वाग्ले समूहबाटै बाहिरिएको नक्कली नोट फर्पिङमा पनि भेटियो

केही दिन अगाडी काठमाडौंबाट प्रहरिले ठुलो मात्रामा नक्कली नोट बरामद गरेको थियो । नक्कली नोट सहित फिल्म निर्माता माधब वाग्ले सहित ६ जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ समेत गरेको थियो । बरामद गरेको नोट बाहेक पनि अन्य नोट बजारमा गएको भन्ने प्रहरिको आशङ्काकाको आधारमा अनुसन्धान अगाडी बढाएको प्रहरीले शुक्रवार फर्पिङबाट हजार रुपैयाँको २ थान नक्कली नोट बरामद गरेको छ ।

नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वाराज पोखरेलले जानकारी दिएका छन । उनले भने, ‘वाग्लेलेको समूहले नै छापेको नोट फर्पिङबाट बरामद भएको हो ।’२ थान नक्कली नोटसहित पक्राउ परेका युवकले आफ्नो बयानमा वाग्ले समूहकै केटाहारुबाट नोट लिएको बताएका हुन् ।

निर्माता वाग्लेले भने आफ्नो बयानमा केटाहरूले फसाए भनेका छन् । ‘मैले फिल्मको लागि मात्र नोट छपाएको हुँ । फिल्मको लागि छपाएको नोट बजारमा लगेर केटाहरूले मलाई फँसाए।’ उनको बयानमा उल्लेख छ । हाल वाग्ले सहित पक्राउ परेका अन्यलाई अदालतमा खोट चलनमा म्याद थप गरी महानगरीय बृत महाजगञ्जमा राखिएको छ ।

प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अदालतमा दोषी प्रमाणित भए ऐन अनुसार बिगो बमोजिमको जरिवानासहित उनीहरुलाई बढीमा १० वर्ष जेल सजाय हुनसक्छ ।