पैसामुखी बनाए । यो आरोपमा सत्यता छ । अनमोलको भाउ बढेको देखेपछि नै हो दयाहाङ राई, सौगात मल्ल जस्ता अभिनेताले पनि ५ लाखबाट भाउ बढाएर १५ लाख पुर्याएको । उनकै सिको गर्दै प्रदिप खड्का र पल शाहले पनि २० लाख हाराहारी डिमान्ड गर्छन् ।

तर, यसरी हिरोलाई पैसा खर्च गर्ने निर्माताहरू दोहोर्याएर फिल्म बनाउन आउन सकिरहेका छैनन् । पैसाका लागि फिल्म खेल्दिन भन्ने अनमोलले महंगो मूल्य लिँदै फिल्म साइन गरेकोे जवाफ पनि दर्शकलाई दिनुपर्छ । तर योसँगै जोडिएको अर्को सत्य पनि अनमोलले बिर्सनु हुन्न । हिजो राजेश हमालसँग पनि फिल्म खेल्नै पर्ने आफ्नै तर्कहरु थिए । यही तर्कको सहारामा उनले बग्रेल्ती फिल्म साइन गरे । तर आज अन्तर्वार्तामा उनलाई आफ्नै उत्कृष्ट ५ फिल्मको नाम लिन सकस भएको हामीले देखेका छौं ।

एउटा फिल्मबाट करोडै लिए पनि भोलि अनमोलको अगाडि तरबार झैं लट्किने प्रश्न यही हो । किनकि उनले अहिलेसम्म जुन फिल्म खेलेका छन् भोलि उनलाई पनि तिनको नाम लिन उस्तै सकस पर्नेछ ।

भुवन केसीले गतिला फिल्म नखेलेकै आधारमा राजेश हमालको महानायक पदवीमाथि निरन्तर धावा बोल्दै आएका छन् । भोलि छोराका बारेमा अरुले यसैगरी धावा बोल्न सक्छन्, आशा गरौं पिता केसी र पुत्र केसी दुवैले यो प्रश्नको उत्तर दिन नपरोस् । अनमोलका फिल्मले दिउन् ।