बर्षको अन्त्यमा प्रदिपको ‘लभ स्टेसन’, हिरोइन फाइनल हुन बाँकी

नायक प्रदिप खड्का र निर्माता तथा बितरक गोबिन्द शाहीको संयुक्त लगानी तथा उज्जवल घिमिरेको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लभ स्टेशन’को टाइटल, निर्देशक र नायकमात्र फाइनल भएको निर्माता द्वयले बताएका छन् । फिल्ममा नायिका जसिता गुरुङ फाइनल भएको भनेर केहि दिन यता सार्बजनिक भएका समाचारहरुको खण्डन गरेका छन् ।

नायक/निर्माता प्रदिप खड्काले भने,’फिल्मको टाइटल, निर्देशक र म मात्र फाइनल हौँ, हिरोइन अहिलेसम्म कोही फाइनल भएको छैन । कुरा भने केहि हिरोइनसँग गरेका हौँ । फिल्ममा तिन नायिका हुनेछन । दुई जना इन्डस्ट्री कै भने एक नयाँ जसलाई हामी अडिसनबाट छान्ने छौँ ।’

निर्माता गोबिन्द शाहीले भने,’अहिलेसम्म हाम्रो फिल्मको स्क्रिप्ट नै फाइनल भएको छैन वान लाइनर मात्र लक गरेका छौँ । हिरोइन कोहिसँग पनि भेटेका छैनौँ । स्क्रिप्ट नै सुनाको छैन कसैलाई कसरी हिरोइन फाइनल भनेर समाचार बाहिरियो म अचम्ममा परेको छु’ ।

उनले भने,’फिल्म लिली बिलीले केही दिनमा प्रदर्शनको ५१औँ दिन मनाउँदै छ । त्यस अवसरमा एक कार्यक्रमको आयोजना गर्ने र सोही कार्यक्रममा ‘लभ स्टेसन’को अनाउन्स गर्ने हाम्रो प्लानिंङ हो’। निर्देशक उज्जवल घिमिरे यतिबेला लोकेसन हन्टिङका लागि अमेरिकामा हुनुहुन्छ उहाँ नेपाल फर्किएपछी बल्ल हिरोइनको टुङ्गो लाग्नेछ’, शाहीले भने ।

शाहीका अनुसार दशैँदेखी फ्लोरमा जाने फिल्म नेपालमा काठमाडौं, ईलाम, पोखरा लगायतको ठाउँँसँगै अमेरिकामा समेत छायाङ्कन हुने छ । पछिल्लो समय फिल्म रोजीमा ब्यस्त नायक प्रदिप खड्काले उक्त फिल्मको छायाङ्कन सकिए लगतै लभ स्टेसनलाई समय दिनेछन् ।

फिल्मका लागि साम्राज्ञी र जसिता बाहेक अरुसँग कुरा नगरेकाले उनीहरुनै फिल्ममा अनुबन्ध हुने सम्भावना भने प्रवल छ ।

काफिया फिल्मस् र प्रदिप मिडिया प्रालिको व्यानरमा निर्माण हुने फिल्म बर्षको अन्त्यतिर प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।